सभामुखमा दुई पार्टीकाे दाबी पछि प्रदेशसभाको बैठक अनिश्चित
काठमाडौ – बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दाबी गरेपछि प्रदेशसभाको बैठक अनिश्चित बनेको छ। बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले ‘जेनजी प्रदर्शन’ का क्रममा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेपछि गत असोज १ गते लिखित राजीनामा दिएका थिए, जसपछि यो पद रिक्त भएको थियो।
रिक्त सभामुख पदमा सत्तारुढ दुवै दलको अडानका कारण विगत चार महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन। प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले अहिलेसम्म सरकारबाट बैठकको कुनै सूचना नआएको बताएका छन्। उनले गत कात्तिकको दोस्रो साता नै बैठक बोलाउने तयारी भए पनि आह्वान हुन नसकेको उल्लेख गरे। सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले यही मङ्सिर ३ गते रातिबाट प्रदेशसभाको अधिवेशन अन्त्य गरिसकेका छन्।
सचिव पौडेलले प्रदेशसभाको बैठक बोलाएको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले सत्तारुढ दलबीच सहमति नजुटेसम्म सरकारले बैठक नबोलाउने रणनीति लिएको हुनसक्ने अनुमान गरेका छन्।
सभामुख पदमा एमाले संसदीय दलका प्रमुख सचेतक एकलाल श्रेष्ठले कांग्रेसले मुख्यमन्त्री पाएपछि सभामुख आफ्नो पार्टीलाई दिनुपर्ने भन्दै दाबी स्वाभाविक भएको बताएका छन्। उता, कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक पुकार महर्जनले पनि अबको केही महिनापछि मुख्यमन्त्री एमालेलाई दिनुपर्ने ‘सहमतिको आधारमा’ सभामुख कांग्रेसलाई दिनुपर्ने अडान राखेका छन्। उनले सत्तारुढ दलहरूबीच छलफल भइरहेको र छिट्टै सहमति भएर प्रदेशसभाको बैठक बोलाइने प्रयास भइरहेको जानकारी दिएका छन्।


WRITE COMMENTS FOR THIS ARTICLE