प्रमाण नष्ट गर्छ भन्ने आशंका हुने भएकाले छानबिन नसकिएसम्म बैठकमा जान्न – सभापति खतिवडा

काठमाडाैं – कुलिङ पिरियडमा भएको बदमासीमा प्रश्न उठेपछि राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले संसदीय छानबिन समिति बनेपछि बैठकमा आफू उपस्थित नहुने बताएका छन्।
सञ्चारकर्मीहरू संगकाे कुराकानीमा सभापति खतिवडाले सभामुख देवराज घिमिरेले समिति गठनको प्रक्रिया सुरु गरेको र गठन भएलगत्तै सभापतिको हैसियतमा आफू बैठकमा नजाने बताए।
उनले भने, ‘आफू सभापति र समिति सदस्यको रुपमा बैठकमा उपस्थिति हुँदा प्रमाण नष्ट गर्छ भन्ने आशंका हुने भएकाले छानबिन नसकिएसम्म बैठकमा जान्न।’ सभापति खतिवडाले सो अवधिसम्म सरकारी गाडीको प्रयोग पनि नगर्ने जानकारी दिए।
सभामुख घिमिरेले बिहीबार मुख्य दलका प्रमुख सचेतकसँग छलफल गर्दै संसदीय छानबिन समितिको क्षेत्राधिकार र समितिमा रहने सदस्यको बारेमा जिज्ञासा राखे।
राज्य व्यवस्था समितिले कूलिङ पिरियडमा भएको बदमासी सच्याउन राष्ट्रिय सभालाई अपिल गर्ने निर्णय यसअघि नै गरेको छ। राज्य व्यवस्था समितिका सचिव सुरजकुमार दुराले भने यसअघि नै समिति छाडे। झन्डै पाँच घण्टा बसेको बुधबारको बैठकमा समिति सदस्यले समिति छाड्न आग्रह गरेपछि सचिव दुराले जिम्मेवारीबाट अलग भएको बताए।
समिति सभापति खतिवडाले यद्यपि उनले जिम्मेवारी परित्याग गरेको बारेमा संघीय संसद सचिवालयमा औपचारिक पत्र दिन बाँकी रहेको बताए।
WRITE COMMENTS FOR THIS ARTICLE