राष्ट्रपतिद्वारा टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भए। सो अवसरमा उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरे।
राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति रहन्छन्। नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।
सो अवसरमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका हातहतियार, उपकरण र सवारी साधन प्रदर्शन गरिएको थियो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र प्रधानन्यायाधीश प्रकाशमानसिह राउत र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो । साथै नेपाल सरकारका मन्त्रीगण, पूर्वमन्त्री, संवैधानिक निकायका प्रमख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुगेका थिए।
शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको बाक्लो उपस्थिति थियो । उक्त समारोहको नेपाल टेलिभिजनलगायत विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए ।


WRITE COMMENTS FOR THIS ARTICLE