बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बजेट विनियोजनमा विभेद भयो : सांसदहरू

काठमाडौं – सांसदहरूले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा मात्रै आवश्यकभन्दा बढी बजेट विनियोजन गरिएको दाबी गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न मन्त्रालयको विनियोजनमाथिको छलफलका क्रममा उनीहरूले समानुपातिक रुपमा बजेट विनियोजन नभएकोमा असहमति प्रकट गरे ।

छलफलमा भाग लिँदै सांसद दीपक गिरीले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै दाङको टरिगाउँ विमानस्थलको निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरिएकामा असहमति जनाए । उनले सरकारले तीन करोडभन्दा कमको बजेट विनियोजन नगर्ने भन्ने व्यवस्था गर्ने भनेर प्रचार गरिएको भएपनि विमानस्थलको जग्गा अधिग्रहणका लागि आवश्यकभन्दा कम बजेट विनियोजन गरेर सांसदहरूको भावनालाई सम्बोधन गर्न नसकेको बताए ।

सांसद पूर्णबहादुर घर्ती मगरले विनियोजन जनपक्षीय र यर्थाथपरक नभएको टिप्पणी गरे । उनले सहकारी नियमनका लागि स्थानीय सरकारको सहभागितामा प्रभावकारी संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।

सांसद अम्मरबहादुर थापाले बजेट जनपक्षीय र मुलुकको बृहत्तर हितका लागि नभएको धारणा राखे । सांसद रञ्जुकुमारी झाले सबै जिल्लालाई समान रुपमा बजेट विनियोजन गर्न माग गरिन् ।

रामप्रकाश चौधरीले मधेस प्रदेशप्रति सङ्घीय सरकारले यथार्थमा आधारित भएर बजेट विनियोजन गर्न नसकेको बताए । सर्लाहीको भौतिक पूर्वाधारका लागि चालु आवको बजेटमा समेत काम नभएको र आगामी आवमा समेत बजेट विनियोजन हुन नसकेको गुनासो गरे ।

सांसद प्रभु साहले सरकारले सञ्चालन गरेको उद्योग व्यवसाय र घाटामा रहँदा निजी व्यवसायी र उद्योगीसँग कर लिन मिल्छ कि मिल्दैन भनेर प्रश्न गरे । सङ्घीय राजधानी जोड्ने राजमार्गहरू बन्दप्राय रहेको र नागरिक समस्यामा रहेको उल्लेख गर्दै उनले सत्ताधारी दलका नेताहरुको जिल्लामा मात्रै विनियोजन गरिएको र सडक निर्माण गरिएको बताए ।

सांसद रामकृष्ण यादवले मन्त्री र ठूला नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेर भेदभाव गरिएकामा सहमति जनाए । सांसद ईश्वरबहादुर रिजालले पर्यटन क्षेत्रको अपार सम्भावना रहेको दोलखामा आशातित बजेट विनियोजन हुन नसकेको बताए । रासस

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x