आक्रमणपछि राष्ट्रपति ट्रम्पको पहिलो प्रतिक्रिया : “राजनीति एक खतरनाक पेसा हो”
वासिङ्टन डीसी – अमेरिकाको राजधानी वासिङ्टन डीसीमा आयोजित ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसन’ (पत्रकारहरु संगठन ) को वार्षिक रात्रभोजमा शनिबार राति गोली चल्दा ठूलो हलचल मच्चिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प सहभागी उक्त कार्यक्रममा गोली चल्न थालेपछि सुरक्षा निकायले उनिहरूलाई तुरुन्तै सुरक्षित स्थानमा पुर्याएको थियो।
शनिबार राति करिब ८:३० बजे, कार्यक्रम चलिरहेका बेला अचानक गोलीको आवाज सुनियो। राष्ट्रपति ट्रम्पका अनुसार सुरुमा उनलाई कुनै ‘ट्रे’ अर्थात् किस्ती खसेको जस्तो लागेको थियो। “तर त्यो त बन्दुकको आवाज पो रहेछ,” उन ले पत्रकारहरूसँग भने । ट्रम्पले आफ्नी पत्नी मेलानियाले घटनालाई निकै छिटो बुझेको र सुरक्षाकर्मीहरूले आफूहरूलाई बिजुलीको गतिमा त्यहाँबाट बाहिर निकालेको बताए ।

पक्राउ परेका आक्रमणकारी ३१ वर्षीय कोल एलेन हुन्, जो क्यालिफोर्नियाका बासिन्दा हुन्। अनुसन्धानका अनुसार उनले ह्वाइट हाउसका उच्च अधिकारीहरूलाई निशाना बनाउन खोजेका थिए।
उनीसँग एउटा छर्रावाला बन्दुक र एउटा अर्को बन्दुक फेला परेको छ। राष्ट्रपति ट्रम्पले आक्रमणकारीलाई ‘अपराधी’ को संज्ञा दिँदै उसले अमेरिकी संविधानमाथि नै प्रहार गरेको टिप्पणी गरे ।
यस घटनामा एकजना गुप्तचर सेवा सुरक्षा सुरक्षाकर्मीलाई निकै नजिकबाट गोली लागेको थियो। तर, उनले लगाएको उच्च गुणस्तरको ‘बुलेटप्रुफ भेस्ट’ गोली नछिर्ने वस्त्रले गर्दा उनको ज्यान जोगिएको छ। ट्रम्पले ती घाइते सुरक्षाकर्मीसँग कुरा गरेको र उनको अवस्था सामान्य रहेको जानकारी दिए । उनले सुरक्षा निकायको तत्कालको सक्रियतालाई ‘प्रशंसनीय’ भनेका छन् ।
जब पत्रकारहरूले ट्रम्पलाई उनको जीवनमाथि भइरहेका पटक-पटकका खतराहरूबारे सोधे, उनले बडो शान्त भएर जवाफ दिए , “यो एक खतरनाक पेसा हो।” सन् २०२४ मा पेन्सिलभेनियामा भएको गोलीकाण्डपछि यो अर्को ठूलो आक्रमणको प्रयास थियो। ट्रम्पले भने, “यस्तो घटना हुनु सधैं स्तब्धकारी हुन्छ, तर यो हाम्रो कामको एउटा हिस्सा जस्तै बनेको छ।”
यद्यपि, यो दुखद घटनामा ट्रम्पले एउटा सकारात्मक पक्ष पनि देखे । राष्ट्रपतिका अनुसार अनुसार, गोली चलेपछि सभाकक्षभित्र रहेका रिपब्लिकन, डेमोक्र्याट, पत्रकार र अन्य सबै मानिसहरू एकसाथ मिलेर सुरक्षित हुन खोजेका थिए। उनले भने , “त्यहाँ एउटा अभूतपूर्व एकता र माया देखियो। सबै विचारधाराका मानिसहरू एकै ठाउँमा उभिएको देख्नु निकै सुन्दर थियो।”
सुरक्षा संवेदनशीलताका कारण स्थगित गरिएको यो कार्यक्रम आगामी ३० दिनभित्र फेरि आयोजना गरिनेछ। राष्ट्रपतिले कार्यक्रम जारी राख्न चाहे पनि सुरक्षा निकायको सल्लाहमा यसलाई रोकिएको थियो। अहिले क्यालिफोर्निया र वासिङ्टनमा यस घटनाबारे थप अनुसन्धान भइरहेको छ र दोषीमाथि छिट्टै कडा कानुनी कारबाही गरिनेछ।


WRITE COMMENTS FOR THIS ARTICLE