बिहिबार, बैशाख २४, २०८३
Thursday, May 7, 2026

मुख्यसचिव अर्यालले पद र शक्तिको दुरूपयाेग गर्दै छोरी अस्मितालाई सिधै नियुक्ति दिलाए

काठमाडौं– एकनारायण अर्यालले आफू मुख्यसचिव भएसँगै छोरी डा. अस्मिता अर्याललाई नेपाल वायुसेवा निगममा ‘कर्पोरेसन डाक्टर’मा नियुक्ति दिलाएको खुलासा भएको छ।

मुख्यसचिव अर्यालले दबाब र प्रभावमा नै छोरीलाई वायुसेवा निगमको सेवामा प्रवेश गराएको निगमकै कर्मचारीहरू बताउँछन्। अर्याल २०८१ भदौ १३ गते मुख्यसचिवमा नियुक्त भएका थिए। त्यससँगै २०८१ भदौमा नै छोरी अस्मितालाई उनले निगम प्रवेश गराएका थिए।

एक वर्षको करार सम्झौतामा वायुसेवा निगममा नियुक्त हुने ‘कर्पोरेसन डाक्टर’ पदमा अस्मिता अर्यालले दोस्रोपटक सम्झौता थपिसकेकी छिन्। ‘सेटिङ’मा भएको हुँदा यसपटक त उनको अवधि सिधै दुई वर्ष बढाइएको छ। दोस्रो पत्रमा उनको समय २०८४ असारसम्म थप गरिएको छ। वायुसेवा निगममा पहिले टेन्डरमार्फत अस्पतालहरूसँग सम्झौता गरी गराइने काम अहिले ठाडो नियुक्ति हुन थालेको हो।

संघीय निजामती विधेयक पारित गर्ने विषयमा आफ्नो छबि धुमिल बनाएका मुख्यसचिव अर्यालले आफ्नो पद र शक्तिको अन्यत्र पनि गलत प्रयोग गरेको देखिएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले मुख्यसचिवमा नियुक्त गरेका अर्याल निजी स्वार्थको कामका लागि लागिपर्ने छबिकै कारण आलोचित हुने गरेका छन्।

मुख्यसचिवकी छोरी डा. अस्मिता अर्याल नेपाल वायुसेवा निगमको सेवामा प्रवेश गरेको विषय निगमकै आधिकारिक प्रकाशन ‘आकाश भैरव’ पत्रिकामा स्पष्टरुपमा उल्लेख छ। निगम स्रोतका अनुसार अस्मिताको नियुक्ति कुनै पनि छनोट प्रक्रियाबिना नै गरिएको हो।

मुख्यसचिव अर्यालकी छोरीलाई निगममा प्रवेश गराउनमा नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीसँगको ‘सेटिङ’ ले काम गरेको देखिएको छ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निगमका कार्यकारी अध्यक्ष अधिकारीसँग स्पष्टीकरण माग्ने तयारी गरेसँगै अधिकारीले ‘सरकार मिलाउने’ प्रयत्न थालेका थिए। अन्तत: मन्त्री पाण्डेले स्पष्टीकरण सोधेकै दिन उनले मुख्यसचिवकी छोरीलाई निगमको सेवामा प्रवेश गराए। त्यसपछि ११ बुँदे स्पष्टीकरणका विषय पनि यत्तिकै सामसुम भएको थियो।

आफूमाथि विभिन्न अनियमितताको आरोप लागेका बेला निगम कार्यकारी अध्यक्ष अधिकारीले मुख्यसचिव अर्यालसँग निकटता बढाउँदै आफ्नो पद जोगाउने प्रयास गरेका थिए। जसमा उनी सफलसमेत भए। अधिकारी आउने कात्तिक १० गतेबाट अवकाशमा जाँदै छन्।

निगमभित्रका केही कर्मचारीका अनुसार मुख्यसचिवको छोरीलाई सिधै नियुक्त गरेर कार्यकारी अध्यक्ष अधिकारीले सरकारमा आफ्नो आलोचना मत्थर पार्ने प्रयास गरेका थिए। त्यही कारण मन्त्रालयदेखि शीर्ष तहसम्म उनको विभिन्न काण्डमा मौनता देखियो।

अस्मिता अर्यालको नियुक्तिबारे नेपाल वायुसेवा निगमले हालसम्म कुनै औपचारिक जानकारीसमेत सार्वजनिक गरेको छैन। निगमको आधिकारिक प्रकाशन ‘आकाश भैरव’मा प्रकाशित तथ्यांकले अस्मिताको सेवा आरम्भ मिति र पद दुवै पुष्टि गरेको छ। उनी नियुक्त भएको महिनामा नै नियुक्तिबारे सार्वजनिक गर्नुपर्ने विवरण सार्वजनिक भएको थिएन।

प्रशासनिक नैतिकता र पारदर्शितामा प्रश्न उठाउने यस्ता नियुक्तिले निगमभित्र पुनः राजनीतिक पहुँच र सिफारिसको प्रभाव बलियो रहेको पुष्टि गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x