सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026

मृत्युमा सभा भोजको बढ्दो प्रतिस्पर्धा

राजविराज,- तराई मधेशका धेरै समुदायमा परम्परागत रूपमा गरिँदै आएको मृत्यु भोज पछिल्लो समय सप्तरी जिल्लामा झन् भड्किलो र प्रतिस्पर्धात्मक बन्दै गएको छ ।

जिल्लाको रूपनी, विष्णुपुर र छिन्नमस्तालगायतका पालिकामा मृत्युपछि गरिने सभा भोज सामाजिक प्रतिष्ठासँग दाँजेर प्रतिस्पर्धा गरिरहेका छन् । यसले फजुल खर्च पनि भइरहेको स्थानीयवासी बताउँछन् ।

रूपनी गाउँपालिकाका भोला यादवका अनुसार आफन्तको मृत्यु भएपछि समाजका प्रतिष्ठित व्यक्तिबिच एक वा दुई सभा भोज गर्ने प्रतिस्पर्धा नै चलेको छ ।

“हाम्रो समुदायले पाँच/सात गाउँबस्तीलाई समेटेर एउटा सभा बनाएको हुन्छ । त्यस क्षेत्रका सबैलाई निम्तो पठाएर भोज खुवाइन्छ,” उहाँले भन्नुभयो । यस्तो एक सभामा न्यूनतम पाँचदेखि सात लाख रुपियाँसम्म खर्च हुने गरेको उहाँले बताउनुभयो ।

स्थानीय बिरेन्द्र यादवका अनुसार भोजमा महिला सहभागिता अझै पनि सीमित छ । सभा भोजमा आफनो गाउँबस्ती बाहेकका महिलाहरूलाई निम्तो दिने चलन नरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “छरछिमेकका महिला, पुरुष, बालबालिका सबैलाई निम्तो दिइन्छ, तर खुवाउने बेला महिला र पुरुषलाई छुट्टाछुट्टै बसाइन्छ, कतिपय ठाउँमा महिलालाई सहभागिता नै गराइँदैन ।’’

समाजसेवी श्यामसुन्दर यादवका अनुसार रूपनी, विष्णुपुर र छिन्नमस्ता गाउँपालिकामा यस्ता सभा भोज व्यापक रूपमा हुँदै आएका छन् । विशेषगरी यादव समुदायमा यो चलन पछिल्लो समय प्रतिस्पर्धात्मक रूपमा बढ्दै गएको छ । “कसले कति ठुलो भोज गर्‍यो भन्ने कुरा प्रतिष्ठासँग जोडिन थालेको छ,” उहाँले भन्नुभयो ।

स्थानीय समाजसेवी रामचन्द्र यादव यस्तो प्रचलनप्रति चिन्तित हुनुहुन्छ । उहाँका अनुसार मृत्युजस्तो संवेदनशील अवस्थामा अनावश्यक खर्च गर्ने प्रवृत्तिले निम्न तथा मध्यम वर्गीय परिवारलाई आर्थिक सङ्कटमा पार्न सक्छ । “मृत्यु भोजलाई न्युनीकरण गर्नुपर्छ, नत्र समाजमा ऋण र दबाब बढ्दै जान्छ,” उहाँले जोड दिनुभयो ।

प्राध्यापक देवनायारायण यादवले यस्तो परम्परा सामाजिक एकता र सहानुभूति प्रकट गर्ने माध्यम भएपनि यसको अत्यधिक प्रदर्शनले मूल उद्देश्य ओझेलमा पारिरहेको बताउनुभयो । परम्परा र आधुनिक सोच बिच सन्तुलन कायम गर्दै खर्च नियन्त्रण गर्न समुदायस्तरमै छलफल र सचेतना आवश्यक भएको उहाँले बताउनुभयो ।

सप्तरीमा बढ्दो मृत्यु भोज संस्कारको विषय मात्र नभई सामाजिक प्रतिष्ठा, आर्थिक अवस्था र लैङ्गिक समानतासँग समेत गाँसिएको विषय बन्दै गएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x