बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले परम्परागत चिकित्सा पद्धति वैकल्पिक नभई हजारौँ वर्षदेखि चल्दै आएको मूलधारको उपचार प्रणाली भएको बताएकी छन् । विश्व ध्यान दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै मन्त्री गौतमले योग, ध्यान, आयुर्वेदलगायत झारफुक, धामी–झाँक्रीजस्ता पद्धतिहरूलाई पहिले वैकल्पिक उपचारका रूपमा बुझ्ने गरिएको भएपनि अहिले तिनलाई परम्परागत चिकित्सा पद्धति भनेर मान्यता दिन थालिएको उल्लेख गरिन् ।

उनले भनिन्, ‘अहिले विश्वमा नै योग ध्यान आयुर्वेदलगायतका हाम्रा विभिन्न विधाहरु छन् । जसमा झारफुक, धामी–झाँक्रीजस्ता लगायतका जसलाई पहिला वैकल्पिक भन्थ्यौं । यी पद्धतिहरू वैकल्पिक होइनन्, हजारौँ वर्षदेखि चलिआएका मूलधारका विषयहरू हुन् । त्यसैले अहिले हामी यसलाई परम्परागत चिकित्सा पद्धति भन्छौं ।’

यसअघि परम्परागत चिकित्सा पद्धतिको स्पष्ट नेतृत्व कुनै मन्त्रालयले नगरेको अवस्थामा अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसलाई महत्वपूर्ण अंगका रूपमा अघि बढाएको मन्त्री गौतमको भनाइ थियो ।मन्त्री गौतमका अनुसार परम्परागत चिकित्सा पद्धतिमा बजेट विनियोजन भइसकेको छ र हजारौँ स्वास्थ्यकर्मीहरू यस क्षेत्रमा कार्यरत छन् । साथै, देशभर सयौँको संख्यामा परम्परागत चिकित्सा सेवा प्रदान गर्ने चिकित्सालयहरू सञ्चालनमा रहेका छन् ।

उनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि आयुर्वेदलाई मूलधारको स्वास्थ्य सेवा प्रणालीमा समावेश गर्नुपर्ने आवश्यकता औंल्याइसकेको जानकारी दिइन् ।उनले भनिन्, ‘परम्परागत चिकित्सा पद्धतिमा बजेट विनियोजन भएको छ । हजारौं हाम्रा स्वास्थ्यकर्मीहरु कार्यरत छन् । सयौंको संख्यामा हाम्रा चिकित्सालयहरु छन् । अहिले विश्व स्वास्थ्य संगठनले आयुर्वेदलाई मूलधारको स्वास्थ्य सेवा प्रणालीमा ल्याउनुपर्छ भनेर भनिसकेको छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x