प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था अत्यन्त घातक हुने आहुतिकाे चेतावनी
काठमाडौं – वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले नेपालजस्तो भौगोलिक र सांस्कृतिक रूपले विविधतायुक्त देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था अत्यन्त घातक हुने चेतावनी दिएका छन् ।
सोमबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा पार्टीको ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक गर्दै उनले नेपालको जटिल भूगोल र बहुल सांस्कृतिक पहिचानलाई समेट्न नसक्ने हुनाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गर्नु घातक साबित बताए ।
आहुतिले नेपालमा बारम्बार ठुला-ठुला सङ्घर्ष र बलिदानपछि स्थापित हुँदै आएका राज्यसत्ता र शासन प्रणालीहरू नेपाली विशेषताअनुरूप नभई सीमित वर्ग र समुदायको स्वार्थमा मात्र केन्द्रित भएको टिप्पणी गरे । पछिल्लो समय प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा जोडतोडले उठिरहेको सन्दर्भमा उनले भने, ‘यस्तो देशमा प्रत्यक्ष कार्यकारी आएमा जेलेन्स्की जस्ता पपुलिस्ट पात्रहरूको उदय निश्चित छ, जसले मुलुकलाई थप सङ्कटमा धकेल्नेछन् । त्यसैले यो प्रस्ताव कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।’
उनले नेपालमा हालसम्मका सबै राजनीतिक व्यवस्थाहरू असफल भइसकेको निष्कर्ष निकाल्दै नेपाली विशेषतामा आधारित नयाँ वैज्ञानिक समाजवादी कार्यक्रम अघि सारिएको बताए । उनले भने, ‘हामीले नयाँ राज्य संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, शक्ति बाँडफाँड तथा समग्र नीतिगत खाका स्पष्ट रूपमा प्रस्तुत गरेका छौँ ।’ वर्तमान राजनीतिक प्रणालीले श्रमिक, किसान, महिला, आदिवासी-जनजाति तथा अन्य उत्पीडित समुदायहरूको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्न पूर्णतः असफल भएको उनको आरोप छ ।
हाल नेपालमा कार्यान्वयनमा रहेको सङ्घीयता ‘पिरामिड’ शैलीको रहेको र यसले सीमित शासक वर्गलाई मात्र सत्ताको केन्द्रमा राख्ने तथा बहुसङ्ख्यक जनतालाई निरन्तर उत्पीडनमा पार्ने उनले बताए । यसको सट्टा समतलीय र सहमति-आधारित शासकीय संयन्त्रमार्फत हरेक समुदायलाई राज्य नेतृत्वमा पुग्ने अवसर सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।


WRITE COMMENTS FOR THIS ARTICLE