भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनकाे पहिलाे शुभकामना ट्रम्पकाे

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ७५औं जन्मदिन आज मनाउदैछन् । मोदीको जन्म सन् १९५० सेप्टेम्बर १७ मा भारतको गुजराती परिवारमा भएको थियो ।
मोदीको जन्मदिनको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो जन्मदिनको शुभकामना दिए । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा मोदीसँग कुराकानी गरेको बताए ।
ट्रम्पले लेखे- ‘भर्खरै मेरो साथी, प्रधानमन्त्री नरेन्द्र मोदीसँग अद्भुत फोन वार्ता भयो । मैले उनलाई जन्मदिनको धेरै धेरै शुभकामना दिएँ । उनले अद्भुत काम गरिरहेका छन् । नरेन्द्र, रूस र युक्रेन बीचको युद्ध अन्त्य गर्न तपाईंको समर्थनको लागि धन्यवाद ।’
ट्रम्पको पोष्टमा जवाफ दिदै मोदीले लेखे- ‘मेरो साथी, राष्ट्रपति ट्रम्प, तपाईंको फोन कलको लागि धन्यवाद । तपाईं जस्तै, म पनि भारत र संयुक्त राज्य अमेरिका बीचको व्यापक र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पुर्याउन पूर्ण रूपमा प्रतिबद्ध छु । हामी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फ तपाईंको पहललाई समर्थन गर्छौं ।’
अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएपछि मोदी र ट्रम्पबीचको यो पहिलो कुराकानी हो । ट्रम्पसँग मोदीको अन्तिम फोन वार्ता जुन १७ मा लगभग ३५ मिनेट चलेको थियो । अगस्ट २७ मा, जर्मन अखबार फ्र्याङ्कफर्टर अल्जेमाइन जेइटुङ (एफएजेड) ले मोदीले यस बीचमा ट्रम्पसँग फोनमा कुरा गर्न चार पटक अस्वीकार गरेको दाबि गरेको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE