बुधबार, कार्तिक १९, २०८२
Wednesday, November 5, 2025

नेपालले अमेरिकालाई २ सय ७२ रनको चुनाैति दियाे

आइसिसी विश्वकप लिग–२ एकदिवसीय सिरिजमा नेपालले अमेरिकालाई २ सय ७२ रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपाल ४९.५ ओभरमा २ सय ७१ रनमा अलआउट भयो ।

नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट इनिङ खेले । उनले ६७ बलमा तीन छक्का र दुई चौकासहित ७५ रनको इनिङ खेले । ओडिआईमा दीपेन्द्रको यो पाँचौं अर्धशतक हो ।

त्यस्तै, तल्लोक्रममा करण केसीले उत्कृष्ट ब्याटिङ गरे । उनले ३१ बलमा तीन छक्का र दुई चौकासहित ४९ रनको इनिङ खेले ।

यस्तै, ओपनर कुशल भुर्तेलले ६५ बलमा दुई छक्का र दुई चौकासहित ४७ रनको पारी खेले । कुशलले भीम सार्कीसँग दोस्रो विकेट लागि ८६ रनको साझेदारी गरे ।

यस खेलमा भीमले ५८ बलमा चार चौकासहित ४३ रन बनाए ।  त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ४६ बलमा दुई चौकासहित ३६ रन जोडे । उनी र उपकप्तान ऐरीबीच पाँचौं विकेटका लागि ८२ बलमा ८९ रनको साझेदारी बन्यो ।

अमेरिकाका लागि हरमित सिंहले तीन, सौरभ नेत्रावल्कर र नोशतोश केन्जिङ्गेले दुई/दुई विकेट लिए ।

जारी श्रृखंलामा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले सिरिजको पहिलो र दोस्रो खेलमा क्रमशः अमेरिका र घरेलु यूएईसँग हार बेहोरेको थियो ।

नेपालले अमेरिकाविरुद्ध १ सय ६ रन र तथा यूएईसँग ५ विकेटको हार बेहोरेको हो । नेपाली टिम शनिबारको खेलमा अमेरिकालाई हराएर उत्कृष्ट पुनरागमन गर्ने सोचमा छ । त्यसका लागि नेपालले सानदार अलराउन्ड प्रदर्शन गर्न अनिवार्य छ ।

यस श्रृंखलामा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै विधामा संघर्ष गरिरहेको छ । पहिलो खेलमा अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाल ३९.१ ओभरमा १ सय ५६ रनमै अलआउट भयो । उक्त खेलमा कुनै पनि नेपाली ब्याटरले अर्धशतकीय इनिङ खेल्न सकेनन् ।

दोस्रो खेलमा यूएईविरुद्ध केही सुधारिएको ब्याटिङ गरे पनि नेपालले पर्याप्त रन बनाउन सकेन । उक्त खेलमा नेपाल २३३ रनमा अलआउट भयो । नेपाल आज उत्कृष्ट कमब्याक गर्दै जित निकाल्ने योजनामा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x