बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

आठ वर्षीय आकृति पाण्डेद्वारा लिखित बालकथा संग्रह द स्प्राउटिङ स्टोरीजको लोकार्पण

काठमाडौं,- आठ वर्षीय आकृति पाण्डेद्वारा लिखित बालकथा संग्रह द स्प्राउटिङ स्टोरीजको लोकार्पण भएको छ ।

शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पुस्तक विमोचन गरेका हुन् ।

संस्कार पब्लिकेसनद्वारा प्रकाशित यस संग्रहमा अंग्रेजी भाषामा लेखिएका ११ वटा बालकथाहरू समेटिएका छन् ।

कार्यक्रममा मन्तव्य राख्दै मन्त्री पाण्डेले यति सानो उमेरमै कथा लेखनमा देखाएको प्रतिभा प्रशंसनीय रहेको बताउँदै लेखिकाको सृजनात्मक क्षमताको प्रशंसा गरे ।

उनले साहित्यमा संलग्न व्यक्ति अन्य पेशागत व्यक्तिहरूको तुलनामा कम अपवित्र रहने धारणा राख्दै साहित्य सिर्जना गर्नेहरू भावुक हुने र तिनको भावुकताले समाजलाई असल कार्यतर्फ डोर्‍याउने विचार व्यक्त गरे । साथै, आजको डिजिटल युगमा मानिसको चिन्तन गर्ने क्षमतामा कमी आए पनि कल्पना शक्ति सशक्त शक्ति भएको भन्दै कल्पनाशीलताको महत्त्वलाई जोड दिए ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपालले आकृति पाण्डे एक विशिष्ट प्रतिभा भएकी बताउँदै बालकहरूलाई सही मार्गदर्शन प्रदान गर्न अभिभावक, विद्यालय र समाजको महत्त्वपूर्ण भूमिका हुने विचार राखे । जय नेपाल फाउन्डेसनका अध्यक्ष बद्री अर्यालले आकृति पाण्डेमा अलौकिक प्रतिभा रहेको र भविष्यमा विशिष्ट साहित्यकार बन्न सक्ने सम्भावना रहेको बताए ।

पुस्तकको समीक्षा गर्दै लेखक शङ्कर कुमार प्रधानले लेखिकाले कथा लेखनको मापदण्डलाई पछ्याउँदै पात्रहरूलाई न्यायपूर्ण रूपमा प्रस्तुत गरेको टिप्पणी गरे । उनका अनुसार संग्रहमा करुणा, मित्रता, धैर्यता, एकता तथा अरूलाई चित्त नदुखाउने जस्ता सन्देश प्रवाहित गर्ने कथाहरू समेटिएका छन् । प्रधानले कथाहरू रोचक, सन्देशमूलक र मानव जीवनलाई छुने खालका रहेको बताउँदै यी कथाहरू मिहिनेतका साथ तयार पारिएको उल्लेख गरे ।

लेखिकाकी पिता अमिन पाण्डेले छोरीको सृजनात्मक क्षमताले आफू गर्वान्वित भएको बताउँदै सानै उमेरदेखि पढ्ने, लेख्ने र चिन्तन गर्ने उनको स्वभावले भविष्यमा अझ उत्कृष्ट कृतिहरू जन्माउने आशा व्यक्त गरे । संस्कार पब्लिकेसनका उपाध्यक्ष शरद श्रेष्ठले समाजलाई गतिशील बनाउँदै समृद्धिको दिशामा लैजान पढ्न मात्र नभई लेख्न पनि आवश्यक रहेको धारणा राखे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x