शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

नेविसंघलाई पार्टीको छायाँभन्दा माथि राख्नु पर्ने निर्णय लिएका हौँ – दुजाङ शेर्पा

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिनेट बैठकबाट कांग्रेस कांग्रेसका भातृ संस्थाभन्दा स्वायत्त संस्था बन्ने निर्णय लियो । अहिलेसम्म भातृ संस्थाको रूपमा रहे पनि पार्टीबाट प्रत्यक्ष हस्तक्षेप भएको र यसलाई चिर्ने भन्दै नेविसंघले अलग हुने तयारी गरेको छ । तर, माउ पार्टी कांग्रेसमा विवाद भइरहँदा नेविसंघको नेतृत्वले लिएको निर्णयले थप आलोचना बढाएको छ । यसै विवादबीच नेविसंघ अध्यक्ष दुजाङ शेर्पासँग गरेको कुराकानी :

लामो समय कांग्रेसको भातृ संस्थाको रूपमा रहँदै आउनुभयो । तर, अब औपचारिक हिसाबले भातृ नभई नेविसंघलाई स्वायत्त बनाउन खोज्नुभएको हो ?

हामी अहिलेसम्म कांग्रेसको भातृ संस्थाको रूपमा रहँदै आयौँ । तर, अहिले हामीले खोजेको भातृ संगठन नभई वैचारिक हिसाबले मात्रै आबद्धता हो । नेविसंघको गतिविधि, विधान, कार्यक्रममा हामीले कार्यगत स्वायत्तता खाजेको हो । भनेको पार्टीको नीति, नेता र कार्यक्रम मान्छौँ ।

अहिलेसम्म तपाईंहरूले पार्टीको भातृ संस्था बन्न नै ठीकठाक मान्नुभयो । अहिले नै किन यो निर्णयमा पुग्नुभयो ?

नेविसंघको महाधिवेशन समयमा भएन । पार्टीबाट विधान प्राप्त भएन । नेविसंघ कांग्रेसका नेतामुखी भयौँ । पार्टीको प्रत्यक्ष प्रभाव पर्दा नेविसंघ झन् भद्रगोल हुन पुग्यो । स्ववियु निर्वाचनमा पार्टीको हस्तक्षेप देखियो । यसैले पार्टीको छायाभन्दा माथि राख्नुपर्ने निर्णय लिएका हौँ ।

तर, पार्टीमा विवाद भएको बेला यहाँहरूले यो कदम चाल्नुभयो नि ?

लामो समयदेखि बहसमा थियो । पार्टीभन्दा बाहिर छैनौँ । हामीले अहिले आएर होइन, सेप्टेम्बर ११ अघिदेखि नै अखिल, क्रान्तिकारीसहितसँग छलफल गरेर हामी फरक ढंगले जानुपर्छ भनेर बहसमा गरेका थियौँ । स्टेटमेन्ट नै जारी गरेका थियौँ । भातृ संस्था भन्दा नयाँ ढंगले लाने भनेर गरेका थियौँ ।

कुन कुराले बढी प्रेरित गर्‍यो यहाँहरूलाई ? 

हामीले केही समयअघि जेन–जी विद्रोह भोग्यौँ । हामी विद्यार्थी आन्दोलनका मुद्दा पनि फरक हिसाबले सम्बोधन गरेर जानुपर्छ भन्ने निकास निकाल्यौँ । किनकि अब विद्यार्थी आन्दोलन र मुद्दा पनि फेर्नुपर्ने हुन्छ । हामीले पनि धेरै गर्नुपर्ने अवस्था छ । यसैले हामीले सिनेट बैठकबाट लिएको निर्णयलाई पार्टीले मान्छ भन्ने हाम्रो विश्वास छ ।

कांग्रेस नेतृत्वले यहाँहरूको मागलाई मान्छ भन्ने विश्वास छ ?

हाम्रो निर्णयलाई पार्टीले सहजै मान्छ भन्ने हाम्रो विश्वास छ । निर्णय मान्ने मात्रै होइन, सहजै १२औँ महाधिवेशन गर्ने बाटो खोलिदिने विश्वास लिएका छौँ । किनकि, विशेष महाधिवेशनको प्रतिवेदनमा नेविसंघलाई स्वायत्तता दिने भनेर स्वीकार गरिएको छ । विशेषले नै विद्यार्थी संगठनलाई स्वायत्त ढंगले अगाडि बढाउने निर्णय गरेपछि हाम्रो निर्णय मान्दैन भन्ने लागेको छैन । हाम्रो कदमलाई पार्टीले नराम्रो मान्दैन । पार्टीले हामीलाई बुझ्छ भन्ने विश्वास हाम्रो छ ।

यस्तो निर्णय गर्दैछौँ भनेर कांग्रेसको नेतृत्वलाई जानकारी गराउनुभएको थियो ?

समयलाई कुर्न सकिँदैन । हामीले यस्तो गर्दैछौँ भनेर पार्टीलाई जानकारी गराएका थियौँ । सिनेटले गरेको निर्णयलाई औपचारिक हिसाबले अब पार्टीलाई पठाउँछौँ ।

यहाँहरूको कदम पार्टीको नेतृत्व र नेविसंघकै अन्य नेताले अस्वीकार गर्नेजस्तो देखियो । पार्टीमा दुई समूहको लफडा परिरहेको बेला यहाँहरूले यो कदम लिँदा कांग्रेस नेतृत्व र नेविसंघको दूरी बढ्ने देखायो नि ?

पार्टीसँग दूरी बढ्नेभन्दा पनि सैद्धान्तिक हिसाबले पार्टीभन्दा बाहिर जाने कुरा होइन । प्रत्यक्ष प्रभावबाट हामी अलग हुन खोजेका हौँ । पार्टीलाई आदर्श मान्ने कोणबाट अलग हुन खोजिएको होइन ।

पार्टीमा समस्या देखिइरहँदा विशेषबाट आएको नेतृत्वलाई नमानेर यो कदम उठाइराख्नुभएको त होइन ?

हामीले यसरी लिएका छैनौँ । निर्वाचन आयोगले निर्णय गरेपछि टिकट नै विशेष महाधिवेशनपक्षले बाँडेपछि, अदालतले पनि नरोकेपछि हामीले विशेषबाट आएको नेतृत्व मान्दैनौँ भनेका छैनौँ । अदालतमा मुद्दा चलिरहे पनि हामीले अहिलेसम्म हामीले विशेष महाधिवशेनकै नेतृत्वलाई मानेको हो । (शिलापत्र)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x