बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

देश बनाउन कोही न कोही, ‘करिस्मेटिक–लिडर’ यहाँ आउनेछ – अमृत गुरुङ

करिब तीन दशकयता पृथक् नाम र पहिचानमा निरन्तर सुनिँदै आएको नेपथ्य (लोक–रक ब्यान्ड)का प्रमुख गायक अमृत गुरुङ पोखरा बजारनजिकै कालाबाङ गाउँ, मूलपानी गोठका बासिन्दा हुन्। ग्रामीण जीवन, खेतीपाती र गाईबस्तुको भिन्न जगत्‌मा बसेर संगीत साधना गर्न रुचाउने अमृत यो पटक कालाबाङबाट उठेर लन्डनको वेम्बली एरिना पुगिसकेका छन्। नेपथ्य ब्यान्डले शनिबार वेम्बलीमा पहिलो सांगितीक प्रस्तुति दिँदै छ। यसपछि अमृतसहितको सांगितीक टोली डेनमार्क, माल्टा, पोर्चुगल, बेल्जियमलगायत मुलुकमा लिएर पुग्नेछ।सांगितीक एल्बम ‘नेपथ्य’ सँगै जन्मिएको ब्यान्डले बितेको ३२ वर्षमा कमाएको नाम–पहिचान तथा लोक–रकको अवधारणामाथि पत्रकार गिरीश गिरीले लेखेको ‘नेपथ्य: लोकप्रिय यात्राको अन्तरङ्ग’ कृति चर्चामा छ। कृति जन्मिनु पछाडिका कथावाचक तथा गायक अमृतसँग जीवन, जगत् र भोगाइबारेकाे सम्वाद:

उता कालाबाङ, मूलपानी गोठतिरको खबर के छ अमृत दाइ?
मूलपानी गोठ शान्त छ। एउटा भैँसी भर्खरै ब्यायो, अरू दुईवटा भदौभित्र ब्याउने छन्। केही बिराला, कुकुर, गाई, राँगा पालेर बसेको छु। धान रोपाईं भर्खरै सकियो। शायद बाँचुन्जेल मेरो दैनिकी यस्तै नै होला। तर दुःखको कुरा भाइ, गोठ वरपर सबै बाँझो छ। हाम्रो मात्रै सुखम्‌दु:खम् खेती गरिरहेका छौँ, अरूका बारी बाँझै छन्, गाउँ रित्तो छ। एउटा घरमा, एउटा गाउँमा लामो समय मान्छे नबसेपछि र त्यसलाई नस्याहारेपछि के हुन्छ र? सबै उजाड छ।

पछिल्लो समय तपाईं, सम्पादक नारायण वाग्ले, कार्टुनिस्ट राजेश केसी, लेखक केदार शर्मा गाउँ फर्किएका छन् खेतबारीमा। तपाईंहरुको यो काम लहड पो हो कि? के भन्नुहुन्छ?
शुरूशुरूमा त मलाई धेरैले पत्याएनन्। गाउँबाट पोखरा काठमाडौँ हुँदै सिंगापुर, मलाया जाने मान्छेबीच यो गाउँको गोठमा फर्किएको छ, खुस्किएछ भन्थे धेरैले। यो २/४ दिनको लहड भन्थे धेरैले। तर, १५ वर्षयता लगातार गाउँगोठमै बसेर काम गरेको देख्दा अहिले पत्याउन थालेका छन्। अब चैँ अमृत गाउँमा फर्कियो भन्न थालेका छन्। मुख्य कुरा कसले के भने, के भन्दैछन् भनेर अरूको कुरा सुन्नेतिर म लागिन। म खुशी हुनुपर्‍यो भन्ने मलाई लाग्छ। किनभने मलाई लाग्छ— सुख चैँ किनेर पाइँदो रहेछ, खुशी चैँ आफै हुनुपर्ने रहेछ। उसोभए म किन खुशी नहुने? त्यो एकान्तमा बसेर म रम्छु भने, म दिन गएकै थाहा पाउँदिन भने, म चराहरुको संगीत सुनेरै बसिरहेको हुन्छु भने, खोलाको कलकल सुनेर बसिरहेको हुन्छु भने, जनावरहरूको प्रितीमा सम्मोहित भएको छु भने मलाई अरू कुराहरू नभए पनि केही फरक पर्दैन भन्ने लाग्छ भाइ।

भाग्य हो कि संयोग? हिजोसम्म मूलपानी गोठमा बसेर संगीतको रियाज गरिरहनुभएको तपाई भोली लन्डनको वेम्बली एरिना पुग्दै हुनुहुन्छ र, पर्सी हजारौँ दर्शक–श्रोतासामु गाउनुहुनेछ। यो आखिरमा के होला?
संयोग र भाग्य दुवै कुरा हो। किनभने मैले गीत गाएर यसरी संसार घुमौला भन्ने कहिल्यै सोचेको थिइन। जुनबेलामा गीत गाउने कुरालाई लिएर पारिवारिक असन्तुष्टि हुन्थ्यो, बाउ–छोराबीच अन्तर्द्वन्द्व हुन्थ्यो, त्योबेला संगीतकै भरमा यसरी संसार घुमौला भन्ने थिएन, छँदै थिएन। म खुशी हुन्छु होला, तर यसरी संसार घुमौला भन्ने कदाचित थिएन। यसकारण यो संयोग र भाग्य दुवै हो, यो मेरो र नेपथ्य ब्यान्डको सौभाग्य हो।

तपाईसँग गाउँगोठदेखि वेम्बलीको यात्रा गर्न पाउने संयोग मात्रै होइन कि देशभित्रै एकदमै घुमिरहने र लोकभाका, गेडा टिपिरहने स्वभाव छ। यो तपाईको स्वभावभन्दा बढी गोडामा रहेको चक्रको कमाल हो कि? 
मलाई संगीत सुन्न, कलाकार भेट्न र घुम्न खुवै मन पर्छ। के लाग्छ भने नजरले देखेको चिज नजरमा रहिबस्छ। मैले जिन्दगीमा केही सिनेमा हेरेँ होला, पुस्तक पढेँ होला, ती कुरा राम्रा भए पनि मैले बिर्सिएँ। तर, मैँले गरेको यात्रा र भेटेका मान्छे सधैँ सम्झनामा हुन्छन्, म सम्झिबस्छु। यात्राले मलाई एक किसिमको आनन्द दिन्छ भाइ, मेडिटेसन एक किसिमको? आफैलाई सन्तुष्ट पार्ने, मनोबाद गर्ने र एकांकीपन समय हुन्छ त्योबेला। त्यहाँका स्थानीय कलाकारले गाएका, संगीत भरेका गीत सुन्न पाए झनै गजब हुन्छन्। तर, सधै त्यस्तो हुँदैन। एकपटक ढोरपाटन, रुकुम, मैकोट, टक्सेरा एरियामा ‘शिरफूल’ भाका खोज्न गएका थियौँ, तर जति खोजे पनि यो भाका गाउने एउटै मान्छे फेला परेन। द्वन्द्वको धङधङी थियो त्योबला, मान्छे बसाइँ सरेर बाहिर गइसकेका थिए। अनि, गाउँबाट फर्केर सुनिए–बुझिएअनुसार आफै ‘शिरफूल’ भाका कथ्यौँ र, गायौँ पनि।

आफै यसरी लोकभाका, गेडा खोजकर्ता भएर गाउँघर घुमिरहनुभएको हुन्छ। यो लोकगीत भनेको कसको हो? जस्तो, तपाईंले संकलन गरेकै केही शब्द, भाकामा पनि तेरो र मेरो भन्ने बहस चल्ने गरेको छ। आखिरमा लोकगीत, भाका कसको हो त?  
लोकगीत भनेको जुन भाषामा, जुन समुदायले जुन तरिकाबाट गाइयो, मेरो बिचारमा त्यो गीत उनैको हो। त्यसलाई परिष्कृत गर्दैमा त्यो अर्कैको सिर्जना भन्न मिल्दैन। लोकगीतको गजबको विशेषता के हुने रहेछ भने एउटा देउराली काटेर अर्को उपत्यकामा छिरेपछि, एउटा नदी तरेर अर्को पहाडमा उक्लिएपछि त्यही एउटा धुन (ट्युन)मा केही भिन्नता हुने रहेछ। अलिकति लवज फरक, शब्दमै फरक र अलिकति आफ्नोपना हालेर लोकगीतलाई मान्छेले आफ्नै बनाउने रहेछ। गीतले ट्राभल गर्ने रहेछ, यात्रामा लोकगीत! श्रुति परम्परामा चल्ने लोकगीत पूर्वबाट यात्रामा निस्केर कर्णाली पुग्दा अर्कै हुनेरहेछ। यसकारण लोकगीतलाई यो मेरै हो भनेर कतिपय कलाकारले दाबी गर्नुहुन्छ, तर म चैँ गर्दैन। म के भन्छु भने मैले जुन ठाउँबाट संकलन गरेर लिएर आएँ, त्यो गीत त उनैको हो। मैले त गाइदिएको मात्रै हो, म माध्यम मात्रै हो।

पत्रकार गिरीश गिरीले लेखेको हालै प्रकाशित ‘नेपथ्य: लोकप्रिय यात्राको अन्तरङ्ग’ पुस्तकमा पनि तपाईंले टिपेका सुनिमाया, सालैजो, यानीमाया, रेलिमाइ, नैनताल, ठाडोभाका, हाक्पारे, शिरफूल, सिंगारु आदि भाकाको चर्चा छ। यसरी लोकगेडा, भाका टिपिन कति बाँकी छ? खोजिन कति बाँकी छ?
मेरो बिचारमा अपवादको रूपमा भिन्नै केही भयो/भएछ भने बेग्लै कुरा हो। प्राय चिज ल्याउने जति ल्याइसके, पुस्तकमा वा दस्ताबेजमा लेखिने काम भयो होला। तर, व्यवहारमा र प्राक्टिकल अर्थमा गाएर हिँड्ने वा गाउने काम त्यति भएको छैन। विशेषगरी द्वन्द्वका बेलामा गाउँमा एउटा यस्तो जमात शहरतिर विस्थापित भयो, त्यो बेलामा लोकसंगीतको श्रुति परम्पराबाट सिक्ने–सिकाउने कुरासमेत एकैपटक विस्थापित भइगए। भनेपछि अर्को एउटा जेनेरेसनले त्यो सुन्न–सुनाउनै पाएन। यो ‘ग्याप’ चैँ अब कहिल्यै पनि पूर्ति हुन्छ जस्तो मलाई लाग्दैन।

लोकभाका, लोक–रकको प्रयोग हुँदै नेपथ्यका आफ्नै गीत छँदाछँदै ‘जंगी निशान हाम्रो’, ‘गाउँ गाउँबाट उठ’ जस्ता गीत नेपथ्यले किन छनोटमा पारेको हो? राष्ट्रबादी भाव जगाउन वा अझ बढी प्रख्याति खोज्न?  
‘रातो र चन्द्र सूर्य’को सन्दर्भमा कवि रिमाल (गोपालप्रसाद)ले जुन प्रकारले यो गीत लेख्नुभएको छ र, अम्बर (गुरुङ) दाइले कम्पोज गर्नुभएको छ– यो बच्चैदेखि सुनेको र गाएको गीत हो। कस्तो भने यो हाम्रो गीत हो, हामी नेपालीको गीत हो भन्ने लागिरहन्थ्यो। अनि जुनबेला द्वन्द्वले जकडेको, द्वन्द्वको दोहोरो मारमा नेपाली समाज चेपिएका बेला हामीले ‘शान्तिका लागि शिक्षा’ भन्ने कार्यक्रम गर्‍यौँ, त्योबेला राष्ट्रिय गीत चाहियो नै। स्वदेश गान भनेर अरू गीत बजिरहेका बेला हामीले रिमालको ‘रातो र चन्द्र सूर्य’ र श्याम तमोटको ‘गाउँ–गाउँबाट उठ’ छानेका थियौँ। अर्को ‘पत्थर पनि पगाली यहाँ पिरती लाइन्छ’ पनि गाएका थियौँ।

अरूभन्दा पनि यो देश जति तिम्रो हो, त्यति हाम्रो पनि हो भन्ने अर्थमा हामीले यी गीत गाएका हौँ। हो, रातो र चन्द्र सूर्य गीत आएपछि अम्बर दाइले फोन गरेर गाली पनि गर्नुभयो– यो के गाको भनेर? त्यो चैँ हृदयबाट मनन गरेर गाएको हो। मैले पनि ‘यो राष्ट्रिय गीत हो दाइ, तपाईंले गाइसक्नुभयो। सबैले गाए, अब मैले गाएँ। तपाईंले जे भने पनि भन्नुस्’ भनेर अम्बर दाइलाई जवाफ दिएको थिएँ।

मञ्चहरूमा गएर सामुका हजारौँ दर्शक–श्रोतालाई उफार्दै, सकारात्मक बन्ने आग्रह गर्दै र सकेसम्म देश फर्किहाल, गाउँ फर्किहाल भन्दै गीत गाइरहनुभएको हुन्छ। ठीक विपरीत, यो देशको सामाजिक, राजनीतिक अवस्था र निराशाजनक चित्र भने दिक्कलाग्दो छ नै। अन्तर्हृदयबाट चैँ हाम्रो समाजमा र राजनीतिमा ठीक भइरहेको छैन भन्ने लाग्दैन? 
साँच्चै आत्मालाई साक्षी राखेर भन्ने हो भने यहाँ ठीक भइरहेको छैन, ठीक छैन। हुनुपर्ने के, भएको के भन्ने अवस्था देखिएको छ। सोचेको एउटा, हुन्छ अर्को। पछिल्लो बेलामा, मोटर गुडेर र घर धेरै बनेर देश बनेको छ भन्ने सोचाइमा हामी गयौँ। युवा विदेश गएको कुरामा हामी दुःखित हुन्छौँ। यहाँ काम छैन त बाहिर नगएर के गर्ने? खानुपरेन? बच्चाबच्ची पाल्नुपरेन? मान्छेको आयु कति? मान्छेले कर्म गर्ने समय कति? नेपालमा धेरै लडाइँ/आन्दोलन भयो, यसबाट परिवर्तन पनि आयो। तर, हामीले सोचेको नेपाल यस्तो हो र? देश बनाउने कुरा गर्छौ, तर यहाँ आ–आफ्नो पार्टी बनाउने काम मात्रै भइरहेछ। तेरो पार्टी, मेरो पार्टी मात्रै बनाउन लागिएको छ। बनाउनुपर्ने त देश होइन र? दुःख लाग्छ, तैपनि आशा भने छँदै छ। सही नेतृत्व पाएमा एउटा पुस्ता अर्थात् १० वर्षकै अवधिमा देश बन्न सक्छ भन्ने उदाहरण अरुतिर देखिएकै छ। भलै मैले मेरो पालामा देख्न पाउँछु–पाउँदिन, एकदिन अवश्य बन्नेछ यो देश भन्ने लाग्छ। देश बनाउन कोही न कोही, ‘करिस्मेटिक–लिडर’ यहाँ आउनेछ भन्ने लाग्छ मलाई, थाहा छैन– कहिले आउँछ त्यो?

यही विवेक, यही बिम्ब–प्रतिबिम्ब मनमा राखेर तपाईंले दार्जीलिङका कवि नोर्देन रुम्बाको गीत (संगीत– चन्दन लोमजेल) गाउनलाई छान्नुभएको हो– ‘कसैले सोधे कुन हो तिम्रो गाउँ’? 
यो हरेक मान्छेले भोगेको कथा हो, व्यथा हो। यो दार्जीलिङले मात्रै होइन, संसारका धेरै ठाउँ र मान्छेले भोग्नुपरेको कथा हो। कवि नोर्देनले यसरी लेखिदिनुभएको छ नि, यसलाई गाउनैपर्दैन। वाचन मात्रै गरे पनि पुग्छ।

अर्को सन्दर्भमा, एउटा कवि वा गायक, लेखक बिरामी भएमा, अशक्त भएमा राज्यले केही गरेन, राज्यले हेरेन भन्छन्। राज्यले गर्ने चाहिँ के ?
राज्यले केही पनि गर्नुपर्दैन, आफैले गर्ने हो। गोपाल दाइको गीत जस्तै, क्षयरोग लागेको आमासँग दूधको के अपेक्षा? उ आफै केही गर्न सकिरहेको छैन, लम्पट भएर सुतेको छ– उसँग के अपेक्षा? यसकारण सकुन्जेल आफै गर्ने हो, नसकेको दिन चुप लागेर बस्ने हो।

यसरी निस्सारवादी, निराशावादी भएर मात्रै हुन्छ र?
होइन भाइ, वास्तविकता त यही हो नि। मैले भने त– तिम्रो गल्ती सबै माफ भयो। मैले गरेका गल्तीलाई सक्छौ भने माफ देउ। सक्दैनौ भने ठीकै छ। फेरि पनि उज्यालोतिर जाऊँ, अँध्यारोतिर नबसौँ। मैँले भन्ने त यही हो नि। यसकारण हरेक कुरामा राज्यलाई गुनासो गर्नेभन्दा जिन्दगी बाँच्ने तरिका वा पद्धति फेर्ने हो, मलाई यही लाग्छ।

अमृत दाइ, तपाई हरेक प्रश्नमा एकदमै सकारात्मक, सात्त्विक भएर जवाफ दिइरहनुभएको छ। ‘नेपथ्य’ पुस्तकमा पनि बुद्धको अष्टांगिक मार्गको सिको गर्दै गुरुमन्त्र दिनुभएको छ। तपाई ‘नेपथ्य’का लेखक गिरीजीको संगतमा साधु, सन्यासी, बौद्धमार्गी हुन लाग्नुभएको त होइन?
मैले भने नि भाइ, आइ त हालियो। गई त जाऔँला, अघिपछि–आलोपालो। जो आउँछ, जान्छ नै। यो खालको सोचाइ जब आफूमा भयो भने बाँच्न सजिलो हुने रहेछ। धेरै आशा, अपेक्षा नभएपछि जिउन सजिलो हुने रहेछ। अब गिरीज्यू (लेखक) जातले गिरी भइहाले, म चाहिँ कर्मले अलिकति जोगीजोगी खालको सोचाइमा पुगेको हुँ। 

‘नेपथ्य’ एल्बमसँगै गीत र ब्यान्ड शुरू भएयताको ३२ वर्षमा (सन् १९९२, अप्रिल फूलमा स्थापना) तपाईंले सार्वजनिक मन्चमा गाउने गीत उनै र उस्तै लाग्छन्। शायद फ्यान, स्रोताको मागमा उही गीत र धुन फर्माइस भइरहेको हुन सक्छ। आफूलाई मन पर्ने नेपथ्यका केही गीत?
हो, स्थापनाको तीन दशकमा हामीले जानेर नजानेर ८८ वटा गीत बनाएछौ। यसमा चलनचल्तीका र सधैं सुनिने २२/२५ मात्रै होलान्, अरु भने रेकर्डमै सिमित छन्। तर, यसमा पनि केही गीत छन् जसलाई सुनिदिनुभए म कलाकारलाई खुशी लाग्ने थियो जस्तो लाग्छ। यस्ता गीत दर्शक/स्रोताले सुन्नुभएकै छैन। वा, सुनेपनि भजन जस्तो मात्रै लाग्न पनि सक्छ। मलाई भने ‘कसैले सोधे कुन हो तिम्रो गाउँ’ (नोर्देन रुम्बा), ‘आमा हुन साह्रै असजिलो छ (तीर्थ श्रेष्ठ), ‘नराम्रो सपना देखेंथे राति (प्रकट पंगेनी)’ जस्ता गीत खुबै मन पर्छ। तर, स्रोतागणले भने ‘यो अलिक अमृत–टाइप गीत भएन, नेपथ्यले त डङ कि डङ गाउनुपर्यो नि’ भन्ने गरेका छन्।

विदेशका यति विध्न कार्यक्रममा जानुहुन्छ। अमेरिका, युरोप वा खाडीका मन्चमा उभिएर गाइरहँदा तपाईंको विवेकले के भन्छ, कि यत्रो ठूलो जनसंख्या आज देशबाहिर छ। यिनका लागि हामीले केही गर्न सकेका छैनौं, कम्तिमा चुनावी मताधिकारसम्म दिन सकेका छैनौं। स्टेजमा गीत गाइरहेका बेला ट्र्याकबाट बाहिर गएर यो यथार्थ सम्झनु हुन्छ कि हुन्न? 
सम्झिन्छु नि। युवा पुस्ता जोसँग श्रम गर्ने ल्याकत छ, ती सबै आज बाहिर छन्। हेर्नुस् त त्यो अरबमा हाम्रा भाइबैनाहरु! रोजगार भए त यहीँ गर्ने थिए होलान् नि। तिनले उता गएर मरुभूमीलाई अरब बनाइदिए। त्यो त नेतृत्व ठीक हुनुपर्दोरहेछ भन्ने त्यहाँ गएर देखिन्छ। यसो हेर्छु– ९० दशकका देश आज कहाँ पुगिसके, भौतिक चरणमा विकासको गति कहाँ पुगिसक्यो, हामी चैँ किन केही भएनौँ? फलानाले गर्न दिएन, ढिस्कानाले गर्न दिएन भन्दै जहिले पनि तर्कमाथि तर्क र प्रश्नका निम्ति प्रश्न गरिरहेका छौँ। हामी जुन किसिमले अल्झिएर बसिरहेका छौँ नि, यो देख्दा ‘ए बाबा, सच्चा काम गर्ने एउटा पार्टी आइदिए हुन्थ्यो नि’ जस्तो लाग्छ। एउटा गजबको नेता आइदिएमा यहाँ १० वर्षमा कायापलट हुने थियो भन्ने लाग्छ। अरबको त्यस्तो देशमा परिवर्तन हुन सक्छ भने हाम्रोमा सक्दैन?

अमृत दाइ, आखिरमा यो जिन्दगानी के रहेछ ? 
केही पनि रहेनछ। यो जिन्दगी भनेको बाँचुन्जेल गरिने कर्म (काम) रहेछ र, सकेसम्म केके सकिन्छ मिलाउनुपर्ने रहेछ, अर्कोलाई अप्ठ्यारो नपार्ने गरी। मैले अघि पनि भने– तिमीले गरेका गल्ती जम्मै माफ भयो, मेरो तर्फबाट। मैले गरेका गल्ती माफ दिने–नदिने तिम्रो कुरा हो। आखिर जिन्दगी केही पनि रहेनछ। माफ दियौ त म धन्य भएँ। दिएनौ त म के गर्न सक्छु। (उकालाेवाट)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x