बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

चालु आर्थिक वर्षको आय–व्यय अनुमान सरकारद्वारा दोस्रोपटक संशोधन

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय र व्ययको अनुमान सरकारले दोस्रोपटक संशोधन गरेको छ । गत माघमा बजेटको अर्धवार्षिक समीक्षामार्फत् आय र व्ययको अनुमान संशोधन गरेको सरकारले अहिले फेरि संशोधन गरेको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै चालु आर्थिक वर्षको सरकारको आय र व्यय संशोधन गरिएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्षका लागि सरकारले रू १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएकोमा यसवर्ष वार्षिक विनियोजनको ८९.४ प्रतिशत अर्थात् १६ खर्ब ६२ अर्ब ३७ करोड पुग्ने संशोधित अनुमान गरिएको छ ।

चालु खर्चतर्फ विनियोजनको ८८.५ प्रतिशत, पुँजीगत खर्च विनियोजनको ८४.४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ विनियोजनको ९७.६ प्रतिशत रहने संशोधन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । सरकारले चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा रू ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ रू तीन खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ रू तीन खर्ब ६७ अर्ब २८ करोड बराबर विनियोजन गरेको थियो ।

अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्ष राजस्व परिचालन रू १२ खर्ब ६७ अर्ब ३९ करोड पुग्ने अनुमान गरिएको छ । यसवर्ष रू १४ खर्ब १९ अर्ब ३० करोड बराबर राजस्व उठाउने सरकारको लक्ष्य थियो ।

त्यसैगरी वैदेशिक अनुदान र ऋण प्राप्ति पनि घट्न देखिएको छ । चालु आवका लागि रू ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने सरकारको लक्ष्य रहेकोमा अहिले त्यसलाई संशोधन गरेर रू ३४ अर्ब ८९ करोड बराबर मात्रै वैदेशिक सहायता अनुदान उपलब्ध हुने अनुमान गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

चालु आर्थिक वर्षका लागि वैदेशिक ऋण रू एक खर्ब ६९ अर्ब साठी करोड बराबर परिचालन गरिने संशोधित अनुमान गरिएको छ । रासस

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x