नेकपाकाे कात्तिकदेखि दुई महिने अभियानः सरकारविरुद्ध आन्दोलनको तयारीमा ,
काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी कात्तिक र मंसिरमा देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्य संयोजन समितिको छैटौँ बैठकले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको शुक्रबार बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन, स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी तथा सरकारले गरेका जनविरोधी क्रियाकलापविरुद्ध आन्दोलनको तयारीका रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार अभियानका क्रममा पार्टी संगठन समायोजन, सदस्यता नवीकरण तथा विस्तारलाई तीव्रता दिइनेछ । त्यसैगरी, पार्टीका बैठक, भेला र प्रशिक्षण सञ्चालन गर्ने, जनताका दैनिक समस्या तथा जनजीविकाका मुद्दा संकलन गरी सम्बन्धित निकायमा पेस गर्ने र कार्यान्वयनका लागि पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।
जनतासँगको सम्बन्ध सुदृढ बनाउन सांस्कृतिक तथा रचनात्मक कार्यक्रम, श्रम र जनसेवाका गतिविधि सञ्चालन गरिने पार्टीले जनाएको छ । विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका काममा समेत सहयोग गरिनेछ । अभियानमा केन्द्रदेखि स्थानीय तहसम्मका सबै पार्टी कमिटी परिचालित हुनेछन् ।
पुस ११ मा देशभर वडा अधिवेशन
नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ११ गते देशभरका सबै वडामा एकै दिन वडा अधिवेशन गर्ने निर्णय गरेको छ । त्यस्तै, माघ १५ गते सबै स्थानीय तहमा एकै दिन पालिका अधिवेशन आयोजना गरिनेछ ।
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा एकै दिन अधिवेशन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अभियान सम्पन्न भएपछि मंसिरको अन्तिम साता पार्टी केन्द्रीय समिति, केन्द्रीय कार्य समिति र केन्द्रीय सचिवालयका बैठक आयोजना गरिने पनि बैठकले निर्णय गरेको छ ।
यसैबीच, बैठकले अमेरिकाबाट प्रकाशित हुने ‘ग्रे जोन’ लगायतका सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संवेदनशील विषयमा तत्काल सत्यतथ्य सार्वजनिक गर्न पार्टीले सरकारसँग माग गरेको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE