स्थापना दिवसमा कारागारवाट रवि लामिछानेकाे सन्देश : जनताबाट अलग पार्न चक्रब्युह बनाइएको हो
काठमाण्डाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तेस्रो स्थापना दिवसका अवसरमा सभापति रवि लामिछानले सन्देश जारी गरेका छन् ।
रुपन्देही जिल्ला कारागारबाट शनिबार सन्देश जारी गर्दै अध्यक्ष लामिछानेले आफूविरुद्ध अझै षड्यन्त्र नसकिएको उल्लेख गरेका छन् । अब जनताबाहेक आफूले न्याय माग्ने ठाउँ बाँकी नरहेको निराश र भावुक सन्देशमा उनले व्यक्त गरेका छन् ।
लामिछानेले आफूविरुद्ध आरोपहरू नियोजित षड्यन्त्र भएको दाबी गर्दै हालको घटनाक्रमलाई राष्ट्रप्रेमी र नयाँ सोच बोकेका नेताहरूलाई हटाउने योजनाको हिस्सा भएको उल्लेख गरेका छन् ।
‘मलाई जनताबाट पाएको समर्थन, साँचो देशभक्तिको मूल्यमा दण्डित गर्न खोजिएको छ । केही गुटले विगत तीन वर्षदेखि योजनाबद्ध रूपमा आफ्ना चरित्र हत्या अभियान सञ्चालन गर्दै आएका छन्’, सन्देशमा भनिएको छ ।
लामिछानेले आफूलाई अमेरिकामा बसेका बेला भएको वैवाहिक सम्बन्ध र त्यससँग सम्बन्धित विषयलाई राजनीतिक स्वार्थले उछालिएको आरोप पनि लगाएका छन् । उनले लेखेका छन्, ‘यो वैयक्तिक जीवनसँग सम्बन्धित विषयलाई सार्वजनिक गरेर मेरो सामाजिक छवि बिगार्ने प्रयास हो ।’
जनतालाई धैर्य गर्न आग्रह गर्दै भनेका छन्, ‘म फेरि जनताको बीचमा आइ जिम्मेवारी वहन गर्न तयार छु । अहिलेको यो चक्रब्युह मलाई जनताबाट अलग पार्न बनाइएको हो ।’


WRITE COMMENTS FOR THIS ARTICLE