शनिबार, फाल्गुन ३०, २०८२
Saturday, March 14, 2026

१३० जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको खुलासा

काठमाडाैं – अध्यागमन विभागका अनुसार फेब्रुअरी २०२६ मा मात्र १३० जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन्। फेब्रुअरीमा डिपोर्ट हुनेमा १२४ जना पुरुष र ६ महिला छन् । ट्रम्प प्रशासन सुरु भएदेखि अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरुको संख्या अब ७ सय नाघेको छ ।

डिपोर्ट हुनेहरुमा अधिकांश पुरुष छन् भने महिलाको संख्या न्यून छ। पछिल्ला महिनाहरूमा डिपोर्टको संख्या तीव्र रूपमा बढेको छ, जसमा चार्टर्ड उडानमार्फत ठूलो समूहमा नेपालीहरूलाई एकै पटक फर्काइएको छ। जनवरीमा १०१ जनामध्ये ४ जना मात्र महिला थिए भने फेब्रुअरीमा चार्टर विमानमार्फत ९५ जना फर्काइएका थिए, जसमध्ये ३ जना मात्र महिला रहेका थिए ।

नोभेम्बरमा ८० र डिसेम्बरमा ९५ भन्दा बढी नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए । जनवरी २०२६ मा एकै पटक ८० जना नेपाली (७९ पुरुष, १ महिला) चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएका थिए। डिसेम्बर २०२५ मा एकै दिन ६९ पुरुष, ६ महिला गरी ७५ जना डिपोर्ट भएका थिए।

यस्तै नोभेम्बरमा ८० जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए। तथ्यांकअनुसार सन् २०२५ को जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मेमा ५८, जुनमा ४२, जुलाईमा १७, अगस्टमा १६, सेप्टेम्बरमा ५३ र अक्टोबरमा ३८ जना नेपाली डिपोर्ट भएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पदभार ग्रहण गरेलगत्तै आप्रवासनमाथि कडाइ गरेका छन्। आप्रवासन नियन्त्रण, अवैध बसोबास रोक्ने र सीमा सुरक्षा मुख्य नारा बनाएर सन् २०२४ को चुनाव जितेका ट्रम्पले यस अवधिमा कठोर नीति लागू गर्दै विश्वभरका आप्रवासीहरूमाथि कडा कारबाही गरेका छन्।

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन आईस र होमल्यान्ड सिक्युरिटीका अनुसार एक वर्षमा करिब ६७५,००० भन्दा बढी कागजात नभएका आप्रवासी डिपोर्ट भएका छन् भने २२ लाखभन्दा बढीले स्वेच्छिक रूपमा देश छोडेका छन्। यस नीतिले नेपाली समुदायलाई पनि ठूलो प्रभाव पारेको छ।

डिपोर्ट भएकाहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा लगाउने गर्छ। ब्यूरोले सामान्य सोधपुछपछि उनीहरूलाई आफन्तको जिम्मा लगाउँछ, तर लिखित उजुरी परेमा गहन अनुसन्धान गरिन्छ।

हालसम्म २ दर्जनभन्दा बढी उजुरी परेका छन्। अनुसन्धान मुख्य रूपमा नेपालका एजेन्टहरूमै सीमित रहेको छ। उजुरीको संख्या डिपोर्ट भएकाहरूको संख्याको तुलनामा निकै कम रहेको देखिन्छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x