मान्यजनबाट टीका, जमरा ग्रहण गरी मनाइँदै दशैँ
काठमाडौं– बडादसैँ अर्थात् दुर्गापक्षमा मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको छ ।
दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीका दिन मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ ।
नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिनेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
आफन्तकोमा दसैँको दिन टिका लगाउन छुटेकाले कोजाग्रत पूर्णिमासम्म नै मान्यजनको हातबाट टिका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE