बागमती प्रदेशसभाका सभामुख पाठकले राजीनामा बुझाए

मकवानपुर – बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा बुझाएका छन् । जेनजीहरूको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन ।
उनले यसअघि नै राजीनामा घोषणा गरे पनि कानुनी प्रक्रिया पुरा गर्न अनुकुल नभएको उपसभामुख अप्सरा चापागाईंलाई सम्बाेधन गरिएकाे पत्रमा उल्लेख गरेका छन् ।
“गत भाद्र २३ गते जेन जी को भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरे पछि म अत्यन्त भावविव्हल भएँ,” पाठकले राजीनामा पत्रमा लेखेका छन्, “राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तर आत्ममा लाग्यो र भाद्र २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरेँ । तर प्राविधिक कारणले कानुनी प्रकृया पुरा गर्न अनुकूल भएन । आज नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदवाट राजीनामा गरेको छु।”
पाठक राप्रपाबाट बागमतीको सभामुख बनेका हुन् ।
WRITE COMMENTS FOR THIS ARTICLE