बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

स्वरूप बदल्दै त्रिचन्द्र क्याम्पस

देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रूपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन गरेको कलेजको संरचना २०७२ मा आएको भूकम्पले तहसनहस बनाएको थियो ।

पुरातात्त्विक र मौलिक सम्पदाका रूपमा परिचित कलेज ढिलागरी पुनर्निर्माणको चरणमा छ । यतिबेला त्रिचन्द्रका क्षतिग्रस्त भवनको प्रवलीकरण भइरहेको छ ।

०७२ सालमा आएको भूकम्पले क्षतिग्रस्त बनाएको क्याम्पस अबको आठदेखि १० महिनासम्म पुनर्निर्माणको काम सम्पन्न गर्नेगरी काम भइरहेको छ । १२ भदौ १९७५ मा स्थापना भएको उक्त कलेज भूकम्पले क्षतिग्रस्त भएको थियो ।

२०७८ सालमा ३६ करोड ४० लाख ३८ हजार २ सय ८६ रुपैयाँ बजेटमा पुनर्निर्माणको जिम्मा लिएको न्यू टेक्निकल इन्फा प्राइभेट लिमिटेडले अबको आठदेखि ९ महिनाभित्र भवन पुनर्निर्माण सम्पन्न हुने गरी काम गरिरहेको इन्जिनियर सुशील थापाले बताए । उनका अनुसार अहिलेसम्म क्याम्पसको पुनर्निर्माणको काम ७० प्रतिशत सकिएको छ ।

‘पुनर्निर्माणको समयसीमा पुस २ गते सकिँदैछ । तर, अबको आठदेखि १० महिनाभित्र क्याम्पसको भवन निर्माणको कार्य सकिनेछ । नयाँ कार्यहरू गर्दै जाँदा फाउन्डेसनदेखि लिएर रिभाइज गर्दै जानुपर्ने हुन्छ । घण्टाघर र त्रिचन्द्र क्याम्पस आफैंमा एउटा सेपरेट हुनुपर्ने भनेर डिजाइन भएको थियो । पहिलाकै डिजाइनमा काम गर्दै जाँदा बिल्डिङको पुरानो संरचनालाई पुनः डिजाइन गर्नुपर्यो,’ थापाले भने ।

साथै उनले ग्राउण्ड फ्लोरभन्दा माथिको हकमा अहिले घण्टाघरलाई रेड्रोफिट गर्नको लागि एक हप्ता अगाडि मात्र रि–डिजाइनले मान्यता पाएको बताए । साथै इन्जिनियर थापाले पुरानै डिजाइनमा कलेज पुनर्निर्माण भइरहेको बताए ।

पछिल्लो समय भवनमा पूरै काम थपिएको छ । समय अवधिमा निर्माण हुन नसक्दा सबैभन्दा बढी विद्यार्थीको पढाइमा असर परिरहेको थापाको भनाइ छ । उनले कलेजमा कक्षाकोठा सञ्चालन गर्नको लागि कलेज प्रशासनलाई समेत असर परिरहेको बताए ।

‘समय अवधिमा निर्माण हुन नसक्दा सबैभन्दा बढी विद्यार्थीको पढाइमा असर परिरहेको छ । कलेजमा कक्षाकोठा सञ्चालन गर्नको लागि कलेज प्रशासनलाई समेत हम्मेहम्मे परिरहेको अवस्था छ । तर, निर्माणको काम गर्दै जाँदा विभिन्न कारणले डिजाइनहरू रिभाइज हुन्छन्,’ इन्जिनियर थापाले भने, ‘पुनर्निर्माण गर्दा नयाँ बिल्डिङ बनाएजस्तोसजिलो हुँदैन । हरेक कुराहरू स्टेबबाइ स्टेब गर्नुपर्छ । नयाँ कुराको फड्को मार्दै जानुपर्छ । त्यस कारणले लगभग ७० प्रतिशत मात्र काम गर्न सफल भएका छौँ ।’

पुनर्निर्माणका क्रममा क्याम्पसमा कुनै पनि डिजाइन परिवर्तन नहुने उनले बताए । नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता गोविन्द कोइराला भवन पुनर्निर्माणका लागि आफूहरूले दबाब दिएर मात्र पुनर्निर्माणको काम सफल चरणमा पुगेको बताउँछन् । उनले क्याम्पसका ऐतिहासिक भवन पुनर्निर्माणमा दबाब दिने उद्देश्यले ‘सेभ त्रिचन्द्र’ अभियान नै चलाएर भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।

उनले पहिला क्याम्पसको पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुन निर्माण प्राधिकरणले लिएको बताए । जिम्मा लिए पनि क्याम्पसको पुनर्निर्माणमा सरकारको ध्यान नगएकै कारण यो संस्था खारेज हुन पुगेको पनि कोइरालाको भनाइ छ ।

‘पहिला क्याम्पसको जिम्मा प्राधिकरणले लिएको थियो । हामीले प्राधिकरणलाई धेरै पटक चिठी लेख्ने विज्ञप्तिमार्फत दबाब बढाउने काम गरेका थियौं । पछि त्यो संस्था खारेज भयो । त्यसपछि शिक्षा मन्त्रालयअन्तर्गत गयो । तर, शिक्षा मन्त्रीलाई भेटेर धेरै प्रयासहरू गर्यौँ तर सफल हुन सकेनौं । त्यसपछि सरकारको नै ध्यान खिच्नको लागि ०७८ सालको चैत्रबाट यो कामलाई अलि कडाका साथ लाने प्रयास गरेका थियौं,’ उनले भने, ‘पाँच महिना निरन्तर आन्दोलनहरू गर्‍यौं । यति गर्दा पनि सरकारले विद्यार्थीहरूको आवाजलाई कमजोर सोचेको थियो । तर, अन्त्यमा निरन्तरको आन्दोलन र दबाबले गर्दा ०७९ सालको भाद्रमा कलेजको ठेक्काको लागि आह्वान भयो । सरकार पनि बाध्य भएर बजेट दियो र ०७९ सालको मंसिरबाट काम सुरु भएर अहिलेको अवस्थासम्म पुगेको छ । यसको ठेक्का ५४ करोडको सिलिङ्मा सुरु भएको थियो ।’

१२ भदौ १९७५ मा स्थापना भएको त्रिचन्द्र क्याम्पस जसको पुरानो नाम त्रिभुवन–चन्द्र कलेज हो । त्रिभुवन–चन्द्र कलेज नाम जुराएर १२ भदौ १९७५ मा कलेज स्थापना भएको थियो । २७ असोज १९७६ मा राजा त्रिभुवनले उद्घाटन गरिएको क्याम्पस १९८१ मा आइपुग्दा नयाँ नाम त्रिचन्द्र बहुमुखी क्याम्पस हुन पुगेको जानकार बताउँछन् ।

क्याम्पसका क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण चाँडो हुनु परे पनि बजेट ढिला आउँदा काम सुस्त भएको विद्यार्थीहरूको भनाइ छ । विडम्बना, त्रिचन्द्र सधैँ उपेक्षित भयो ।

एक शताब्दी इतिहास बोकेको नेपालमा उच्च शिक्षाको पहिलो प्रतिष्ठानका रुपमा रहेको क्याम्पसबाट प्रधानमन्त्री, मन्त्री, शासक प्रशासक साथै लब्धप्रतिष्ठित व्यक्तिहरू उत्पादन भइसकेका छन् ।

वरिष्ठ चिकित्सक डा. मधु घिमिरेको अगुवाइमा त्रिचन्द्रलाई पनि ‘एकाडेमिक भिलेज’का रूपमा विकास गर्ने अभियान सुरु गरिए पनि पूरा हुन सकेको छैन । भवनको मौलिकता र पुरातात्विक सौन्दर्यता साथै भव्यतालाई जोगाउँदै नयाँ संरचना निर्माण गर्दै शैक्षिक हबका रूपमा विकास गर्ने पूर्व विद्यार्थीको अभियान सुस्ताएको छ ।

एक शताब्दीअघि भारतको पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर उच्च शिक्षाको सुरुवात गरिएको क्याम्पस १९७६ मा तत्कालीन राजा त्रिभुवनले चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर गरिएको थियो । करिब १४ महिना लगाएर ढुंगा, इँटा, चुना, सुर्ती, काठ, फलाम जस्ता सामग्री प्रयोग गरी क्याम्पसको निर्माण गरिएको जानकार बताउँछन् ।

भूतपूर्व विद्यार्थीको अगुवाइमा त्रिचन्द्र बचाउने अभियानको थालनी भएको थियो । डा.मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे, केदारभक्त माथेमा, प्राडा आमोदमणि दीक्षित, सुरेशराज चालिसे, प्रकाशचन्द्र लोहनी, बसन्त लोहनी, दमननाथ ढुंगाना, ज्ञानेन्द्रराज तुलाधर, किशोर नेपाल, किशोर थापालगायतले मास्टर प्लान बनाएर इतिहास जगेर्ना गर्नुपर्ने दबाब बढाउँदै आइरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x