आजदेखि माैसममा सुधार भए पनि शुक्रबार पानी पर्ने सम्भावना
काठमाडाैं,- सुदूरपश्चिम क्षेत्रबाट शुरू भएको मौसम बदलीले देशका धेरैजसो स्थानमा प्रभाव पारेको छ । पश्चिम न्यूनचापीय प्रणालीका कारण मंगलबार बिहानदेखि रातिसम्म देशका विभिन्न भागमा वर्षा भएको हो । काठमाडौं उपत्यकामा पनि गएराति यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपात भएको छ । वर्षा र हिमपातसँगै चिसो थप बढेको छ ।
आजदेखि भने मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार हाल कर्णाली, गण्डकी र बागमती प्रदेशमा बदली भई बादल लागेको छ । लुम्बिनीमा आंशिक बदली छ । तर, तत्काल पानी पर्ने सम्भावना भने छैन ।
बिहीबारसम्म मौसम खुल्ने र शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।
शुक्रबारदेखि अर्को पश्चिमी वायुको प्रभाव शुरू हुने मौसमविद् बताउँछन् । जसका कारण पश्चिम नेपालमा ‘राम्रै वर्षाको सम्भावना’ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताए ।
‘शुक्रबार बेलुका फेरि अर्को पश्चिमी वायुको प्रभाव शुरू हुने र पश्चिम नेपालमा राम्रै वर्षा हुने देखिन्छ । शनिबार काठमाडौंलगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा काठमाडौंमा पनि हल्का वर्षाको राम्रो सम्भावना छ, उनले भने ।
WRITE COMMENTS FOR THIS ARTICLE