प्रहरी महानिरीक्षकमा आईजी मनोज केसी नियुक्त, बर्खास्त आईजीपी कार्की अदालत जाने तयारीमा
काठमाडाैं – सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम सोही दिनदेखि लागू हुने गरी आईजीपी पदमा बढुवा तथा नियुक्ति गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको ‘प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गरिएको छ।
उक्त सिर्जित विशेष सुरक्षा सल्लाहकार पदमा निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई खटाइएको छ। कार्की सल्लाहकार पदमा स्थानान्तरण भएसँगै रिक्त भएको आईजीपी पदमा डा. केसीलाई जिम्मेवारी दिइएको मन्त्री पोखरेलले जानकारी दिए।
बर्खास्त आईजीपी कार्की अदालत जाने तयारीमा
बर्खास्तीमा परेका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।
सरकारले उनको स्थानमा डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।
सरकारको निर्णयपछि कार्की न्यायिक उपचारका लागि सर्वोच्च अदालत जाने तयारीमा रहेका हुन् ।


WRITE COMMENTS FOR THIS ARTICLE