संविधान संशोधन बहसपत्र कार्यदल बहिस्कार गर्ने चार दलको चेतावनी
काठमाण्डाैं– संविधान संशोधनका नाममा सरकारले संविधान पुनर्लेखनको प्रयास गरेको आरोप लगाउँदै चार राजनीतिक दलले सरकारद्वारा गठित बहसपत्र कार्यदल बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
कार्यदल संयोजक एवं प्रधनमन्त्रीका सल्लाहकार अशिम साहलाई एक पत्र बुझाउँदै ती दलले सरकारले संविधानको मर्म, जनादेश र आफ्नो संवैधानिक सीमासमेत नाघेर संविधान संशोधनको प्रक्रिया अघि बढाएको आरोप लगाएका छन् ।
उनीहरुले सरकारले अघि बढाएको अहिलेको प्रक्रिया संविधानविपरीत रहेको आरोपसमेत लगाएका छन् ।
दलहरूले संविधान संशोधनको बहानामा संविधानका प्रस्तावना, आधारभूत मूल्य–मान्यता र सम्पूर्ण धाराहरू नै सार्वजनिक बहसका लागि खुला गर्न खोजिएको भन्दै त्यसलाई ‘संविधान पुनर्लेखनको प्रयास’ को संज्ञा दिएका छन् ।
उनीहरूले संविधानले सरकारलाई यस्तो अधिकार नदिएको र यस्तो अभ्यास जनताले संविधानसभामार्फत दिएको जनादेशविपरीत हुने दाबी गरेका छन् ।
संविधानप्रति शपथ लिएको सरकारले संविधानको प्रस्तावना तथा आधारभूत मान्यतासमेत खुला बहसको विषय बनाउनु संविधानको भावना र जनादेशविपरीत हुने उनीहरूको तर्क छ ।
‘संविधान संशोधनको नाममा संविधानको प्रस्तावना लगायतका आधारभूत विषयहरु र सम्पूर्ण धारा दफाहरु खुला गर्ने कार्य जनताको जनादेश र संविधानको भावना विपरीत हुन्छ’, चार दलको पत्रमा भनिएको छ, ‘त्यसैले संविधान र संविधान संशोधनको आम सार्वभौम मान्यता विपरीत बहसपत्र तयार गर्ने प्रक्रियामा हाम्रो सहमति र सहभागीता हुन सक्दैन ।’
पत्रमा वर्तमान संसदलाई संविधान निर्माण नभई नियमित विधेयक निर्माण र शासन सञ्चालनको जनादेश मात्र प्राप्त भएको उल्लेख गर्दै संविधान निर्माणको जनादेश र वर्तमान संसदको जनादेशलाई एउटै रूपमा व्याख्या गर्न नसकिने स्पष्ट गरिएको छ ।
चार दलले संविधान संशोधन अघि बढाउनै परे बहसपत्रको प्रक्रिया तत्काल खारेज गर्न, संविधानको प्रस्तावना र आधारभूत मूल्य–मान्यतालाई संशोधनको दायराबाहिर राख्ने सार्वजनिक प्रतिबद्धता गर्न तथा संशोधनका विषय, कारण र उद्देश्यबारे संसदमा प्रतिनिधित्व गर्ने सबै दलबीच छलफल गरी राष्ट्रिय सहमति कायम गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले यी माग सम्बोधन नभएसम्म बहसपत्र तयारी कार्यदलको प्रक्रियामा सहभागी नहुने घोषणा छन् । पत्रमा नेकपाका देव गुरुङ, राजमोका मनोज भट्ट, जसपाका सुरेन्द्र झा र लोसपाका लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE