आईफोन १६ सिरिज सार्वजनिक
काठमाडौं,-आईफोन १६ सिरिज सार्वजनिक हुनअघि नै ३० लाख बढीले ह्वावेको तीन पटक फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन ‘मेट एक्सटी (Mate XT) प्रिअर्डर गरेका छन् । यो तथ्याङ्क हिजो आईफोन १६ सार्वजनिक हुनअघिको हो ।
ह्वावेले यसलाई विश्वकै पहिलो फाइभजी ट्राइ-फोल्ड स्मार्टफोन भनेको छ । यसलाई ईकमर्स प्लेटफर्म भीमेल डटकमबाट ३० लाखभन्दा बढीले प्रिअर्डर गरेको चिनियाँ सञ्चारमाध्यम साउथ चाइन मर्निङ पोस्टले जनाएको छ ।
मेट एक्सटी आज सार्वजनिक हुँदै छ । त्यसपछि मात्र प्रिअर्डर गरेका व्यक्तिहरूले फोन कसरी पाउनेछन् भन्ने जानकारी पाउने छन् । तर प्रिअर्डरमा देखिएको उत्साहले अमेरिकी कम्पनी एप्पलको नयाँ लाइनअपलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।
चीनको फोल्डेबल फोनको बजारमा समेत ह्वावेले ४२ प्रतिशत हिस्सा ओगटेको छ ।
कस्तो छ ह्वावेको मेट एक्सटी ?
यस स्मार्टफोन तीन पटकसम्म फोल्ड गर्न मिल्ने भएकाले ठूलो स्क्रिन पाउन सकिन्छ । यसमा तीन ओटा फोल्डेबल ओलेड स्क्रिन छन् । अनि बढी रिफ्रेस रेट भएकाले स्क्रोलिङ र एनिमेसन पनि राम्रो हुने बताइएको छ ।
कम्पनीले यसमा किरिन ९ सिरिज चिपसेट राख्ने जनाइएको छ । अपरेटिङ सिस्टममा ह्वावेको आफ्नै हार्मोनी ओएस रहने छ । त्यस्तै फोनमा ट्रिपल क्यामेरा सेटअप हुने छ । फोटोग्राफीका लागि अल्ट्रा वाइड र टेलिफोटो क्यामेरा लेन्स राखिने छ ।
WRITE COMMENTS FOR THIS ARTICLE