पार्टीभित्र राजनीतिक घेराबन्दीमा एमाले अध्यक्ष ओली
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला चरम राजनीतिक घेराबन्दीमा परेका छन् । करीब ३० वर्षदेखि ओलीसँगै रहेका उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायतका नेताहरु पार्टी पुनर्गठन गर्न अध्यक्ष ओलीले राजीनामा दिनु पर्ने भनेर लविङ गरिरहेका छन् । पार्टीका सबै तहका कमिटिमा समेत अध्यक्ष ओलीको बहिर्गमनको आवाज उठिरहेको छ ।
पार्टीको सत्ता नछाड्ने मनस्थितिमा रहेको ओलीका लागि निर्वाचन समीक्षा र पार्टी पुनर्गठन प्रतिवेदन काउछो बनेर आएको छ । फागुन २१ को चुनावमा शर्मनाक पराजय व्यहोरेपछि एमालेले जेठ १० गते वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल बनाएको थियो।
कार्यदलले देशका विभिन्न प्रदेशसहित १३ स्थानमा भेला राख्यो। त्यहाँबाट प्राप्त भएका सुझावहरू ९५ पृष्ठभन्दा बढी छन्। सोही सुझावहरू समेटेर प्रतिवेदन तयार पार्न संयोजक बादलले महासचिव एवं सदस्यसचिव शंकर पोखरेललाई लगाए। पोखरेलले संकलित सुझाव समेटेर अध्यक्ष ओलीले पराजयको जिम्मेवारी लिँदै मार्गप्रशस्त गर्नुपर्ने, पार्टीका सबै कमिटी पुनर्गठन गर्नुपर्ने लगायत ६५ पृष्ठको प्रतिवेदन तयार गरेर बादल र अध्यक्ष ओलीलाई दिएका थिए।
प्रतिवेदनको सो मसौदा ओलीले ठाडै अस्वीकार गरे। त्यसपछि बादललाई अर्कै प्रतिवेदन लेख्न निर्देशन दिए। कार्यदलका सदस्यसचिव पोखरेलको मसौदा प्रतिवेदन खण्डन गर्दै बादलले २५ बुँदा रहेको ३९ पृष्ठको अर्को प्रतिवेदन तयार गरे। जसमा ओलीले मार्गप्रशस्त गर्नुपर्ने, उमेर र दुई कार्यकालको हद कायम गर्ने लगायत पोखरेलको मसौदामा उल्लिखित विषय हटाइएको थियो।
शुक्रबार बसेको कार्यदल बैठकमा यी दुवै प्रतिवेदन पेस भए। तर, सदस्यबीच साझा धारणा बन्न सकेन। कार्यदलका सदस्यहरूले कुनै एउटालाई स्वीकार गरेर अर्को अस्वीकार गर्नेभन्दा दुवैमा रहेका विषय समेटेर एउटै प्रतिवेदन बनाउन आवासीय रूपमा बस्न सुझाव दिए।
शनिबार साँझ कार्यदलका सदस्यहरू काभ्रेको बल्थली पुगे। आइतबार र सोमबार छलफल गरे। तर, त्यहाँ पनि कार्यदलमा सहमति जुट्न सकेन। दुई नेताबाट दुईथरी प्रतिवेदन पेस भएपछि त्यसमा सहमति खोज्ने जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई दिइएको छ । यससँगै तीन नेताले ओली हट्नुपर्ने पार्टीपंक्तिको मागलाई कसरी सम्बोधन गर्छन् भन्ने चासो एमालेमा उत्पन्न भएको छ।
प्रतिवेदन सम्पादनको जिम्मेवारी पाएका उपाध्यक्ष पौडेल र महासचिव पोखरेल अध्यक्ष ओलीले पद छोड्नुपर्छ भन्दै आएका नेता हुन्। केही महिनाअघि दुवैले ओली हटाउने विभिन्न उपाय खोजी गरेका थिए। यसकारण पनि पोखरेलको मसौदामै आधारित भएर नयाँ प्रतिवेदन लेखिने सम्भावना ज्यादा रहेको कार्यदलका एक सदस्य बताउँछन्।
कार्यदलको बैठकमा अध्यक्ष ओलीले पद छाड्नुपर्ने पक्षमा बहुमत सदस्य उभिएको थिए । कार्यदलका एक सदस्यका अनुसार ‘अध्यक्षले छोड्नुपर्छ भन्नेमा बहुमत कार्यदल सदस्य उभिए। तर, छोड्दिनँ भनेपछि छोडाउने उपाय छैन, विधि छैन,’ उनले भने, ‘अध्यक्षले छोड्नुपर्छ भन्ने विष्णु कमरेड र शंकर कमरेड नै यसमा रहनुभएकोले प्रतिवेदन त्यही अनुसार आउन पनि सक्छ, उनले भने ।’
उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पनि शंकर पोखरेलले ल्याएको कार्यदलकै प्रतिवेदन भएकाले त्यसमा रहेका धेरै कुरा फेरबदल नहुने बताउँछन्। ‘सिनियर नेताहरू नै राखिएको छ। एमालेलाई नयाँ ढंगले अघि बढाउने किसिमको प्रतिवेदन आउँछ,’ उनले भने।
यता ओली निकट एमाले सचिव महेश बस्नेत बादलको राजनीतिक कुरा र पोखरेलको संगठनात्मक र सैद्धान्तिक वैचारिक कुरा ठीक भएकोले दुवैलाई समेटिने बताउँछन्। ‘आम सहभागीबीच दुई दिनको छलफलको सार के रह्यो भने यो जटिल परिस्थितिमा पार्टी नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने कसैको भावना होइन,’ उनले भने, ‘नेतृत्व हस्तान्तरण वैधानिक रूपले र अध्यक्षज्यूको सहमतिबाहेक अरु कुनै हिसाबले पनि हुँदैन।’
यद्यपि, वैचारिक र संगठनात्मक कुरामा पोखरेलकै प्रतिवेदनमा धेरैले सहमति जनाएको उनले स्वीकार गरे। तल्ला तहबाट विशेष महाधिवेशन, विधान अधिवेशन, दुई वर्षे कार्यकाल र सत्तरी वर्षे उमेर हद कायम राख्न सुझाव आएको उनको भनाइ छ।


WRITE COMMENTS FOR THIS ARTICLE