सरकारसँग भएको सम्झौताबाट जेन जी प्रतिनिधिहरू उत्साहित, ठूला दलले उठाए वैधानिकताको प्रश्न
भदौ २३ र २४ गते भएका प्रदर्शनलाई ‘जनआन्दोलन’ को मान्यता दिलाएको सरकार-जेन जी समूहहरूबीच भएको सम्झौताबारे राजनीतिक दलहरूले शङ्कामिश्रित प्रतिक्रिया व्यक्त गर्न थालेका छन्।
संवैधानिक, कानुनी एवं राजनीतिक सुधारका विषयहरू समेत समेटिएको दशबुँदे सम्झौताले आफूहरू खुसी भएको र यसको व्यापक स्वामित्वका निम्ति लड्ने जेन जी प्रतिनिधिहरूले बताएका छन्।
सम्झौतामा निहित बुँदाहरूको कार्यान्वयन चुनौतीपूर्ण रहेकोबारे भने धेरैले सहमति जनाएका छन्। जेन जी समूहहरूका प्रतिनिधिहरू र प्रधानमन्त्री सुशीला कार्कीले बुधवार उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
‘सकारात्मक कदम’
सरकारसँग औपचारिक सम्झौताका निम्ति विभिन्न जेन जी समूहहरूले तीन महिनायता पहल गर्दै आएका थिए। उनीहरूमध्ये धेरैले सम्झौताबारे सन्तोष प्रकट गरेको विवरण आएको छ।
“हामीले यसलाई पहिलो कदम मानेका छौँ। खुसी छौँ। सबैले यसलाई सकारात्मक नै लिनुपर्छ,” जेन जीका एक प्रतिनिधि तथा अगुवा पुरुषोत्तम यादवले बीबीसीलाई बताए।
सम्झौताका लागि भएका पहलहरूमा जोडिँदै आएका यादवले अब यसको थप स्वामित्वका निम्ति आफूहरूले राष्ट्रपतिले पनि हस्ताक्षर गरून् भन्ने चाहेको बताए।
“यो सम्झौताले आगामी चुनावलाई पनि दिशानिर्देश गर्ने छ भन्ने हामीलाई लागेको छ। नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न समान दृष्टिकोण भएकाहरूलाई एकत्रित गर्न सकिन्छ भन्ने लाग्छ,” यादवले भने।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी उक्त सम्झौताको राजनीतिक एवं कानुनी दुवै कोणबाट “उच्च महत्त्व” रहेको ठान्छन्।
“यसमा भएका सबै १० बुँदा जायज छन्। त्यति बेलाको सरकारले राम्रो काम गरेको भए यो अवस्था आउने नै थिएन। यसलाई लागु गर्न भविष्यको अर्को सरकार पनि इमान्दार रहनुपर्छ,” केसीले भने।
नागरिक समाजका एकजना अगुवा तथा पूर्वमन्त्री विद्याधर मल्लिक पनि उक्त सम्झौतालाई ‘एकदमै महत्त्वपूर्ण’ ठान्छन्।
“सम्झौतापश्चात् प्रधानमन्त्री कार्कीले यसलाई कोसेढुङ्गा भन्नुभयो। त्यसप्रति मेरो पनि समर्थन छ,” मल्लिकले भने। उनले उक्त सम्झौताले खास गरी दुइटा विषय तत्कालै सम्बोधन भएको बताए।
“पहिलो त उक्त दुई दिनको घटनालाई जनआन्दोलनको हैसियत मिलेको छ। कतिपयले ती दिनका प्रदर्शनलाई केवल विध्वंससँग मात्रै जोडिरहेको सन्दर्भमा यो महत्त्वपूर्ण हो।”
“अर्को चाहिँ यसले कतिपय जेन जी आन्दोलनकारीहरूको मनमा रहेको डरलाई सम्बोधन गरेको हुन सक्छ। कानुनले अपराध मानेको कार्य गरेकोबाहेक आन्दोलनमै सहभागी भएका आधारमा दण्ड हुन सक्ने डर थियो,” उनले भने।
मल्लिकका अनुसार संविधानको सबै मूल्यमान्यतासँग सम्झौता अनुकूल नै रहनु अर्को महत्त्वपूर्ण पक्ष हो।
ठूला दलहरू के भन्छन्
मुख्य दलहरूका केही नेताले उक्त सम्झौताको वैधानिकताबारे प्रश्न उठाएका छन्।
नेकपा एमालेका अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री केपी ओलीले सरकारले जेन जी समूहसँग भएको सम्झौतालाई “कलाविहीन नाटक” को सङ्ज्ञा दिँदै त्यसको अस्वीकृत भइसकेको टिप्पणी गरे।
बिहीवार दिउँसो सम्पादकहरूसँगको अन्तरक्रियाका क्रममा उनले वर्तमान सरकारसँग त्यस्तो सम्झौता गर्ने म्यान्डेट कसले दियो भनेर प्रश्न गरे।
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जेन जी आन्दोलनका क्रममा भएको विध्वंसलाई आन्दोलनलाई मान्न नसकिने बताए।
“हामीले भन्दै आएको के हो भने भदौ २३ गते नवयुवाहरूले गरेको आन्दोलन र माग जायज थिए। त्यो दिनको गोलीकाण्ड पनि गलत भएको हामी ठान्छौँ। तर २४ गते सार्वजनिक, निजी, तथा व्यावसायिक सम्पत्तिमा भएका विध्वंसलाई आन्दोलन मान्न सकिन्नँ,” उनले भने।
डा महतका अनुसार चुनाव गराउन भनेर सरकार गठन भएकाले चुनावपछि जनताको म्यान्डेटप्राप्त प्रतिनिधिहरूले नै यावत् विषयको सम्बोधन गर्ने हैसियत राख्छन्।
“आगामी निर्वाचनपश्चात् आउने म्यान्डेटप्राप्त संसद्ले संवैधानिक, राजनीतिक सुधार वा अन्य राष्ट्रिय महत्त्वका विषयलाई सम्बोधन गर्ने नै छ,” उनले भने।
एमालेकै नेता महेश बर्तौला सम्झौताको वैधानिकतामा प्रश्न उठाउँछन्। “स्पष्ट शब्दमा भन्दा यो अनधिकृत सम्झौता हो र यसको कुनै वैधानिक हैसियत छैन, हुनु हुँदैन,” उनले भने। “अमूक समूहलाई जेन जीको छाता ओढाएर गरिएको यो सम्झौता युवाहरूकै भावनाविपरीत छ। बाँकी भाषा वा शब्दमा टिप्पणी गर्नुको अर्थ छैन।”
हालै विभिन्न दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले पनि उक्त सम्झौताको “धेरै वैधानिकता नरहेको” बताएको छ।
“चुनाव गर्नुपर्ने हुनाले सरकारलाई सायद सन्तुलन बनाइराख्न यो सम्झौता गर्न आवश्यक परेको होला। त्यो हदसम्म यसलाई हामीले धेरै नकारात्मक मानेका छैनौँ,” उक्त पार्टीका एक नेता अग्नि सापकोटाले भने।
“तर सरकारकै बारे प्रश्नहरू उठिरहेका बेला यस सम्झौताले भोलिका दिनमा धेरै अर्थ राख्ला जस्तो मलाई लाग्दैन।”
तर सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी सम्झौताको कानुनी हैसियत बलियो रहेको बताउँछन्।
“सुशीला कार्कीको सरकार नै कार्यकारी अधिकार प्रयोगका निम्ति गठन भएको हो। यस्तो करार सम्झौता कार्यकारी सरकारले गर्न सक्छ,” केसीले भने।
“यस सम्झौताले देशलाई कुनै भार दिएको छैन। संविधान संशोधनको कुरा गरिएको छ तर त्यो त यसअघि गठित सरकारले गर्छु भनेकै थियो। उसले गरेको भए अवस्था अर्कै हुने थियो।”
कार्यान्वयनबारे प्रश्न
जेन जी प्रतिनिधिहरूसँग भएको सम्झौतामा संविधानमा सुधार गर्नका लागि स्वतन्त्र विज्ञ, जेन जी र युवासहित सरोकारवालाहरूको सहभागिता रहने गरी एक उच्चस्तरीय ‘संविधान संशोधन सुझाव आयोग’ गठन गरिने उल्लेख छ।
त्यसबाहेक भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण तथा दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य, पूर्ण समानुपातिक समावेशिता, पारदर्शिताजस्ता विषय पनि त्यसमा समेटिएका छन्।
नेपालमा विगतमा भएका विविध सम्झौताहरूको कार्यान्वयनको अवस्था फितलो देखिँदा यस सम्झौताको बारे पनि प्रश्न उठेका छन्।
“निश्चय पनि यसको कार्यान्वयन चुनौतीपूर्ण छ। तर पहिलो कदम नटेकीकन गन्तव्य पुग्न सकिँदैन। अहिलेको सरकार तुलनात्मकरूपमा इमान्दार देखिन्छ,” मल्लिकले भने।
जेन जीका प्रतिनिधि पुरुषोत्तम यादव यसको कार्यान्वयनप्रति विश्वस्त रहेको बताउँछन्।
“हामी विश्वस्त छौँ। किनभने यो त युवा पुस्ताको लडाइँ हो। कुनै पक्ष वा पार्टीविरुद्ध होइन। दलका नेताहरूका छोराछोरीको भावना पनि त हो,” यादवले भने।
-सञ्जय ढकाल, बीबीसी न्यूज नेपाली


WRITE COMMENTS FOR THIS ARTICLE