बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

ओलीजी पनि सँच्चिनुभएको छ, म पनि सँच्चिएर एमालेमा जान्छु-वामदेव गौतम

काठमाडौं- नेकपा (एमाले) बाट ०७८ भदौ १८ मा राजीनामा दिने क्रममा तत्कालीन उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाएका थिए । एमाले छाड्दा ओलीलाई आरोपित गरेका उनै वामदेव साढे तीन वर्षपछि पार्टीमा फर्किने पक्का भएको छ ।

तत्कालीन नेकपाको विवादका समयमा ओली तथा अर्को गुट चलाएका पुष्पकमल दाहाल प्रचण्डलाई साथ नदिई तटस्थ बसेपछि वामदेव यता न उता भएका थिए । त्यहीकारण उनी नेकपा विभाजनपछि ब्युँतिएको एमालेमा नबसी साढे ३ वर्षसम्म नेकपा एकता अभियान चलाउँदै बसेका थिए । तर, उनको उक्त अभियान आफैँ दुई पटक फुटिसक्यो ।

गौतमको पहलमा कम्युनिस्ट पार्टी मिल्नुको साटो झन् झन् फुट्दै गए । गौतमले एमालेमा फर्किन यसअघि पनि बल नगरेका होइनन् । तर ओलीले मतलब गरेनन् । माफी माग्दासमेत ओली उनलाई भित्र्याउन तयार भएनन् ।

यसबीचमा एमाले फुटाएर एकीकृत समाजवादी बनाएका माधवकुमार नेपालसँग मिल्न गौतमले पुस १७ गते सैद्धान्तिक सहमति गरे । तर, पुस २१–२३ सम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले गरेको पार्टी छाडेकालाई स्वागतका लागि ढोका खोल्ने निर्णय वामदेवका लागि अवसर बन्यो । त्यही अवसरको सदुपयोग गर्दै वामदेव माधव नेपाललाई धोका दिएर एमालेमा फर्किने भएका छन् ।

शुक्रबार प्रधानमन्त्री ओलीसँग बालुवाटारमै पुगेर गौतमले एमाले समाहित हुने पक्का गरिसकेका छन् । अबको एक साताभित्र एमालेमा समाहित हुने तयारीमा रहेका गौतमसँग गरेको कुराकानीको अंश :

तपाईंलाई बधाई छ, एमालेमै फर्किने हुनुभएछ ?

अहिले बधाई दिने बेला भइसकेको छैन । त्यहाँ गइसकेको छैन, एमाले भइसकेको छैन । एमाले हुनलाई नुहाइधुवाइ गर्ने, जनै लगाउने काम भएको छैन । लौ, आजदेखि म एमाले भएँ भनेर हात हल्लाउन पनि पाएको छैन । सबै काम बाँकी नै छ । तर, जाने निर्णय गरियो । त्यहाँ गएर नाचेकै छैन । अब नाच्ने हो ।

कहिले हो त ठ्याकै एमालेमा प्रवेश गर्ने मिति ?

एमालेमा जाने घोषणा ठ्याकै यही दिन भन्ने छैन । एमालेले घोषणा गरेर बोलाउँछ रे ! यो साता नै औपचारिक कार्यक्रम होला । हामी तयार भएर बसेका छौँ । उहाँहरू पनि तयार भएपछि खबर आउँछ रे ! त्यसपछि घोषणा हुन्छ । अरू केपी ओलीसँग पनि सोध्नु न ! मलाई मात्र के फन्टुस बनाउनुहुन्छ । एक सातामा सबै कुरा आउँछ ।

कुन पद लिएर जाने नि एमालेमा ?

अहँ ! कुनै पद चाहिएन । हामीले मागेनौँ । कुनै पद मागिएको छैन । तर, सम्मानपूर्वक राख्छु भन्नुभएको छ । मलाई काम गर्नुछ । कम्युनिस्ट आन्दोलन बचाउनुछ ।

पदबिना त हलुको भइन्छ होला नि ? एमाले अध्यक्ष ओली र यहाँबीच पहिले पनि बेमेल थियो ?

एमालेमा यति धेरै साथीहरू हुनुहुन्छ, मलाई अब कसैले त्यस्तो गर्ने अवस्था आउँदैन । ‘अब त्यो किसिमको हुँदैन है, यताउता गर्नुहुन्न’ भनेर ओलीजीले भनिसक्नुभएको छ । अध्यक्षले जेसुकै भए पनि, जसोजसो भए पनि दाजुभाइ गफ गर्ने, पार्टीभित्रै झगडा गर्ने, तर बाहिर केही नगर्ने सर्त राख्नुभएको छ । त्यो कुरा मलाई पनि मन परेको छ । बाहिर कुरा गर्ने होइन । यो सर्त नै ठिक लाग्यो ।

साढे तीन वर्षपछि एमालेमै फर्किँदै वामदेव गौतम एमालेसँग मिल्न खोज्दा वामदेवको एकता अभियान नै फुट्यो तपाईं र म एक भएर काम गर्नुपर्छ भन्नुभएको छ । पार्टीभित्र झगडा गर्ने, तर बाहिर पोख्नु हुँदैन भन्ने कुरा गरेका छौँ । ‘दुई मुटु एक धड्कन’ भनेको जस्तो काम गरेर देखाउने हो । अब मिलेर काम गर्ने ! हामी दुईबीच यही कुरा भयो लामो समयसम्म ।

यहाँ त माधव नेपालको पार्टीमा जाने हल्ला थियो, तर एमालेमा पो जाने हुनुभएछ नि ?

होइन, म पहिलेदेखि नै एमालेमा जाने पक्षमा थिएँ । तर त्यो बेला एमालेले बेवास्ता गर्यो‍ । त्यही भएर अरूतिर नजानुपर्‍यो, बरु एकीकृत समाजवादीमै जाऊँ भनेर साथीहरूले कुरा गर्नुभयो । एकीकृत समाजवादीको कुरामा जहिलेदेखि हामीले नेकपा एकता राष्ट्रिय अभियान दर्ता गरेका थियौँ, त्यस बेलादेखि नै वार्तामा थियौँ । एमालेसँग पनि वार्ता गरेका थियौँ । तर, सफल भएको थिएन । कुरा मात्रै भयो । एमालेमा जाने सन्दर्भमा कहिले निर्णय गरेनौँ । दुई केन्द्रीय कमिटी बैठकले एकीकृत समाजवादीमा जाने निर्णय गरे । निर्णय गरेपछि हामीले नेताहरू भेटेका थियौँ । तर अन्टसन्ट कुरा गर्नुभयो । उहाँहरूको बोलीमा एकरूपता थिएन । पार्टी नै किचलोमा भएर होला अन्टसन्ट मात्रै कुराकानी भयो । हल्ला मात्रै भयो । हामी फर्किँदै आउँदै गरेका थियौँ ।

पछिल्लो पटक माधव नेपालसँग लु हुन्छ भन्ने भएको थियो । त्यतिकैमा एमालेले यता आउनुपर्छ, अलायन्स क्लियर भयो भनेपछि छलफल गर्दा एमालेमा जाने संगठनभित्र बहुमत भयो । एकता अभियानका सबै साथीहरूको बहुमतले एमाले रोजेपछि समाजवादीमा हुन्न, यतातिर जानुपर्छ भनेर निर्णय गरेका छौँ ।

एमाले अध्यक्ष ओलीसँग कहिले फाइनल कुरा भएको हो ?

यही शुक्रबार भएको हो । २ घण्टासम्म कुरा भएको छ । उहाँसँग राम्रो कुरा भएको छ । सम्मानपूर्वक व्यवहार हुन्छ भन्नुभयो । उहाँ पनि सँच्चिनुभएको छ । मेरा पनि कमजोरी थिए होला, म पनि सँच्चिएर जान्छु भनेको छु ।

अन्य के–के कुरा भयो नि ओलीसँग ?

उहाँले नेकपा एमाले निर्माण गर्ने आधारभूत तहदेखि माथिल्लो तहसम्म तमाम साथीसँगै तपाईं र म पनि हौँ भन्नुभयो । एमालेको घर तपाईं र मैले निमार्ण गरेको हो भन्नुभयो । यहाँ आउन कुनै साइत खोज्नुपर्छ यहाँलाई भन्नु भयो । यहाँ आउन तपाईँले केही कुरा सोच्नु हुँदैन । आफ्नो घरमा प्रवेश गर्नुस् । दाजुभाइ मिलेर काम गरौँला । म स्वागत गर्छु । तपाई खुरुक्क यहाँ आएर आफ्नो जिम्मेवारी पूरा गर्ने, त्यस अनुसार काम गरेर देखाउने हो । अब एमालेलाई दाजुभाइ मिलेर झन्–झन् माथि पुर्‍याउने हो । यस्तै थुप्रै कुरा भए हामीबीच ।

फेरि यहाँ र ओलीबीचको सहमतिको निर्णय फेरिँदैन नि ?

ओहो ! कसरी फेरिनु । अब त पक्का भइसक्यो । पहिला मैले एमालेमा जाने निर्णय भएको भनेकै थिएन । हल्ला के–के आए आए ।

कति जना जाँदै हुन्हुन्छ एमाले ?

मेरो एकता अभियानबाट भएभरका सबै जाने हो । एक दुईजना छुट्न सक्नुहुन्छ । अरू पार्टीतिर लाग्नुहोला । किनभने अभियानमा लागेपछि निशर्तः पार्टी एकता गर्न अगाडि बढेका छौँ । अभियानमा सामेल हुँदा निशर्तः पार्टी एकताका लागि अगाडि बढेका मान्छे मात्रै जालान् । एमालेमा रुचि हुनेहरू जानुहुन्छ । अरूलाई त स्वतन्त्र छ नि निर्णय लिने ।

उसोभए के उद्देश्य लिएर एमालेमा जाने हुनुभयो ?

मेरो मुख्य उद्देश्य नेपालमा विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने हो । त्यो एकीकृत गर्न सबैभन्दा ठूलो र शक्तिशाली पार्टीमा प्रवेश गरेपछि मात्रै हुन्छ । सानो समूहमा एकता अभियानका लागि दुई वर्षदेखि कोसिस गरे पनि सकिनँ । तर नेकपा एमाले भएर कोसिस गरेपछि हुन्छ भन्ने थाहा छ । पहिला पनि माओवादी र एमालेबीच एकता गराएर वर्षसम्म त्यो पार्टी सञ्चालन गरेको हो । अब नेपालमा समाजवाद आयो, निश्चित भयो, भन्नेसम्म पुर्‍याएका थियौँ । के गर्ने, हामी सबैको कमजोरी कहाँ–कहाँ के–के भयो फेरि पार्टी विभाजन भयो ।

अब चाहिँ परिपक्व भएर कम्युनिस्ट एकता गर्न लाग्ने छौँ । ओलीजीसँग पनि यही कुरा भएको छ । उहाँ पनि भावी दिनमा परिपक्व एकता गर्ने सोचमा हुनुहुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x