बुधबार, फाल्गुन २७, २०८२
Wednesday, March 11, 2026

फर्टिलिटी सेन्टरको अवैध धन्दा : आर्थिक प्रलोभनमा पारेर किशोरीको डिम्ब संकलन

काठमाडौं – सन्तान सुखको आशा बोकेर आउने निःसन्तान दम्पतीलाई सघाउने भन्दै खुलेको काठमाडौंको एक फर्टिलिटी सेन्टरले अवैध रूपमा किशोरीहरूको डिम्ब संकलन गरी व्यापार गर्ने गरेको तथ्य खुलेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको प्रारम्भिक अनुसन्धानमा काठमाडौंस्थित होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रालिले संगठित दलालमार्फत आर्थिक प्रलोभनमा पारेर १८ वर्षमुनिका किशोरीहरूको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको खुलासा भएको हो।

पीडित किशोरीहरूका अभिभावकले आफ्ना छोरीहरूलाई प्रलोभनमा पारेर डिम्ब निकालिएको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना बाहिरिएको हो।
सीआईबीका अनुसार, उक्त फर्टिलिटी सेन्टरले दलालहरूलाई परिचालन गरी आर्थिक रूपमा कमजोर र कलिला किशोरीहरूलाई निशाना बनाउने गरेको थियो।

दलालहरूलाई प्रति किशोरी खोजिदिए बापत २० हजार र डिम्ब दान गर्न तयार पारिएकी किशोरीलाई १० हजार रुपैयाँसम्म दिइन्थ्यो। किशोरीहरूलाई १० दिनसम्म हर्मोनल इन्जेक्सन लगाएर उनीहरूको डिम्बाशयमा अस्वाभाविक रूपमा डिम्बको संख्या वृद्धि गराइन्थ्यो र त्यसपछि बेहोस बनाएर डिम्ब निकालिन्थ्यो।

जाहेरीपछि सीआईबीले फर्टिलिटी सेन्टरका जस्टिना प्रधान, डा. असिम अधिकारी, डा. स्वस्ती शर्मा, मालिनी चौधरी र एलिसा ओलीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो।

तर, प्रजनन स्वास्थ्य र डिम्ब दानसम्बन्धी स्पष्ट कानुनी व्यवस्थाको अभाव देखाउँदै जिल्ला सरकारी वकिलको कार्यालयको निर्देशनमा सञ्चालकहरूलाई हाजिर जमानीमा छाडिएको छ।

ब्यूरोका प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले पीडितका अभिभावकको उजुरीका आधारमा अनुसन्धान गर्दा सेन्टरले अवैध काम गरेको पुष्टि भएको र निकालिएको डिम्ब निःसन्तान दम्पतीलाई बेच्ने गरेको पाइएको जानकारी दिए।

‘उनीहरूले १० दिनसम्म सुई लगाउने अनि लठ्याएर डिम्ब निकालिने रहेछ,’ खापुङले भने, ‘केही पैसा दिने अनि डिम्ब निकाल्ने र सो डिम्ब सन्तान नभएका दम्पतीलाई बेचिने रहेछ।’

कानुनी तथा नैतिक हिसाबले डिम्ब दानका लागि कडा मापदण्ड तोकिएको हुन्छ। दाता विवाहित र कम्तीमा एक सन्तानकी आमा भइसकेको हुनुपर्ने प्रावधान छ, ताकि भविष्यमा उनको प्रजनन क्षमतामा कुनै असर नपरोस्।

तर, होप फर्टिलिटीले यी सबै मापदण्डलाई लत्याउँदै कलिला किशोरीहरूलाई निशाना बनाएको थियो, जसले उनीहरूको भविष्यको प्रजनन स्वास्थ्यमा दीर्घकालीन असर पार्नसक्ने देखिन्छ।

सरोगेसीको आशंका
नि:सन्तान दम्पत्तीहरूका हकमा उनीहरुले नै दाता खोजेर ल्याएर कृतिम गर्भाधान गराएर सन्तानको सुविधाका लागि फर्टिलिटी केन्द्रको संख्या बढेको छ। जानकारका अनुसार यसका लागि सेवा लिने सम्बन्धित दम्पत्ती आफैँले शुक्रकिट वा डिम्ब दाता खोज्नुपर्छ।

उनीहरूले खोजेको दाताको शुक्रकिट वा डिम्बमा रहेको सन्तान उत्पादन गर्नसक्ने अन्डाको गणना गरिन्छ। अन्डाको मात्रा पुगेमा तत्काल निकालिने र नपुगेमा बढाउने इन्जेक्सन दिएर संख्या बढाएर निकालिन्छ।

‘महिलाको हकमा डिम्बको संख्या निश्चित हुन्छ। जति उमेर बढ्दै जान्छ त्यति डिम्बको संख्या घट्ने भएकाले जति कम उमेर भयो त्यति स्वस्थ र पर्याप्त डिम्ब पाइन्छ,’ जानकार स्रोतले उ भन्यो ‘डिम्ब निकाल्दा भविष्यमा सन्तान उत्पादनमा असर पर्नसक्ने भएकाले दाताको चयन गर्दा विवाहित र एक सन्तान भइसकेकोलाई प्राथमिकता दिइन्छ।’

दलाल मार्फत दाताको खोजी गर्ने र उनीहरु अझ भर्खरका कलिला किशोरीहरुको डिम्ब निकालिएकाले पछिल्लो समय कानुनले वर्जित गरेको सरोगेसीमा सो डिम्बको प्रयोग हुने गरेको शंका बढाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x