शुक्रबार, बैशाख ११, २०८३
Friday, April 24, 2026

प्रचार प्रसारमा डिजिटल प्रचारशैलीको कारण पुराना शैली हराउँदै

जनकपुर – सामाजिक सञ्जाल र डिजिटल प्रचारशैलीको कारण चुनाव प्रचारप्रसारमा प्रयोग हुँदै आएका पुराना शैली हराउन थालेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचार मधेस प्रदेशमा पनि तीव्र गतिमा हुँदैछन। तर यसपटक राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले चुनाव प्रचारको परंपरागत शैली बदलेका छन्।

विगतका निर्वाचनमा चोकचौराहाका पर्खाल, बिजुलीका पोल र घरका भित्ताहरूमा उम्मेदवारका पोस्टर टाँसिन्थे। जताततै दलका चुनाव चिह्न अंकित ब्यानर र झन्डा टाँगिएका हुन्थे। स्थानीय रेडियोहरूमा उम्मेदवारका चुनावी जिङ्गल खुबै जुञ्जिन्थे।

तर, यसपटक जनकपुरमा बिहान उज्यालो नहुँदैदेखि राति अबेरसम्म कुद्ने रिक्सा र अटो कतै पनि उम्मेदवारका प्रचार सामग्री बजेको सुनिँदैन। सर्वसाधारणको हातहातमा मोवाइल फोन पुगेपछि परंपरागत प्रचार शैलीलाई डिजिटलर प्रचारले विस्थापित गर्दै लगेको छ।

जनकपुर क्षेत्रमा आजभोलि फाट्टफुट्ट केही दलका सामान्य पर्चा पम्पलेट देखिए पनि समग्रमा उम्मेदवार र दलहरुले चुनाव प्रचार डिजिटल माध्यमबाटै गरिरहेका छन्। यसले जनकपुरसहित मधेसका जिल्लामा वातावरण सुनसान देखिन्छ।

यसले खासगरी गाउँघरमा रहेका तल्लो वर्गका नागरिक, मोबाइल फोनमा पहुँच नभएका र सामाजिक सञ्जाल नचलाउने मतदातालाई चुनावबारे जानकारी छैन। उनीहरूलाई चुनाव कहिले हुँदैछ भन्नेसम्म थाहा छैन।

धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने गोविन्दपुरका मतदाता सुरेन्द्र महराले आफूलाई चुनाव हुने मितिबारे जानकारी नभएको बताए। ‘चुनाव हुन्छ भन्ने गाउँघरमा कुरा चलिरहेको सुनिरहेछु। तर कहिले हुने र यसपाली को को उम्मेदवार उठेका छन्, थाहा छैन,’ महराले भने।

धनुषा क्षेत्र नम्बर ४ का ६८ वर्षिय शिवजी यादव घरमा छोराहरूले चुनाव बारे कुरा गरेको सुनेको बताए। तर उनले पनि चुनाव कहिले हुँदैछ, मिति भन्न सकेनन्।

धनुषा क्षेत्र नम्बर २ कि मतदाता सुमित्रा देवीलाई पनि चुनावबारे खासै थाहा छैन। उनी भन्छिन्, ‘चुनाव हुन्छ भन्ने सुनेको छु। तर अहिलेसम्म कोही भोट माग्न हाम्रो घरमा आएका छैनन्।’

उनले आफूले यसपटक कतै पोस्टर टाँसेको नदेखेको बताइन्। ‘रेडियो र रिक्सामा पनि प्रचार गरेको सुनेको छैन,’ उनले भनिन्।

शिक्षित वर्ग, युवावर्ग र मोबाइल प्रयोगकर्ताहरु भने चुनाव प्रचारमा बढी सक्रिय देखिएका छन्।

उनीहरु एक अर्का उम्मेदवारको कुरा र डिजिटल पम्पलेट हेरेर एकअर्कासँग गफिने गरेका छन्। उनीहरु कुन क्षेत्रमा कसले जित्दैछ, कसले हार्दैछ, कुन उम्मेदवारको मुख्य प्रतिस्पर्धी को हो भन्ने बारेमासमेत आंकलन गरिरहेका छन्।

चुनाव प्रचारको डिजिटल शैलीको कारण खासगरि अफसेट प्रेस, कागज उद्योग, रेडियो, पत्रपत्रिका, रिक्सा, अटो व्यवसायी बढी प्रभावित भएका छन्। उनीहरुको आम्दानी हराएको छ।

उम्मेदवारको ध्यान डिजिटल प्रचारतर्फ 

यसपटक अधिकांश उम्मेदवारहरूले परम्परागत प्रचार माध्यम छाडेर डिजिटल आईटीमा आधारित सामाजिक सञ्जाल, विशेषगरी फेसबुकलाई प्रचारको प्रमुख माध्यम बनाएका छन्।

अहिले फेसबुक खोल्ने बित्तिकै उम्मेदवारका फोटो, भिडियो सन्देश, लाइभ सम्बोधन, सभा–सम्पर्कका दृश्य र समर्थकका प्रतिक्रिया देखिने गरेको छ। चुनाव प्रचार अब पर्खाल र सडकमा होइन, मोबाइल स्क्रिनभित्र सिमित भएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार सामाजिक सञ्जाल सस्तो, छिटो र प्रत्यक्ष मतदातासम्म पुग्ने माध्यम भएकाले उम्मेदवारहरू यसतर्फ आकर्षित भएका हुन्।

कम लागतमा एकैपटक हजारौँ मानिससम्म सन्देश पु¥याउन सकिने भएकाले र प्रभाव पनि बढी हुने भएकाले सामाजिक डिजिटल प्रचारमा उम्मेदवारले बढी जोड दिएका हुन्।

राजनीतिक विश्लेषक डा. यादव भन्छन्,  ‘परम्परागत शैलीको प्रचारप्रसारमा बढी खर्च लाग्ने र सिमित व्यक्तिसम्म मात्र पुग्ने हुन्छ। तर डिजिटल प्रविधिको प्रचारबाट कम समय र लागतमै बढीभन्दा बढी व्यक्तिसम्म पुग्ने भएकाले छरितो र भरपर्दो चुनाव प्रचारको माध्यम बनेको छ।’

तर डिजिटल प्रचारले अर्थतन्त्रमा ठूलै असर पारेको विषयलाई नकार्न नसकिने उनले बताए।

छपाई उद्योग र स्थानीय मजदूर मारमा

सामाजिक सञ्जालको बढ्दो प्रयोगले चुनावी प्रचारको खर्च त घटाएको छ, तर यसको प्रत्यक्ष असर स्थानीय अर्थतन्त्रमा परेको छ। पोस्टर, ब्यानर, पर्चा छपाइ नहुँदा प्रेस व्यवसाय लगभग ठप्पजस्तै बनेका छन्।

अघिल्ला निर्वाचनमा चुनाव सामग्री छपाइबाट राम्रो आम्दानी गरेका प्रिन्टिङ व्यवसायीहरु यसपटक निराश बनेका छन्।

त्यसैगरी रिक्सा–अटो चालक, कागज विक्रेता, पोस्टर टाँस्ने मजदूर, ब्यानर बनाउने कलाकार र बाल पेन्ट गर्ने श्रमिकहरूको आम्दानीसमेत गुमेको छ।

विगतमा चुनाव उनीहरूका लागि रोजगारी र आम्दानीको ठूलो अवसर हुन्थ्यो। तर डिजिटल प्रचारले त्यो अवसर खोसिदिएको उनीहरूको गुनासो छ।

जनकपुरधामस्थित माला कलर अफसेट प्रेसका संञ्चालक शंकर साह भन्छन्,  ‘विगतका निर्वाचनहरुमा उम्मेदवारी दर्ता भए लगतै पर्चा पम्पलेट, स्टीकर, भेस्ट र झण्डामा स्क्रिन प्रिन्ट हुन्थ्यो। राम्दानी पनि राम्रो थियो। तर यसपटक आम्दानी छैन।’

जनकपुरकै जनकनन्दनी एफएमका संचालक अर्जुन मण्डलले विगतका निर्वाचनमा जस्तो यस पटकको निर्वाचनमा प्रचार प्रसारका लागि रेडियो स्टेशनमा जिंगल नआएको बताए।

प्रत्येक निर्वाचनमा पर्चा पम्पलेट पर्खालमा टाँस्ने र होर्डिंग बोर्ड झुण्डाउने काम गर्दै आएका जनकपुरधाम ४ का ६१ वर्षिय विरेन्द्र सहनीले यस वर्ष कुनै पनि उम्मेदवारले पर्चा पम्पलेट टाँस्न भनेर आफूलाई नखोजेकोमा दुःख व्यक्त गरे।

यस पटकको निर्वाचनले नेपाली चुनाव प्रचारको शैलीमा ठूलो परिवर्तन देखिएको उनको बुझाइ छ।

प्रचारको स्वरूप आधुनिक बने पनि त्यसले सामाजिक र आर्थिक तहमा फरक–फरक असर पारेको छ। एकातिर डिजिटल प्रविधिले प्रचारलाई व्यवस्थित र खर्चिलोबाट मुक्त बनाएको छ भने अर्कोतर्फ परम्परागत रूपमा चुनावसँग जोडिएका धेरै पेशा र समुदाय रोजगारी गुमाउने अवस्थामा पुगेका छन्।

२०७९ प्रतिनिधि सभा निर्वाचनमा भाग लिएका जनकपुरका एक उम्मेदवारले भने, ‘त्यो बेला एउटा उम्मेदवारको मात्रै ५ देखि १०÷१५ लाखसम्म रुपैयाँ त झण्डा र माइकिंग लगायतका प्रचार प्रसार खर्च गरेका थिए। तर यसपटक चाहिं धेरै नियन्त्रण भएको देखिन्छ। यसले चुनावी खर्च पनि घटाएको छ।

चुनौती थपियो
यसपटकको निर्वाचनले आगामी दिनमा चुनाव प्रचारको शैली अझै डिजिटलतर्फ जाने स्पष्ट संकेत देखिएको छ।

चुनाव प्रचारको लागि सामाजिक सञ्जाल प्रभावकारी भए पनि त्यससँगै स्थानीय श्रम, साना व्यवसाय र परम्परागत सञ्चार माध्यमलाई हुने आम्दानीमा भने व्यापक कटौती भएको छ। तयसले ती माध्यममा कार्यरत मजदुर प्रत्यक्ष मारमा परेका छन्।

फागुन २१ को निर्वाचन केवल जनप्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई, बदलिँदो प्रविधिको प्रस्थानबिन्दु बन्ने अवस्था सिर्जना भएको छ। यसले समाज, राजनीति र अर्थतन्त्रमा पार्ने प्रभाव दूरगामी हुने राजनीतिक विश्लेषक बताउँछन्।

निर्वाचन आयोगले फागुन ४ गतेपछि मात्रै सभा, जुलुसहित प्रचार प्रचार गर्न पाइनेगरि निर्वाचन आचारसंहिता जारी गरेको छ।

यसले पनि परम्परागत प्रचार प्रसार बन्द गरेर उम्मेदवार र राजनीतिक दल सामाजिक सञ्जाललाई प्रचार प्रसारको माध्यम बनाउनमा तल्लिन देखिएका छन्। उम्मेदवारहरु भने आचार संहिताको कारण अहिले परंपरागत प्रचार प्रसारमा नगएको दाबी गर्छन्। (सुभाष कर्ण)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x