अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदमः स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

काठमाडौं – नेपालबाट अन्धोपन निवारण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघका बिच समझदारी गरिएको छ । संघका प्रतिनिधि मण्डलसंग मन्त्रालयमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको उपस्थितीमा भएको उक्त समझदारी पत्रमा मन्त्रालयका तर्फबाट स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा.कृष्ण प्रसाद पौडेल र नेत्रज्योति संघको तर्फबाट महासचिव भरतबहादुर चन्दले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौता अनुसार मन्त्रालयले नेत्रज्योति संघबाट कार्यक्रम संचालन भइरहेका जिल्लाहरूमा आँखा उपचार सेवा कार्यक्रम संचालनको लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्नेछ भने नेत्रज्योति संघले नेपालमा आँखा स्वास्थ्य सेवाको पहुँच नपुगेका स्थानहरूमा आँखा उपचार सेवा विस्तार गरी लक्षित समूहलाई थप सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्ने भएकाे छ ।
त्यसैगरी मन्त्रालयले नेपालको आँखा उपचार क्षेत्रलाई स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा विकास गर्न आवश्यक सहजीकरण गर्ने, नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका आँखा स्वास्थ्य सम्बन्धि जनशक्तिहरूलाई आवश्यकता अनुसार नेत्रज्योति संघ अन्तरगतका अस्पतालमा खटाउन सक्ने र प्रचलित नियम कानुन अनुसार तथा जनसंख्या मन्त्रालयबाट भन्सार छुट लगायतका विषयमा सहजीकरण गरिने पनि संघले जनाएकाे छ ।
त्यस्तै नेत्रज्योति संघले संघद्वारा सञ्चालित आँखा अस्पतालहरूलाई आँखा उपचार, अनुसन्धान र शैक्षिक केन्द्रको रूपमा विस्तार गरी स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीति २०७७–२०८७ ले प्रक्षेपित आँखा स्वास्थ्य सम्बन्धी जनशक्तिको उत्पादन गरी नेपालमा आँखा स्वास्थ्य सेवामा पहुँच अभिवृद्वि गर्ने कार्यमा सहयोग गर्ने भएकाे छ ।
नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्रका अनुसार नेपाल सरकारको राष्ट्रिय स्वास्थ्य नीति, २०७६, राष्ट्रिय स्वास्थ्य क्षेत्र रणनैतिक कार्ययोजना २०७९–२०८७ तथा आँखा स्वास्थ्य रणनीति २०७९ वमोजिम नेत्रज्योति संघले मन्त्रालयको सहयोग र सहकार्यमा आँखा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने भएकाे छ ।
‘नेपाल सरकारकै सहयोग र निर्देशनमा गैर सरकारी संस्थाद्धारा नेपालमा संचालित आँखा उपचार सेवाले अहिले विश्वमै नाम कमाएको छ, यो समझदारीले नेपालको अन्धोपन निवारणमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिएका छौ’ संघका महासचिव भरतबहादुर चन्दले भन्नुभयो ।
सम्झौतापछि आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले नेपालको आँखा उपचार सेवा स्तरीय र सुपथ भएको भन्दै नागरिकको पहुँच वृद्धिसँगै स्वास्थ्य उपचार पर्यटन केन्द्रका रुपमा विकास गर्न आँखा उपचार सेवाले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
WRITE COMMENTS FOR THIS ARTICLE