रास्वपामा संसदीय दलका नेता काे ?

काठमाण्डाैं,- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सहकारी ठगीको आरोप लागेको छ । २ कात्तिकमा लामिछाने सहकारी ठगी आरोपमा पक्राउ परेपछि उनलाई कास्की जिल्ला प्रहरी कार्यालयले सम्पत्ति शुद्धीकरणको मुद्दा पनि लगायो । यो मुद्दा लागेपछि लामिछाने कानुन अनुसार सांसद पदबाट निलम्बनमा परेका छन् ।
लामिछाने ८ पुसमा प्रतिनिधिसभा सदस्य पदबाट निलम्बनमा परेपछि रास्वपाको संसदीय दलको नेता रिक्त छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट १८ माघमा संसद् अधिवेशन आह्वान भएको छ । तर, रास्वपाले नयाँ दलको नेता चयन गरेको छैन ।
८ माघमा दलको नेता रिक्त भएको एक महिना पुग्दा पनि रास्वपाले नयाँ दलको नेता चयन गरेको छैन । अझ अधिवेशन सुरु हुन एक सातामात्रै बाँकी रहँदासम्म दलको नेताविहीन अवस्थामा रास्वपा छ ।
चितवन– २ बाट २०८० वैशाख १० गतेका उपनिर्वाचनमा विजयी लामिछाने निलम्बनमा परेपछि रास्वपाले कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद अर्याललाई तोकेको छ ।
रास्वपामा अहिले विराजभक्त श्रेष्ठ संसदीय दलको उपनेता छन् । उनलाई नै नेतामा बढुवा गर्ने भन्नेबारे रास्वपामा छलफ भए पनि निर्णय नभएको नेताहरू बताउँछन् । श्रेष्ठलाई दलको नेतामा बढुवा गर्न निलम्बित सभापति तथा दलको नेता लामिछानेको पनि ग्रिन सिंनल रहेको रास्वपा नेताहरू बताउँछन् ।
कार्यवाहक सभापति अर्यालले अहिलेलाई उपनेतालाई नै दलको नेता हुने बताए । नयाँ दलको नेता नचुन्ने उनको भनाइ छ । रास्वपा विधानमा नेताको अनुपस्थितिमा उपनेतालाई कार्यवाहक दिने व्यवस्था भएकाले त्यसै अनुरुप अघि बढ्ने तयारी रास्वपाले गरेको हो ।
दलको नेताका लागि रास्वपामा सुमना श्रेष्ठ र सोविता गौतमले आकांक्षा देखाएका छन् । श्रेष्ठ नेता भएपछि सुमना या सोवितालाई उपनेता बनाउनेबारे पार्टीमा कुराकानी भइरहेको एक नेताले जानकारी दिए ।
WRITE COMMENTS FOR THIS ARTICLE