बुधबार, फाल्गुन १३, २०८२
Wednesday, February 25, 2026

कलाकारहरूको सक्रियताले चुनावी माहोललाई थप रोचक बनाउँदै

काठमाडौं । देशभर चुनावी सरगर्मी बढिरहेको छ । फागुन २१ को मिति नजिकिँदै जाँदा कलाकारलाई पनि चुनावी माहोलले छोएको छ । ‘हामी त देशका गहना हौँ’ भन्ने कलाकारहरू समेत यतिबेला पार्टीदेखि आफू नजिकका र आफ्नो क्षेत्रका उम्मेदवारलाई जिताउन चुनावी प्रचारमा देखिन थालेका छन् ।

कोही कलाकार वैचारिक आस्थाका कारण त कोही नाता सम्बन्ध र व्यक्तिगत सामीप्यका कारण गाउँ–गाउँ पुगेर भोट मागिरहेका छन् ।

चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ नेपाली कांग्रेस र कांग्रेसका उम्मेदवारको चुनाव प्रचारमा निकै सक्रिय छन् । नेपाली कांग्रेसका तर्फबाट सर्लाही–४ मा उम्मेदवार बनेका कांग्रेस सभापति गगन थापालाई जिताउन उनी २४ भन्दा बढी जिल्ला पुगिसकेका छन् ।

Shiva Shankar Rijal1
विभिन्न जिल्लामा पुगेर उनले गीत, कमेडी, प्यारोडीदेखि भाषणसम्म गरेर कांग्रेसका लागि भोट माग्ने गरेका छन् । उनले ४० भन्दा बढी निर्वाचन क्षेत्रका कांग्रेस उम्मेदवारहरूको लागि डिजिटल प्रचार सामग्री बनाएर पठाइसकेको बताए ।
‘म जन्मजातै कांग्रेस हुँ, नेविसंघको राजनीतिबाट काठमाडौँ छिरेको हुँ । कलाकार भएपछि पनि मैले आफ्नो पुस्तैनी आस्थालाई छोड्न नसकेको हो,’ रिजाल भन्छन्, ‘अरु बेला म मेला–महोत्सवमा व्यस्त हुन्छु, तर चुनावको बेला कांग्रेस जिताउन सधैँ खटिन्छु ।’
कलाकारहरू प्रचारमा देखिनुलाई म सामान्य मान्ने उनी अहिले ९० देखि ९५ प्रतिशत कलाकारहरू पार्टीमा खुलिरहेको बताउँछन् ।

गायिका प्रीति आले पनि चुनावी प्रचारमा देखिएकी छन् । उनी नेपाली कांग्रेसका तर्फबाट तनहुँ–१ का उम्मेदवार गोविन्द भट्टराईको प्रचारमा व्यस्त छिन् । प्रीति भट्टराईका लागि सांगीतिक प्रस्तुति दिँदै भोट मागिरहेकी छन् । तर आफू कुनै पार्टीको सदस्य नरहेको उनको भनाइ छ ।

Preeti Ale

‘मेरो श्रीमान् कांग्रेसको लुम्बिनी प्रदेश सदस्य हुनुहुन्छ । उहाँको कारण पनि सहयोग गरेकी हुँ,’ प्रीति भन्छिन्, ‘गोविन्द दाइ मेरो आफ्नै गृहजिल्लाको पनि हुनुहुन्छ र उहाँप्रति मानिसहरूको राम्रो आशा देखिएकाले मैले गीत गाएर सहयोग गरेकी हुँ ।’

नेपाली कांग्रेसमा मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि कलाकार भोट मागिरहेका छन् । सानोपर्दाबाट चर्चामा आएका कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अभियानमै छन् । उनी झापा ५ का उम्मेदवार बालेन शाहसँगै देश दौडाहामा छन् । फिल्म ‘झरीपछिको इन्द्रेणी’को प्रदर्शन भइरहँदा उनी चुनावी अभियानमा गाउँ-गाउँ पुगिरेहका छन् ।

कमेडियन हिमेश पन्त पनि रास्वपाका उम्मेदवारहरूको पक्षमा भक्तपुर र चितवनमा सक्रिय छन् । गत निर्वाचनमा धादिङबाट उम्मेदवार बनेका उनले यसपटक टिकट नपाए पनि पार्टीका लागि समानुपातिक भोट मागिरहेका छन् । कलाकार समाजको ऐना मात्र होइन, एउटा सचेत नागरिक पनि भएकोले उम्मेदवारलाई सघाउनु राम्रो भएको बताउँछन् पन्त ।

Himesh Panta

‘पहिले कलाकारहरू फ्यान बेस बिग्रिएला कि भनेर डराउँथे, तर अहिले समय फेरिएको छ,’ पन्त भन्छन्, ‘म अहिले डिजिटल प्लेटफर्म र पडकास्ट मार्फत जनतालाई सुसूचित गराउँदै सक्षम उम्मेदवारलाई सपोर्ट गरिरहेको छु ।’

यसैगरी, अभिनेत्री रेजिना उप्रेती धादिङ–१ की रास्वपा उम्मेदवार आशिका तामाङको घरदैलो कार्यक्रममा सहभागी भएर भोट मागिरहेकी छन् ।

Rejina Uprety with Ashika Tamang

नेकपा एमालेको प्रचारमा पनि कलाकारहरू सक्रिय छन् । अभिनेता प्रवीण खतिवडा मोरङ–१ मा आफ्ना बुबा तथा एमाले उम्मेदवार घनश्याम खतिवडाको प्रचारमा खटिएका छन् । आफू अभिनित फिल्म ‘शिवांश’ रिलिज हुँदै गर्दा पनि उनी फिल्म छोडेर बुबालाई सघाउन गाउँ पुगेका हुन् ।

‘बुवा चुनावमा उठ्नुभएको छ, त्यसैले प्रचारमा आएको हुँ,’ उनले आफ्नो अनुभव सुनाए, ‘यो एउटा खेल जस्तै रहेछ, जहाँ पब्लिक सेन्टिमेन्ट बुझ्ने राम्रो अवसर मिलेको छ ।’ यो अनुभवले फिल्ममा पनि काम लाग्ने उनी सुनाउँछन् ।

Prabin Khatiwada

एमालेकै लागि गायक पुरुषोत्तम भण्डारी पाल्पामा विष्णु पौडेलको पक्षमा र गोविन्द मधुर आचार्य दाङमा शंकर पोखरेलको प्रचारमा रहेको गायक वैकुण्ठ महतले बताए । महतले भने, ‘म एमाले हो, मलाई एमाले मनपर्छ’ भन्ने गीतमार्फत एमालेको माहोल तताइरहेका छन् ।

‘म कुनै दबाबमा परेर प्रचारमा हिँडेको होइन । म विशेषगरी गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा सक्रिय छु । उहाँको भिजन र इमानदारितालाई नजिकबाट हेरेकाले म खुलेर लागेको हुँ,’ महत भन्छन्, ‘कलाकारको पनि व्यक्तिगत राजनीतिक चेत र अधिकार हुन्छ ।’

प्रत्यक्ष मैदानमा मात्र नभई सामाजिक सञ्जाल र सांगीतिक कोसेली मार्फत पनि कलाकारहरू सक्रिय छन् । राधिका हमाल, दुर्गा रायमाझी, विमलराज क्षेत्री र हेमन्त बुढाथोकी लगायत कलाकारहरू कांग्रेसका चुनावी गीत र भिडियोमार्फत प्रचार गरिरहेका छन् ।

Artist Election Campaign

त्यस्तै एमालेका लागि कुशल बेलवासे, बाबुराम पन्थी, प्रिया भण्डारी, लक्ष्मी नेपाली, सुजन लम्साल र पूर्णकला बीसी सांगीतिक मोर्चामा अगाडि देखिएका छन्, उनीहरूले पनि एमालेको चुनावी गीत गाएका छन् ।

निर्वाचनको यो महाकुम्भमा कलाकारहरूको यो सक्रियताले चुनावी माहोललाई थप रोचक बनाएको छ । केही कलाकारले राजनीतिक सक्रियतालाई पेसागत मर्यादा बाहिर भनिरहँदा कतिपय कलाकारले भने देशको नेतृत्व छान्ने प्रक्रियामा सहभागी हुन पाउनु आफ्नो अधिकार भएको बताउँदै आएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x