शनिबार, कार्तिक ८, २०८२
Saturday, October 25, 2025

संसद् पुनःस्थापना गर्न सर्वोच्च जाँदै कांग्रेस–एमाले, माओवादी भने चुनाव केन्द्रित

काठमाडौं– जेन्जी आन्दोलनपछि केपी शर्मा ओलीको सत्ता पतन भई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेको एक महिना पूरा भएको छ ।

सरकारले फागुन २१ गते आमनिर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले पनि कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रधानमन्त्री कार्कीले मंगलबार आयोगका पदाधिकारीसँगको छलफलमा तोकिएको मितिमा चुनाव सम्पन्न गर्न आवश्यक वातावरण बनाउन आग्रह गरिन् । उनले मतपेटिका सुरक्षा, सुरक्षाकर्मी परिचालन र बजेट व्यवस्थापनमा कुनै कमी नहुने प्रतिबद्धता जनाइन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र व्यवस्थाको संरक्षणका लागि ‘फ्रेस म्यान्डेट’ आवश्यक भएको बताउँदै दलहरूलाई चुनावमा सहभागी हुन सुझाइसकेका छन् । निर्धारित मितिमा चुनाव भए दलहरूसँग तयारीका लागि पाँच महिना मात्रै बाँकी छ ।

माओवादी केन्द्रले भने चुनावी तयारी सुरु गरिसकेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दल सहभागी हुने वातावरणमा तोकिएको मितिमै चुनाव हुनुपर्ने बताए । तर, दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) अहिलेसम्म चुनावको तयारीमा देखिएका छैनन् । उनीहरू प्रतिनिधिसभा पुनःस्थापना प्राथमिकता मान्दै अदालत जाने तयारीमा छन् ।

एमालेका राजेन्द्र गौतमले कांग्रेससँग संवैधानिक पुनरावलोकनका विषयमा छलफल भइरहेको बताए । असोज २४ गते सचिवालय र २७–२९ गते केन्द्रीय कमिटी बैठकपछि मात्र अदालत जाने निर्णय हुने उनले जनाए । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार चुनावी वातावरण बनेको छैन । सुरक्षा चुनौती र संवैधानिक अन्योल समाधान नगरी चुनाव सम्भव नहुने उनको भनाइ छ ।

त्यस्तै, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि हालको सरकारले चुनाव गराउन नसक्ने दाबी गरे । दुवै दलभित्र आन्तरिक असन्तुष्टि र नेतृत्व परिवर्तनको दबाबका कारण पनि उनीहरू चुनावी मनस्थितिमा छैनन् ।

जेन्जी आन्दोलनपछि दलहरूभित्र नयाँ अनुहारको खोजी र टिकट वितरणमा गुटबन्दीले उनीहरू अन्योलमा परेका छन् । यी दुवै दलका नेताहरूले पटकपटक राष्ट्रपति पौडेलसँग भेट गरी चुनावबारे छलफल गरिसकेका छन् ।

जसमा राष्ट्रपति पौडेलले दलहरूलाई चुनावमा जान पुनः आह्वान गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x