बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

सहकारी ठगी प्रकरणमा आज पनि थुनछेक बहस जारी

कास्की,- सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहितका सातजनाको बयानपछि कास्की जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।

न्यायाधीश नीतिज राईको इजलासमा प्रारम्भिक चरणमा सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र सुजाता पौडेलले मुद्दाबारे न्यायाधीशलाई सामान्य जानकारी गराएका थिए । पहिलो दिनको बहसपछि समय अभावले अदालत स्थगित गरिएको थियो । आजदेखि फेरि बहस जारी रहनेछ । थुनछेक बहसपछि न्यायाधीशले अभियुक्तहरूलाई धरौटीमा रिहा गर्ने, साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल चलान गर्ने निर्णय लिनेछन् ।

लामिछानेसहितका सात अभियुक्तमध्ये लामिछाने, छविलाल जोशी, र रामबहादुर खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ । लीला पछाईमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनको उल्लंघनको अभियोग लगाइएको छ । बाँकी तीन अभियुक्तलाई सहकारीको रकम ठगीको मुद्दामा मात्र आरोप लगाइएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी संचालक लगायत व्यक्तिविरूद्ध सुरूमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूसँग १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ । जसमा रवि लामिछानेसँग सहकारी ठगी अभियोगमा ३ करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैया बिगो असुल गर्न माग गरिएको छ ।

थुनछेक बहसका लागि रास्वपा सभापति लामिछानेको पक्षमा बहस गर्न ५० भन्दा धेरै कानुन व्यवसायीले वकालतनामा गरेका छन् । अधिवक्ता नारायण कँडेलका अनुसार लामिछानेको पक्षमा बहस गर्न ५० भन्दा धेरै कानुन व्यवसायीले वकालतनामा गरे पनि सातजनाले बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, हरि सुवेदी र डा.नारायण घिमिरे, अधिवक्ताहरू डा. नारायण कँडेल, रोहितराज बाँस्तोला, सुरज बस्नेत र सुविज्ञ पन्तले बहस गर्नेछन् ।

जिल्ला अदालतमा सामान्यतया सरकारी वकिलको कार्यालयकै वकिलहरूले मुद्दा-मामिलामा बहस गर्ने चलन छ । तर, रवि लामिछानेसहितको मुद्दामा सरकारले विशेष चासो देखाउँदै काठमाडौंस्थित महान्यायाधिवक्ताको कार्यालयका दुई वकिललाई समेत पोखरा पठाएको छ ।

कास्की जिल्ला अदालतमा सुरु भएको थुनछेक बहसमा स्थानीय सरकारी वकिलका पाँच सदस्यीय टोली भए पनि काठमाडौंबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र सहमहान्यायाधिवक्ता प्रकाश गौतमलाई पठाइएको छ । लामिछानेमाथि प्रहरी अनुसन्धानदेखि मुद्दा दायरसम्मका प्रक्रियामा ‘राजनीतिक प्रतिशोध’ लिएको आरोप पनि लागिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x