मङ्लबार, असार २, २०८३
Tuesday, June 16, 2026

मुख्यसचिव सुमनराज अर्याल अवकाशमा जाँदै

काठमाडौं- नेपाल सरकारको प्रशासनिक नेतृत्वमा यही असार महिनाभित्र ठूलो फेरबदल हुने भएको छ। मुख्यसचिव सुमनराज अर्यालसहित ६ जना सचिव अनिवार्य अवकाशमा जाने भएपछि संघीय प्रशासनको नेतृत्व चयनलाई लिएर सिंहदरबारमा चहलपहल बढेको छ।

मुख्यसचिव अर्याल ५८ वर्षे उमेरहदका कारण असार २५ गते सेवा निवृत्त हुँदैछन्। करिब आठ महिनाअघि मुख्यसचिवको जिम्मेवारी सम्हालेका उनीसँगै विभिन्न मन्त्रालय तथा संवैधानिक निकायमा कार्यरत पाँच सचिवले पनि उमेरहद वा पाँच वर्षे सचिव सेवा अवधि पूरा गर्दै अवकाश पाउने भएका छन्।

अवकाश हुने सचिवहरूमा नेपाल ट्रष्ट कार्यालयमा कार्यरत चिरञ्जीवी चटौत (असार १४), विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य (असार १६), निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटी (असार २०), प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्कर कर्ण (असार २३) तथा विशेष दरबन्दीमा रहेका खगेन्द्रप्रसाद नेपाल (असार २७) रहेका छन्।

मुख्यसचिवको दौडमा को-को

मुख्यसचिव अर्यालको अवकाशसँगै नयाँ मुख्यसचिव नियुक्तिका लागि वरिष्ठ सचिवहरूबीच प्रतिस्पर्धा तीव्र बनेको छ। प्रशासनिक वृत्तमा हाल गृह, अर्थ, ऊर्जा, संघीय मामिला, कृषि लगायत मन्त्रालयमा कार्यरत वरिष्ठ सचिवहरूको नाम चर्चामा रहेको स्रोतहरू बताउँछन्।

सरकारले वरिष्ठता, कार्यसम्पादन, अनुभव र बाँकी सेवा अवधिलाई आधार बनाएर नयाँ मुख्यसचिव चयन गर्ने तयारी गरेको बताइएको छ। मन्त्रिपरिषद्को आगामी बैठकहरूमा यस विषयमा छलफल हुन सक्ने स्रोतको भनाइ छ।

एकै महिनामा ६ सचिव बाहिरिने भएपछि विभिन्न मन्त्रालय, आयोग तथा निकायमा सचिवस्तरका रिक्त पदहरू पूर्ति गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यसका लागि सहसचिवहरूलाई सचिवमा बढुवा गर्ने प्रक्रिया समेत तीव्र हुने अपेक्षा गरिएको प्रशासनिक नेतृत्व परिवर्तनलाई संघीय प्रशासन सुधार, सेवा प्रवाहको प्रभावकारिता तथा सुशासनको दृष्टिकोणबाट समेत महत्वपूर्ण रूपमा हेरिएको छ। नयाँ नेतृत्वले कर्मचारी प्रशासनमा देखिएका चुनौती, अन्तरमन्त्रालय समन्वय तथा विकास आयोजनाको कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सिंहदरबारमा अहिले मुख्यसचिव चयनसँगै सचिवहरूको बढुवा र सरुवालाई लिएर विभिन्न तहमा छलफल र लबिङसमेत बढ्न थालेको छ। आगामी केही साताभित्र नेपाल सरकारको प्रशासनिक नेतृत्वको नयाँ चित्र सार्वजनिक हुने निश्चित देखिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x