निजामती अस्पतालमा लिनायक सेवा प्रारम्भ, क्यान्सरका बिरामीलाई राहत हुने
काठमाडौं : निजामती अस्पतालले क्यान्सर उपचारमा प्रयोग हुने अत्याधुनिक रेडियोथेरापी लिनायक (LINAC) मेसिन सञ्चालनमा ल्याएको छ। मुख्यसचिव एकनारायण अर्यालले आइतबार एक कार्यक्रमका बीच उक्त सेवाको उद्घाटन गरेका हुन्।
मुख्य सचिव अर्यालले अत्यावश्यक सेवामा विभिन्न बहाना बनाएर सेवा अवरुद्ध नपार्न निर्देशन समेत दिए। उनले भने,’विभिन्न बहाना बनाएर सेवा अवरुद्ध गर्न पाइँदैन। यो अस्पताललाई उत्कृष्ठ अस्पताल बनाउनुपर्छ। अरुले सिक्नेगरी अस्तालको विकास गर्नुपर्छ।’
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.विधान निधि पौडेलले रेडियोथेरापी मेसिनबाट क्यान्सरका बिरामीलाई लाभ पुग्ने बताए। उनले पाँच वर्षदेखिको पर्यासपछि मेसिन जोड्न सफल भएको बताए। उनले क्यान्सरका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको बताउँदै थप मेसिन आवश्यक रहेको बताए।
केही समयअघि आइसकेको मेसिन जडान तथा प्रमाणीकरण प्रक्रियामा ढिलाइ हुँदा समयमै सेवा दिन नसकेको बताए। मेसिन जडान भएकाले क्यान्सरका बिरामीलाई विदेश जानुपर्ने वाध्यता केही हदसम्म रोकिने उनले बताए।
यो मेसिनले बिरामीलाई जहाँ क्यान्सर लागेको विकीकरण दिनुपर्ने हो त्यहीँ ठाउँमा रेडियोथेरापीमार्फत् विकिरण दिनेगर्छ। निजामति अस्पतालले मुटु तथा फोक्सोको ट्रान्सप्लान्टको प्रारम्भिक काम सुरू गरेको अस्पताल प्रशासनले जनाएको छ।
WRITE COMMENTS FOR THIS ARTICLE