शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

समयानूकूल ऐन बनाउने कुरामा विशेष ध्यान दिइरहेको छु–उपप्रधान एवं शहरी विकास मन्त्री सिंह

काठमाडौँ- उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरी विकासका लागि आवश्यक ऐन बनाउने कुरामा आफुले नेतृत्व सम्हालेपछि विशेष जोड दिइरहेको बताएका छन् । नेकपा एमाले शहरी विकास विभागको ९ बुँदे ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

समय बदलिएपनि अझै पुरानै ऐनहरू नै कायम रहेको भन्दै त्यसले अब काम नगर्ने भन्दै समयानूकूल ऐन बनाउने कुरामा आफ्नो जोड रहेको बताए ।

‘समय बदलिएको छ । पुरानै जमानाको ऐनले काम दिँदैन । म आइसकेपछि विकास निर्माणको कामलाई गति दिन आवश्यक ऐन बनाउने कुरामा जोड दिइरहेको छु’ उनले भने,‘ऐन बनाउनका लागि काम भएपनि कार्यान्वयनमा जान सकिरहेको छैन । ऐन बनाउनका लागि मन्त्रिपरिषद् र संसदमा लैजाने कुरामा विशेष ध्यान दिइरहेको छु ।’

उनले  शहरी विकास ऐन ल्याउने गरि मन्त्रालयले तयारी गरिररहेको पनि जानकारी गराए ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले गाउँमा पूर्वाधारको विकास भएपनि मानिसहरू शहरमै आउन चाहिरहेको भन्दै सो क्रमलाई रोक्नका लागि मन्त्रालयले काम गरिरहेको बताए । गाउँमा शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार गर्दै कृषि उत्पादनको राम्रो बजारीकरणको प्रबन्ध गर्न सकिए गाउँमै मानिसहरूलाई रोक्न सकिनेमा उहाँको जोड थियो ।

अहिले कांग्रेस र एमालेको संयुक्त सरकार रहेको भन्दै शहरी विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए । एमाले शहरी वकास विभागले दिएको सुझावलाई अध्ययन गरेर गर्न सक्ने काम गर्ने उनले प्रतिवद्धता पनि जनाए ।

एमाले शहरी विकास विभागका प्रमुख शेरबहादुर तामाङले सर्वोच्च अदालतको परमादेशले ६ लाख नागरिक विस्थापित गर्ने अवस्था आएको भन्दै प्रकृतिको सन्तुलनलाई ख्याल गरि नागरिकलाई विस्थापन नगरि नै मापदण्ड निर्धारण गरी पुनरावलोकनका लागि कानुनी प्रबन्ध गर्न ध्यानाकर्षण गराए ।

एमाले शहरी विकास विभागले बुझाएको ९ बुँदे ज्ञापनपत्रमा शहरी विकास नीति २०८०, एकीकृत शहरी विकास ऐन, काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, फोहोरमैला व्यवस्थापन ऐन,परिमार्जन गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै सर्वोच्च अदालतको काठमाडौँ उपत्यकाभित्रका नदि किनारमा  २० मिटरको मापदण्डका सन्दर्भमा भएको परमादेशको पुनरावलोकनका लागि कानुनी प्रबन्ध गर्न ध्यानाकर्षण गराइएको छ ।

सर्वोच्चको सो परमादेशबारे अध्ययन गर्न शहरी विकास मन्त्रालयका सहसचिव पदम मैनालीको संयोजकत्वमा बनेको कार्यदलले मंगलबार प्रतिवेदन  बुझाउँदैछ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x