काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदैछन् । उनी आज साँझ काठमाडौं ओर्लिने परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।
बालेन शाह नेतृत्वमा सरकार गठन भएयता नेपाल भ्रमणमा आउने गोर सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन् ।
यस हिसाबले गोरको हैसियत ७ वैशाखमा काठमाडौं आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरभन्दा उच्च मानिन्छ ।
गोरले अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनालसँग भेट्ने
गोरले नेपाल बसाइको क्रममा राजनीतिक भेटघाट गर्ने भनिए पनि प्रधानमन्त्री बालेन शाहलाई भेट्ने/नभेट्ने निश्चित भइसकेको छैन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले प्रधानमन्त्री बालेन शाहलाई गोरले भेट्ने निश्चित नभइसकेको बताइन् । ‘उहाँ र प्रधानमन्त्रीज्यूबीच भेट अझै निश्चित भइसकेको छैन । किनभने प्रधानमन्त्रीज्यू देशका आन्तरिक मामिलामा अति नै व्यस्त हुनुहुन्छ । खासगरी सुशासनका मामिलामा मात्रै अहिले केन्द्रित हुनुहुन्छ,’ दाहालले भनिन् ।
पछिल्ला वर्षहरूमा नेपाल भ्रमणमा आउने अधिकांश विदेशी कूटनीतिज्ञहरुले प्रधानमन्त्रीसहित शीर्ष राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेका थिए । तर बालेन शाह नेतृत्वको वर्तमान सरकारमा सो अभ्यास बदलिँदै गएको देखिन्छ ।
यसअघि नेपाल भ्रमण गरेका अमेरिकी सहायक विदेश मन्त्री समिर पल कपुरले रास्वपा सभापति रवि लामिछाने र सरकारका वरिष्ठ मन्त्रीहरुलाई भेटेका थिए । तर उनले प्रधानमन्त्री बालेन शाहसँग औपचारिक भेट गर्न पाएनन् ।
बालेनले समय उपलब्ध नगराए गोरले पनि कपुरले जस्तै रास्वपाका नेता र वरिष्ठ मन्त्रीहरुसँग भेटघाट गरेर फर्किने स्रोतले बतायो । गोरले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट्ने निश्चित भइसकेको स्रोतले बतायो ।


WRITE COMMENTS FOR THIS ARTICLE