आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

‘तिम्रो औकात के हो पीयूष मिश्रा ?’

काठमाडौं – ग्वालियरका एक अन्तर्मुखी किशोर, जसले जीवन र मृत्युका प्रश्नहरूसँग खेल्दै बाल्यकाल बिताए। एक दिन बुबाको अगाडि फेल भएको मार्कसिट राखेर भने- ‘म डाक्टर बन्ने छैन, थिएटरमा जान्छु।’

त्यही निर्णयले उनलाई भारतीय रंगमञ्च, संगीत, साहित्य र सिनेमाको बहुआयामिक व्यक्तित्व बनायो। ती बालकपछि चर्चित लेखक कलाकार बने। उनी हुन्, पीयूष मिश्रा।

उनको आत्मकथा ‘तुम्हारी औकात क्या है पियूष मिश्रा’ नेपालमा समेत लोकप्रिय छ। चौथो काठमाडौँ कलिङ साहित्य महोत्सवमा यही शीर्षकमा प्रस्तोता युनुश खानसँग संवाद गरे। मिश्राले आफ्नो बाल्यकालका जटिल भोगाइ, थिएटरप्रतिको मोह, परिवारको अपेक्षाविरुद्ध कलाको बाटो रोज्ने साहस र आफ्नो आत्मकथाबारे सो संवादमा व्यक्त गरेको विचारको अंश :

जब मलाई काठमाडौँ बोलाइन्छ, यहाँ प्रस्तुति दिन पाउँदा निकै खुसी लाग्छ। म अहिले आफ्नो ब्यान्डसँग धेरै ठाउँ कन्सर्टका लागि यात्रा गरिरहेको छु। हाम्रो ब्यान्डमा एउटा पनि बलिउड गीत छैन। हामीले गाउने सबै गीत थिएटरबाट जन्मिएका हुन्। काठमाडौँमा पनि ती गीत प्रस्तुत गर्न उत्साहित हुनेछु।

मेरो आत्मकथा ‘तुम्हारी औकात क्या है’ मा मेरा जीवनका तीन महत्त्वपूर्ण चरणको कथा हो। मैले जीवनका पहिलो २० वर्ष ग्वालियरमा बिताएँ। त्यसपछिका २० वर्ष दिल्लीमा र पछिल्ला वर्षहरू मुम्बईमा। यो पुस्तकमा यी तीनै सहरसँग जोडिएका मेरा अनुभव, संघर्ष र सम्झनाहरू समेटिएका छन्।

मेरो बाल्यकाल अरू बालबालिकाजस्तो सामान्य थिएन। छिमेकीको झ्याल फुटाउने, क्रिकेटको बल अरुको घरभित्र छिराउने वा साथीहरूसँग उधुम मच्चाउने खालको बाल्यकाल मैले जिइनँ। म अत्यन्त अन्तर्मुखी थिएँ। सानैदेखि मेरो मनमा जीवन र मृत्युका गहिरा प्रश्नहरू खेलिरहन्थे- म कहाँबाट आएँ? मरेपछि कहाँ जान्छु?

मलाई आमाबाबुको माया त थियो, तर त्यो प्रेम अलि फरक प्रकारको थियो। विशेषगरी आमाको माया यति तीव्र थियो कि उहाँ चाहनुहुन्थ्यो, म उहाँबाहेक अरू कसैलाई माया नगरूँ। हाम्रो परिवार खानदानी थियो, तर बैंक ब्यालेन्स शून्य थियो। यस्तो अवस्थामा हुर्किने बच्चाको जीवन निकै जटिल हुन्छ। कोही गरिब भए, उसलाई गरिब भन्न सकिन्छ, कोही धनी भए उसलाई धनी भन्न सकिन्छ, तर खानदानी भएर पनि आर्थिक अवस्था कमजोर हुँदा त्यसलाई व्यक्त गर्न गाह्रो हुन्छ। मैले त्यस्तै वातावरणमा बाल्यकाल बिताएँ।

सायद यही असामान्य बाल्यकालले मेरो कल्पनाशक्तिलाई सानैदेखि फराकिलो बनायो। दश कक्षासम्म पुग्दा मैले एउटा कुरा स्पष्ट रूपमा बुझिसकेको थिएँ- म मेरो बुबाले चाहेजस्तो बन्नेछैन। उहाँ मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो, तर मलाई भ्यागुता चिरफार गर्नै डर लाग्थ्यो। मानिसको शल्यक्रिया कसरी गर्न सक्थेँ?

मेरो जन्मनाम प्रियाकान्त शर्मा थियो। यो नामले मलाई धेरै अप्ठ्यारोमा पार्थ्यो। बुबाले आफ्नो प्रिय साथीको नामबाट प्रेमपूर्वक मेरो नाम राख्नुभएको थियो। तर विद्यालयमा सबैले मलाई ‘प्रिया-प्रिया’ भनेर जिस्क्याउन थाले। अन्ततः दश कक्षामा पुगेर मैले आफ्नो नाम परिवर्तन गरी पीयूष राखेँ।

एक दिन मैले फेल भएको मार्कसिट बुबाको अगाडि राखेँ र स्पष्ट रूपमा भनेँ, “म डाक्टर बन्न चाहन्नँ। म मेडिकल साइन्स पढ्न चाहन्नँ। मैले निर्णय गरिसकेको छु, म थिएटर आर्ट्समा जान्छु।”

त्यो समय यस्तो निर्णय लिनु निकै कठिन थियो। सिनेमाको संसार टाढाको सपनाजस्तै थियो। अमिताभ बच्चन, विनोद खन्ना, शशि कपुर र मिथुन चक्रवर्तीजस्ता कलाकार यति ठूला स्टार थिए कि उनीहरूलाई भेट्ने कल्पनासमेत गर्न सकिँदैनथ्यो।

तर मलाई थिएटरको नशा लागिसकेको थियो। मैले निश्चय गरें- म थिएटर नै गर्छु। घरबाट प्रश्न आयो, “थिएटर गरेर कमाउँछौ कसरी? जीवन चलाउँछौँ कसरी?” मेरो जवाफ सधैं एउटै हुन्थ्यो, “म थिएटर नै गर्छु।”

उहाँहरूले भन्नुभयो, “यसबाट पैसा आउँदैन।”

मैले भनेँ, “ठीक छ, पैसा नआए पनि म यही गर्छु।”

त्यसरी नै मैले जीवनका २० वर्ष थिएटरमा समर्पित गरेँ। संघर्ष थियो, अनिश्चितता थियो, तर त्यही यात्राले आजको पीयूष मिश्रालाई निर्माण गर्‍यो।

त्यसपछि मैले नेसनल स्कुल अफ ड्रामा (एनएफडीसी) मा प्रवेश गरेँ। धेरैलाई लाग्थ्यो, त्यो मेरो सपना थियो। तर वास्तवमा म एनएफडीसीभन्दा पनि ग्वालियर छोड्न चाहन्थेँ। किनकि यदि जीवनमा केही बन्ने चाहना छ भने घरको छायाबाट बाहिर निस्कनैपर्छ। आमाले बनाइदिनुभएको रोटीको स्वाद पनि एक समयपछि छोड्नैपर्छ। आफ्नो बाटो आफैँ बनाउन घरबाट टाढा जानुपर्ने हुन्छ।

म दश कक्षामा पढ्दाताका आफ्नी एक शिक्षिकासँग आकर्षित भएको थिएँ। हामी दुवैबीच एउटा आत्मीय सम्बन्ध बनेको थियो। उनलाई मेरा गीतहरू पनि निकै मन पर्थे। तर समयसँगै उनको विवाह भयो र त्यो भावना सम्झनामै सीमित रह्यो।

मलाई काम गर्न असाध्यै मन पर्छ। म आफूलाई धेरै विधामा काम गर्न सक्ने व्यक्ति मान्छु। अभिनय, लेखन, संगीत, गायन- यी सबै क्षेत्रमा मैले काम गरेको छु। त्यसैले म आजका युवाहरूलाई एउटा कुरा भन्न चाहन्छु- आफ्नो क्षमतालाई कुनै एउटा क्षेत्रमा मात्र सीमित नगर। तिमीहरू धेरै कुरा गर्न सक्षम छौ।

हामीमध्ये धेरैजसोले आफूलाई एउटै पहिचानभित्र बन्द गर्छौं। तर मानिसको सम्भावना त्योभन्दा धेरै ठूलो हुन्छ। आफूभित्र भएका विभिन्न प्रतिभालाई चिन्ने र प्रयोग गर्ने साहस गर्नुपर्छ। जीवनमा नयाँ-नयाँ क्षेत्र खोज्दै अगाडि बढ्नुपर्छ, किनकि हामी केवल एउटा कामका लागि मात्र जन्मिएका हुँदैनौँ। https://nepalnews.com/2026/06/06/what-is-your-status-piyush-mishra/

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x