शिक्षकहरू फेरि सडक आन्दोलनमा उत्रिए

काठमाडौं, – शिक्षक महासंघको अगुवाइमा शिक्षकहरू फेरि सडक आन्दोलनमा उत्रिएका छन्।
काठमाडौ उपत्यका सहित देशभरबाट शिक्षक प्रतिनिधि आन्दोलनका लागि आउने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए।
चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले आज १२ बजे माइतीघरमा भेला भएर आन्दोलन गर्ने जनाएको छ।
२०८० मा सरकारसँग भएको सहमति अनुसार ऐन जारी गर्नुपर्ने र निवृत्तिभरण अध्यादेश खारेजको माग राखेर महासंघ आन्दोलित भएको हो।
महासंघका अध्यक्ष सुवेदीका अनुसार तत्कालीन ऐन, नियमअनुसार नियुक्त कुनै पनि पेसाकर्मीले निरन्तर पाइआएको सुविधामा नकारात्मक असर पर्ने गरी पछि कानुन बनाउनु वा संशोधन गर्नु कानुनी दृष्टिबाट समेत त्रुटिपूर्ण हुन्छ। त्यसैले यो अध्यादेश तुरुन्त फिर्ता गर्न माग गरिएको उनले जानकारी दिए।
गत २९ पुसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको सुशासन, प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा निवृत्तिभरण कोष ऐन २०७५ को दफा ९ मा ‘शिक्षक सेवा’ थप गर्ने भनिएको छ। यो प्रावधानले २०७५ देखि नै शिक्षक योगदानमा आधारित पेन्सनमा सहभागी हुन बाध्य हुने शिक्षकहरूको तर्क छ। तर, सरकारले अध्यादेश आएको मितिबाट लागू हुने बताए पनि यसमा शिक्षकहरूले मानेका छैनन्।
WRITE COMMENTS FOR THIS ARTICLE