शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

निधिले गरेको एक टिप्पणीले कांग्रेस महामन्त्रीहरू असन्तुष्ट

महासमिति बैठकमा प्रस्तावका रूपमा आएका ३ पेचिला विषयलाई मिलाउन सभापति शेरबहादुर देउवाले प्रत्यत्न गरिरहेका बेला विमलेन्द्र निधि गरेको एक टिप्पणीले कांग्रेस महामन्त्रीहरू ‘फायर’ भएका छन् ।

मुख्यगरी चुनावी गठबन्धन नगर्ने, १५ औं महाधिवेशन २०८२ मंसिरमा गर्नुपर्ने र नेताहरूको एक्जिट पोलिसीका विषयमा कुरा मिल्न नसकेपछि लगातार छलफल गर्दै देउवाले मिलाउने प्रयास गर्दै आएका छन् । गत शुक्रबार निधिले जनकपुर पुगेर महामन्त्रीद्वय (गगन थापा–विश्वप्रकाश शर्मा)मा परिपक्वता नआएको भन्दै तीनवटा विवादित प्रस्ताव हटाउनुपर्ने बताएका थिए ।

‘पार्टीको केन्द्रीय समिति हुँदै महासमितिमा पनि छलफल गरेर बहस र पार्टीको पुँजीका लागि महामन्त्रीहरूले प्रस्ताव ल्याउनुभयो । यसका धेरै विषयमा सभापतिले छलफलबाटै टुंग्याउने तयारी गर्नुभयो । विषय मिल्दै पनि आएका थिए,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘यसअघि केन्द्रीय समितिमा पनि महामन्त्रीद्वयलाई अपमानित गर्ने हिसाबले अपरिपक्व प्रस्ताव ल्याएको भन्दै निधिजीले अनावश्यक विरोध गर्नुभएको थियो । शुक्रबार त जनकपुर पुगेर नीतिगत कुरामा किन बोल्ने, विधानबाहिरको व्याख्यामा किन जाने भन्दै महामन्त्रीहरूमा परिपक्वता नआएको भनेर बोल्नुभयो । यसले महामन्त्रीहरू असन्तुष्ट भएको पाएका छौं ।’

पार्टी विधान र संविधानले समेत ५ वर्षमा महाधिवेशन गर्ने विषय उल्लेख गरेको भन्दै निधिले यस्तो विषयमा महासमितिले बोल्न जरुरी नरहेको बताएका थिए । ‘पार्टीका हरेक विषय विधानअनुसार केन्द्रीय समितिले निर्णय गर्ने हो । तर, यस्ता विषयमा अपरिपक्व भएर प्रस्ताव ल्याउनु र पास गर्नुपर्छ भन्ने जरुरी छैन,’ निधिले भनेका थिए, ‘आफ्नै हात बाँध्ने गरी केन्द्रीय समितिको अधिकारलाई निषेध गर्नुहुँदैन ।’

उनले रणनीतिक गठबन्धनको विषय र अपरिपक्व एक्जिट पोलिसीबारे पनि महामन्त्रीद्वयले हचुवा प्रस्ताव ल्याएको भन्दै आपत्ति जनाएका थिए । तर, महामन्त्रीद्वय भने मिल्दै गएको विषयलाई बिगार्न खोजेको भन्दै असन्तुष्ट छन् ।

‘पार्टीमा सबैभन्दा ठूलो सभापति हो । तर, कुनै भूमिकामा नभएका नेताले सभापतिको प्यारो भइन्छ कि भनेर महामन्त्रीको प्रस्तावको हुर्मत लिन खोज्नु स्वभाविक होइन,’ कांग्रेसका एक महामन्त्रीनिकट स्रोतले भन्यो, ‘शनिबार पनि आफ्नै निवासमा देउवा महामन्त्रीसहितको बैठक डाकेर चुनावी रणनीतिक विषय पार्टीले धेरै उल्लेख नगर्ने, विधानअनुसार महाधिवेशन गर्ने गरी सहमतिको भाषामा समझदारीनजिक पुग्नुभएको छ । तर, आइतबार टुंग्याउने भनिएको बैठकमा पनि झमेला निम्त्याउने कोशिश भए महामन्त्रीहरूको तर्फबाट आक्रामक विरोध हुन्छ ।’

लामो छलफलपछि पार्टीका नेतालाई आफ्नै चुनाव चिह्नमा भोट हाल्ने गरी वातावरण बनाउने, विधानअनुसार समयमा महाधिवेशन गर्ने र एक्जिट पोलिसीका विषयमा संविधान र विधानका आधारमा गर्ने भनेर सहमतिनजिक पुगेको अर्का एक नेताले जानकारी दिए ।

‘सभापति, दुई उपसभापति र महामन्त्रीहरूले मिलाउने प्रयत्न गरिरहनुभएको छ । आजै पनि बैठक अगाडि मिलाउने प्रयत्नमै हुनुहुन्छ,’ एक नेता भन्छन्, ‘अब समस्या आउँछ भन्ने लाग्दैन ।’

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पनि विषयहरू साँघुरिएर गएकाले साउन २६ गतेदेखिको केन्द्रीय समिति बैठक आजै टुंगिने बताए । ‘सभापतिको निरन्तरको प्रयत्नले महामन्त्रीहरूको प्रस्तावका विषय मिल्दै गएका छन्,’ पौडेलले भने, ‘विवाद गर्नुपर्ने र अब नमिल्ने विषय केही छैनन् । कतिपय अहिले भाषागत रूपमा मिल्छन्, कतिपय विधान र संविधान संशोधनको बेलामा मिल्छन् ।’

गत फागुनमा बसेको महासमिति बैठकले तीनवटै मुख्य प्रस्ताव सुझावलाई समेटेर केन्द्रीय समितिमा छलफल गरी पास गर्ने निर्णय लिएको थियो । तर, साउन २३ देखि २८ गते ५ दिनसम्म बैठक बसे पनि सहमति भएन । बैठक ७ भदौको लागि सारियो । तर, एक दिन बैठक बसे पनि कुनै सहमति भएन ।

फेरि बैठक १२ गतेका लागि सारियो । तर, महामन्त्रीद्वयको प्रस्तावमा कुरा नमिलेपछि १६ गते दिउँसो २ बजे बस्नेगरी सारिएको थियो । यसबीचमा पदाधिकारी तहमा पटक–पटक बसेर महामन्त्रीद्वयको प्रस्तावमा सहमतिनजिक पुगेको दाबी नेताहरूले गरेका हुन् ।

मुख्यगरी सभापति देउवा २०८२ मंसिरमा १५ औं महाधिवेशन गर्ने विषय स्वीकार्नेभन्दा विधानअनुसार गर्ने पक्षमा छन् । चार वर्षमा नगरी विधानले दिएको एक वर्षको समय उपयोग गर्ने पक्षमा देउवा छन् ।

त्यस्तै, राजनीतिक निर्णयको आधारमा गरिएको चुनावी गठबन्धनको विरोध गर्ने पक्षमा पनि देउवा छैनन् । तर, महामन्त्रीहरू पार्टी नेतृत्वले लिएको कदम अनुचित भएको देखाउने धुनमा रहँदै आएको छ ।

कांग्रेसमा तीनजना सहमहामन्त्री बद्री पाण्डे, उमाकान्त चौधरी र महालक्ष्मी उपाध्याय डिना बोल्न बाँकी छन् । त्यस्तै, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा सभापति देउवा बोलेपछि आजै बैठक सकाउने तयारी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x