बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

बूढानीलकण्ठ नगरपालिकाकाे साप्रेढु‌गा पुल नजिकबाट चितुवाको उद्धार

काठमाडौं,- काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ साप्रेढु‌गा पुल नजिकबाट एक चितुवाको उद्धार गरिएको छ । वन कार्यालयको टोलीले डार्ट गरेर विहीबार बिहान चितुवाको उद्धार गरेको हो ।

बिहान करिब साढे ८ बजेतिर चितुवा देखिएको सूचना पाएपछि डिभिजन वन कार्यालय काठमाडौंबाट शंकर थापा नेतृत्वको टोली परिचालित भएको थियो ।

सो टोलीले एकपटक डार्ट गरेर बिहान ११ बजेतिर चितुवा नियन्त्रणमा लिएको वन डिभिजन कार्यालय काठमाडौं प्रमुख पुष्पराज बर्तौलाले जानकारी दिए । ‘चितुवालाई सुरक्षित रूपमा उद्धार गरेर थप उपचार र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ,’ उनले भने ।

उद्धार टोलीमा संलग्न सवडिभिजन वन कार्यालय गोकर्णका प्रमुख अशोक पराजुलीले शारीरिक रुपमा स्वस्थ रहेको सो चितुवा शिकारको खोजीमा शहरी क्षेत्रमा प्रवेश गरेको हुनसक्ने अनुमान गरे । ‘यो चितुवा आसपासको जंगलबाट आएको हुनसक्छ । यस क्षेत्रमा चितुवा प्रायः देखिने गरेको छ,’ उनले भने ।

उद्धारका क्रममा चितुवालाई नियन्त्रणमा लिन स्थानीयहरू ठूलो संख्यामा उपस्थित भएका थिए । जसका कारण उद्धार कार्य केही चुनौतीपूर्ण भएको थियो ।

उद्धार टोलीमा पशुचिकित्सक डा. अशुतोष भट्ट, वन अधिकृत अशोक पराजुली, रेञ्जर सतिश दाहाल, जमदारद्वय रामचन्द्र सापकोटा र किशोर कुमार थापा, वन रक्षक सुरज पण्डित र सवारी चालक रेशम पौडेल खटिएका थिए । प्रहरी निरीक्षक सुरेश खत्रीको कमाण्डमा ७ जनाको टोली पनि सो क्षेत्रमा खटिएको थियो ।

पशु चिकित्सक डा. भट्टले यो आर्थिक वर्षमा मात्रै काठमाडौं र आसपासका जिल्लाबाट मानव बस्तीमा समस्या सिर्जना गरेका करिब ८ चितुवाको सफल उद्धार गरिसकेको जानकारी दिए ।

चितुवाको आवतजावत बढ्दै गएपछि वन विभागले थप निगरानी राख्दै आएको छ । चितुवा नियन्त्रणमा लिन विभिन्न स्थानमा ट्र्यापमा पनि राख्ने गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x