बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रास्वपामा लामिछाने पक्राउ बारे आन्दोलन गर्ने/नगर्ने विषयमा विवाद चर्कियाे

काठमाण्डाैं,–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा आन्दोलन गर्ने/नगर्ने विषयमा विवाद भएको छ । मंगलबार पार्टी कार्यालय चःमतिमा बसेको आकस्मिक केन्द्रीय समिति बैठकमा अब पक्राउको विरोधमा आन्दोलन गर्ने कि नगर्ने भन्नेबारे विवाद भएको हो ।

बैठकमा उपसभापति अर्यालले सभापति लामिछाने पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन चर्काउनु पर्ने भन्दै त्यसको प्रारुपबारे छलफल गर्ने एजेण्डा राखेका थिए ।

आन्दोलनको प्रारुप कस्तो बनाउने भन्दा पनि अब आन्दोलन गर्ने कि नगर्ने भन्नेबारे छलफल गर्नु पर्ने आवाज चर्को रूपमा उठेपछि उपसभापति अर्यालले बैठक स्थगित गरेर हतार हतारमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति लामिछानेलाई भेट्न भन्दै पोखरा हिडेका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

आन्दोलन गर्ने विषयमै मत बाझिएपछि एकीकृत धारणा बनाउन भन्दै बैठक पुनः आज दिउँसो ३ बजेलाई बोलाइएको छ ।

मंगलबारको बैठकमा प्रतिनिधि सभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य अशिम शाहले पक्राउको विरोधमा आन्दोलन गर्नु कति औचित्यपूर्ण हुन्छ भन्दै प्रश्न गरेका बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । पार्टीले न्यायालयलाई प्रभावित पार्दैनौ भन्ने तर सभापति लामिछानेलाई अदालतमा म्याद थप गर्न लैजाने दिन आन्दोलन गर्ने, यसले आमनागरिकमा कस्तो सन्देश जान्छ भन्दै प्रश्न गरेका थिए ।

त्यसपछि उपसभापति अर्यालले आन्दोलन गर्नै पर्ने त्यसको प्रारुप बनाउन मात्रै बैठक बोलाइएको बताएका थिए । त्यसपछि आन्दोलनको पक्षमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष दीपक बोहोरा सहमहामन्त्री विपीनकुमार आचार्य, केन्द्रीय सदस्य सोबिता गौतमसहितका थोरै मात्र नेताहरू देखिएपछि अर्यालले बैठक स्थगित गरेर यसबारे जानकारी दिन र म्याण्डेट ल्याउन भन्दै सभापति लामिछानेलाई भेट्न पोखरा हिडेका बताइन्छ ।

अर्का उपसभापति डा. स्वर्णिम वाग्ले अनुपस्थित बैठकमा केही पदाधिकारीसमेत आन्दोलनको विपक्षमा देखिएको बैठक स्रोतले जानकारी दियो ।

आन्दोलनबारे सोच्नुपर्ने पक्षमा केही पदाधिकारीसहितका बहुमत सदस्य देखिएपछि अर्याल अचम्म परेका बैठक स्रोतले जानकारी दियो ।

पार्टी कार्यालय चःमतिबाट २ कात्तिकमा सभापति लामिछाने पक्राउ परेको भोलिपल्टबाट आन्दोलन गरिरहेको रास्वपामा अब आन्दोलन गर्ने कि नगर्ने भन्नेबारे विवाद देखिएको हो । रास्वपाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरे पनि त्यसको प्रारुप बनाउन भन्दै आकस्मिक बोलाइएको बैठकमा विवाद भएको हो ।

सहकारीको बचत ठगी र संगठित अपराधको अभियोगमा लामिछानेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

विभिन्न सहकारीमार्फत गोरखा मिडियामा आएको रकमबारे संसदीय छानबिन विशेष समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित सञ्चालक समितिका सदस्य छबिलाल जोशी र कुमार रम्तेललाई पनि पक्राउ गरी अनुसन्धान गर्न सुझाव दिएको थियो। त्यही सुझाव कार्यान्वयनका क्रममा लामिछानेलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x