मङ्लबार, भदौ ३०, २०८३
Tuesday, September 15, 2026

नेपाली कांग्रेस १५ औँ महाधिवेशनमा होमियो, संस्थापन इतर छाड्ने बढ्दै

काठमाडौं – नेपाली कांग्रेस १५ औँ महाधिवेशनको चटारोमा छ । नेताहरू केन्द्रमा भन्दा स्थानीय तहमा पुगेर आफ्नो संगठन बलियो पार्न लागिरहेका छन् । एकातिर गगनकुमार थापा नेतृत्वको पार्टीपंक्ति महाधिवेशनमा होमिइरहँदा कांग्रेसभित्र समानान्तर अधिवेशनको अभ्यास गर्न खोजेको पूर्वसभापति शेरबहादुर देउवा पक्ष  भने आफ्नै पार्टी पंक्ति र सञ्चारमाध्यमलाई भ्रममा पार्न खोज्दा नराम्ररी चुकेको छ ।

देउवा समूहले आफूखुशी खटाएका भनिएका केन्द्रीय प्रतिनिधिहरूले नै जिम्मेवारी लिन ठाडै इन्कार गर्दै नाम फिर्ता लिएपछि उक्त समूहको समानान्तर गतिविधि शुरूआतमै धराशायी बनेको हो ।

सहमति र जानकारी बिनै सूचीमा नाम घुसाइएका नेताहरूले सार्वजनिक रूपमै आपत्ति जनाउँदै देउवा पक्षको गुटगत अधिवेशन बहिष्कार गर्ने घोषणा गरेका छन् ।

विगतमा देउवा पक्षमै सक्रिय रहेकी पूर्वमन्त्री एवं पूर्व केन्द्रीय सदस्य सीता गुरुङले आफू सधैँ चारतारे झण्डा र रूख चिह्न भएको आधिकारिक कांग्रेसमै रहने प्रस्ट पार्दै पार्टीको मूलधारविरुद्ध कुनै गतिविधि नगर्ने अडान लिएकी छिन् ।

उनले सामाजिक सञ्जालमै समेत स्पष्ट पार्दै लेखेकी छिन् – ‘जय नेपाल । भ्रममा नपरौँ । नेपाली कांग्रेसको चुनाव चिन्ह रूख र चारतारे झण्डा जहाँ, म त्यहीँ हुन्छु । सहमति , सहकार्य र एकता आजको आवश्यकता ।’

त्यस्तै पूर्व केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो पूर्व स्वीकृति बिनै इतर समूहले प्रतिनिधिमा नाम सार्वजनिक गरेको भन्दै कडा असन्तुष्टि जनाएका छन् । पाल्पाका लागि प्रतिनिधि तोकिएका कृष्णप्रसाद बस्यालले सूचीमा आफ्नो नाम देख्दा आश्चर्यमा परेको उल्लेख गर्दै कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरेका छन् ।

देउवा समूहका मुख्य खम्बा मानिएका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र प्रभावशाली नेता रामहरि खतिवडालगायत दर्जनौँ नेताहरूले यसअघि नै सभापति गगनकुमार थापा नेतृत्वको संस्थापन पक्षीय महाधिवेशनमा सामेल हुने निर्णय गरिसकेका छन् । त्यसलगत्तै अन्य जिल्लाका प्रतिनिधिहरूले समेत देउवा समूहको निर्देशन लत्याएर संस्थापन पक्षकै मूलधारमा समाहित हुने घोषणा गरेका हुन्।

प्रतिनिधि छनोटका विषयमा देउवा समूहले सञ्चारमाध्यमलाई समेत गलत सूचना सम्प्रेषण गरेको खुलेको छ। ७७ वटै जिल्लामा प्रतिनिधि खटाइएको दाबीसहित विज्ञप्ति जारी गरिए पनि भित्री विवरणमा ५९ जिल्लाको मात्र नाम उल्लेख छ।

बाँकी १८ जिल्लामा उक्त समूहले प्रतिनिधि नै नपाएको देखिएको छ । कास्की जिल्लाको नाम दुई पटक दोहोर्‍याइएको विज्ञप्तिमा राजधानीसँग जोडिएका भक्तपुर, धादिङ, नुवाकोट, रसुवा र मकवानपुरमै प्रतिनिधि रिक्त छन्।

त्यसैगरी कोशीका इलाम र ताप्लेजुङ, लुम्बिनीका पुर्वी रुकुमसहित रूपन्देही, कपिलवस्तु, दाङ र बाँकेजस्ता राजनीतिक रूपमा निर्णायक जिल्लाहरूमा समेत देउवा पक्ष प्रतिनिधिहीन बनेको छ। कर्णालीको प्रादेशिक राजधानी सुर्खेतसहित दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिममा समेत खटाउने नेता नपाउनुले उक्त समूहको संगठनात्मक विघटनको चित्र देखाएको छ।

महत्त्वपूर्ण जिल्लाहरूमा खटाउने व्यक्ति नै नपाउनु र खटाइएका नेताहरूले समेत समानान्तर अधिवेशनलाई अस्वीकार गर्नुले देउवा समूह केही टाउकै नेताहरुमा सीमित भएको स्पष्ट भएको छ। देउवा पक्षका सशक्त नेताहरू धमाधम मूलधारमा फर्किएपछि संस्थापन पक्ष थप सुदृढ र पूर्ण देखिएको छ।

नेपाली कांग्रेस संस्थापन पक्षले आगामी असोज ३ गतेदेखि वडा अधिवेशन प्रारम्भ गरी असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अनुसार तीव्र तयारी गरिरहेको छ।

पार्टीलाई एकढिक्का गरी लोकतन्त्रलाई बलियो बनाउन लाग्नुपर्ने पाका देउवा पक्षका नेताहरू नै पदलोलुपताका कारण पार्टीलाई धरापमा पार्न खोजेपछि भोलिका दिनमा पनि पार्टीलाई निरन्तर बलियो साथ दिन सक्ने नेताहरू संस्थापनतिर लागेका छन् ।

निर्वाचन आयोगको निर्णय र सर्वोच्च अदालतको फैसलाले समेत गगन थापा नेतृत्वको कांग्रेसलाई कानूनतः स्वीकारेर अगाडि बढिरहेका बेलामा चुनावमै कांग्रेसका नाममा एउटा मतसमेत नमागी आफू आफ्नो परिवारसहित सिंगापुर गएका देउवालाई फर्काएर केही पाका नेताहरूले स्वार्थसिद्ध गर्ने नाममा पार्टीलाई नै भड्खालोमा हाल्न खोजेको भन्दै आलोचना भइरहेको छ ।

देउवा पक्षकै केही नेताहरू भने पार्टीमै संघर्ष गर्ने भन्दै आसन्न १५ औँ महाधिवेशनमा होमिने बताइसकेका छन् । कांग्रेसको क्रियाशील सदस्यतासमेत नवीकरण नगरेका नेताहरू भने स्वतः पार्टीको १५ औँ महाधिवेशनमा भाग लिन नपाउने निश्चित छ ।

विधानअनुसार चलिरहेको गगन थापा नेतृत्वले आगामी असोज ३ देखि नै वडा अधिवेशन थाल्ने भएसँगै स्थानीय तहमा अहिले सरगर्मी बढेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x