प्रधानमन्त्री बालेन भारत भ्रमणमा एजेन्डाः व्यापार, ऊर्जा र लगानी विस्तार
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आगामी भारत भ्रमणमा नेपाल–भारत आर्थिक सम्बन्ध विस्तार, द्विपक्षीय व्यापार सहजीकरण, ऊर्जा सहकार्य र भारतीय लगानी आकर्षित गर्ने विषयले प्राथमिकता पाउने भएका छन् ।
दुई देशबीचको आर्थिक साझेदारीलाई थप मजबुत बनाउने उद्देश्यसहित प्रधानमन्त्रीको भ्रमणका क्रममा विभिन्न परियोजनाको उद्घाटन, नयाँ परियोजनाको शिलान्यास तथा समझदारीपत्र आदानप्रदान गर्ने तयारी गरिएको छ ।
प्रधानमन्त्री शाहको दुईदिने राजकीय भ्रमणबारे जानकारी दिन शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलाई भ्रमणको प्रमुख कार्यसूचीमा राखिएको जानकारी दिए ।
उनका अनुसार भ्रमणका क्रममा नेपाल–भारतबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । यसले दुई देशबीचको आर्थिक तथा भौतिक पूर्वाधार साझेदारीलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयु) आदानप्रदान गरिनेछ ।
भारतीय लगानी भित्र्याउन बिजनेस फोरम
नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरम आयोजना गरिने भएको छ । फोरममा भारतीय व्यवसायीका चासो र सरोकार सम्बोधन गर्दै नेपालमा लगानीका अवसर तथा सम्भावनाबारे जानकारी गराइने परराष्ट्र सचिव राईले बताए ।
कार्यक्रममा भारतीय लगानी थप आकर्षित गर्न नेपालले अवलम्बन गरेका नीतिगत दृष्टिकोण र प्रयास प्रस्तुत गरिनेछ । नेपाली तथा भारतीय व्यवसायीबीच व्यावसायिक सहकार्य विस्तार गर्ने माध्यमका रूपमा फोरमलाई उपयोग गरिने सरकारको अपेक्षा छ ।
प्रधानमन्त्रीको भ्रमणमा नेपालको निजी क्षेत्रले समेत सहभागिता जनाउने भएको छ । निजी क्षेत्रका उद्यमी तथा व्यवसायी सम्मिलित ५२ सदस्यीय टोली आफ्नै खर्चमा भ्रमण दलमा सहभागी हुनेछ ।
मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले मङ्सिर ७ गते सोमबार भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोही दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।
आइतबार भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन् । त्यसैदिन प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन्जनकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार रहनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण दलमा ३४ सदस्यीय टोली रहनेछ ।
सचिव राईले नेपाल र भारतबीच सदियौँदेखिको मित्रवत् सम्बन्धलाई थप सुदृढ गर्दै पारस्परिक हित र चासोका विषयमा दुवै देशका प्रधानमन्त्रीबीच छलफल हुने बताए ।
प्रधानमन्त्री शाहको भ्रमणलाई राजनीतिक तथा कूटनीतिक सम्बन्धका साथै आर्थिक सहकार्य, लगानी विस्तार र विकास साझेदारीका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE