शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परिक्षण गर्ने

काठमाडौं । नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवसका अवसरमा असोज २३ गते बालबालिकाहरुको निःशुल्क आँखा परिक्षण गर्ने भएको छ । संघ अन्तरगत देशभरमा संचालित आँखा अस्पताल तथा उपचार केन्द्रहरुमा विश्वदृष्टि दिवसका अवसरमा बालबालिकाहरुको निःशुल्क आँखा परिक्षण गर्न लागिएको हो ।
संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रका अनुसार यो वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य संगठन र आईएपिबिले बाल आँखा स्वास्थ्यलाई प्राथमिकतामा दिएकाले नेपाल नेत्रज्योति संघले पनि बाल आाँखा स्वास्थ्यलाई प्राथमिकता दिएर देशभरका संजालबाट अक्टोबर ९ तारिख अर्थात असोज २३ गत एक दिन बालबालिकाहरुको निःशुल्क आँखा परिक्षण गरिनेछ ।
संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघद्धारा देशभरमा संचालित २८ वटा आँखा अस्पताल तथा १६० आँखा उपचार केन्द्रहरुबाट उक्त दिन १५ बर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परिक्षण गरिनेछ । ‘पछिल्लो समय विश्वभरी नै बालबालिकाहरुमा दृृष्टिदोषको समस्या बढिरहेको ले पनि यो पटक बालबालिकाको आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर विश्वदृष्टि मनाइ रहेका छौ’ महासचिव चन्दले भन्नुभयो ।
नेपालमा करिब ११ लाख बालबालिकाहरुमा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ । जसमध्ये करिब ७ लाख बालबालिकाहरु अझैपनि दृष्टिदोषको उपचारबाट बन्चित रहेका छन् ।
पछिल्लो समय डिजिटल माध्यमहरुको बढ्दो प्रयोगले समेत बालबालिकाहरुमा दृष्टि दोषको समस्या समेत बढिरहेको बताउनुहुन्छ संघका अध्यक्ष प्रा.डा. चेतराज पन्त । ‘दृष्टिदोषको समस्या भएका बालबालिकाहरुले आँखा परिक्षण पश्चात चश्मा लगाएमा उनिहरुको उत्तिर्णदरमा समेत ४४ प्रतिशतसम्मले बृद्धि हुने विभिन्न अध्ययनहरुले समेत देखाएकोे छ’ प्रा.डा. पन्तले भन्नुभयो ‘नेपालमा अधिकांश बालबालिकाहरु र उनिहरुका अविभावकहरुलाई समेत बालबालिकाको आँखामा समस्या भएको जानकारी समेत हुँदैन त्यसैले बालबालिकाहरुलाई हरेक बर्ष बिद्यालय पठाउनु अघि आँखा परिक्षण गर्न जरुरी छ’ ।
आईएपिबिका अनुसार अहिले विश्वमा करिब ४ करोड ५० लाख बालबालिकाहरूमा उपचार आवश्यक पर्ने दृष्टि सम्बन्धि समस्या छ भने त्यसमध्यमा धेरै बालबालिकाहरुले सस्तो र सुलभ आँखा उपचार प्राप्त गर्न सकिरहेका छैनन् ।
त्यसै गरी कम र मध्यम आय भएका देशहरुमा दृष्टि गुमाएका बालबालिकाहरुको बिद्यालय जाने संभावना करिब २.५ गुणाले कम हुने देखिएको छ, त्यसैले बाल आँखा स्वास्थ्यका बारेमा सबैलाई सचेत बनाई बालबालिकाहरुको आँखा सम्बन्धि समस्याहरुको समयमै उपचार गराउन आवश्यक छ ।
सन् १९९८ को अक्टोवर ८ तारिखदेखि हरेक बर्ष अक्टोबर महिनाको दोस्रो बिहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउँदै आइएकोमा यो बर्षपनि विश्वभरी नै ‘आँखालाई माया गरौं’ (बालबालिकाको आँखालाई विशेष ख्याल गरौं) भन्ने नारा सहित विभिन्न कार्यक्रम गरि मनाईदै छ  ।
यस दिवसको मुख्य उद्देश्य विश्वकै प्रमुख स्वास्थ्य समस्याको रुपमा मानिएको पूर्ण वा आँशिक दृष्टिविहिनता तथा दृष्टिदोषको न्यूनीकरणका लागि सबै सरोकारवालाहरु (संघिय, प्रदेश तथा स्थानीय सरकार,  तथा आँखा स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरु) लाई राष्ट्रिय अन्धोपन निवारण कार्यक्रममा अझ बढि एकतावद्ध र संगठित भएर ठोस नीति र योजनाका साथ क्रियाशील हुन अभिप्रेरित गर्नुका साथै लक्ष्यित वर्गलाई अन्धोपन निवारण कार्यक्रम तथा यसका क्रियाकलापहरुका बारेमा सचेतना अभिबृद्धि गराई अन्धोपनविरुद्धको कार्यक्रममा व्यापक जनसहयोग र समर्थन प्राप्त गर्न अभिप्रेरित गर्नु रहेको छ ।
विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिबृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस(आईएपिबी) ले संयुक्त रुपमा मनाउन सुरु गरेको विश्वदृष्टि दिवस यो बर्ष ‘बालबालिको आँखालाई विशेष ख्याल गरौं’ भन्ने नाराका साथ अक्टोवर १० तारिख (असोज २४ गते) का दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x