बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

रोकिएको ग्वार्को ओभरपास निर्माणको काम पुनः सुरू

केही समयदेखि सुस्त गतिमा भइरहेको ग्वार्को ओभरपास निर्माणको कामले गति लिएको छ।

यसअघि केही विषयमा सामान्य अन्तर्विरोध भइरहेपछि निर्माण काम सुस्त बनेको थियो।

निर्माण कम्पनीले ठेक्का छोडेर हिडेको खबर समेत बाहिरिएको थियो। सडक विभागले भने ठेकेदार कम्पनी सम्पर्कमै रहेको बताउँदै आएको थियो।

केही दिनयता ओभरपास निर्माणको काम पुरानै गतिमा भइरहेको सडक विभागले उल्लेख गरेको छ।

‘पहिले पनि काम नै रोकिएको भने थिएन, केही सुस्त भएको थियो,’ सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक इन्जिनियर अर्जुन प्रसाद आर्यालले भने, ‘अहिले सोही ठेकेदारले काम गरिरहेको छ र कामको गति बढेको छ।’

ओभरपासको निर्माण आशिष समानान्तर रेलिगेयर जेभीले गरिरहेको छ।

त्यस्तै, ग्वार्को ओभरपास सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले हेर्छ।

केन्द्रले डिजाइनमा देखिएका केही विषयहरू स्पष्ट गर्न तथा निर्माणका क्रममा देखिएका केहि कैफियतहरु सुधार गर्न भन्दै निर्माण व्यवसायीलाई पत्राचार समेत गरेको थियो।

२०७९ मंसिर १६ गतेदेखि निर्माण सुरू गरिएको ओभरपास २०८० फागुन १२ गतेभित्र नै सकिसक्नु पर्ने थियो। तर, सुरूको डिजाइन परिवर्तन गर्नुपरेको कारण देखाउँदै ठेकेदार कम्पनीले थप समय मागेको थियो।

दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपिए पनि सो समयभित्र पनि काम सकिएन। तेस्रो पटक गत पुस ९ सम्मको म्याद थपिएको थियो।

उक्त समयभित्र काम नसकिएपछि थप म्याद थपिएन। र, पुस १० बाट जरिवाना लगाएर काम भइरहेका छ। निर्माण कम्पनीले चैत मसान्तसम्म काम सक्ने प्रतिबद्धता जनाएको छ।

इपिसी मोडलको ठेक्का भएकाले लागत बढे पनि यसमा ठेकेदार नै जिम्मेवार हुन्छ। यो मोडेल अनुसार ठेकेदार आफैँले डिजाइन गर्ने र उसैले निर्माण गर्छ।

हालसम्म यो आयोजनाको भौतिक प्रगति ८१ प्रतिशत पूरा भएको छ भने ४५.५४ प्रतिशत वित्तीय प्रगति भएको छ।

१७ करोड ६ लाख ८८ हजार रूपैयाँ लागत रहेको यो आयोजनाको क्रममा ठेकेदार कम्पनीले सात करोड ७७ लाख ३३ हजार रकम भुक्तानी पाइसकेको केन्द्रले उल्लेख गरेको छ।

ओभरहेड ब्रिजको स्ट्रकचरतर्फ शत प्रतिशत काम सकिएको भए पनि कालोपत्रे बाँकी छ। एप्रोच रोडको पनि करिब ८५ प्रतिशत काम बाँकी रहेको बताइन्छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x