शुक्रबार, भदौ १२, २०८३
Friday, August 28, 2026

सरकार एक्लैले सक्दैन, उच्चस्तरीय सर्वदलीय संयन्त्रमार्फत काम गर्छौं : रास्वपा

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले बाढीपछिको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका काम उच्चस्तरीय सर्वदलीय संसदीय संयन्त्रमार्फत अघि बढाउने बताएका छन् ।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बिहीबार बसेको सर्वदलीय बैठकले उच्चस्तरीय संसदीय सर्वदलीय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै खरेलले उक्त संयन्त्रमार्फत विपद् व्यवस्थापनका काम अघि बढाउने बताए ।

सरकार एक्लैले विपद्को खोजी, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको सम्पूर्ण जिम्मेवारी वहन गर्न नसक्ने भएकाले राज्यका सबै पक्षको सहभागिता सुनिश्चित गर्न संसदीय संयन्त्र आवश्यक रहेको उनले बताए । उक्त संयन्त्र चाँडै गठन हुने उनले जानकारी दिए ।

‘संसदीय समिति बनाउनको लागि त्यो प्रक्रिया अब आरम्भ हुन्छ । अब सबै दलबीच संसदीय समिति बनाएर अगाडि बढ्ने सहमति भएको छ । यसले सरकारलाई, राजनीतिक दललाई एउटा कानुनी तवरबाटै, संवैधानिक तवरबाटै जवाफदेही, जिम्मेवार बनाउन पनि मद्दत गर्छ र सहयोग गर्न पनि मद्दत गर्छ,’ खरेलले भने ।

विगतका दिनमा खोजी, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका काम सरकार एक्लैले गर्न नसक्ने अवस्था देखिएको भन्दै उनले समग्र राज्यको संलग्नतामा काम गर्नुपर्ने बताए ।

‘त्यसैले समग्र राज्यकै संलग्नता, सबैको संलग्नतामा गर्ने भएकोले यसलाई संसदीय समितिमार्फत, उच्चस्तरीय संसदीय समितिमार्फत अगाडि बढाउने भन्ने छ । अब आज यो निर्णय भएको छ, यो निर्णय भए पछाडि त्यो प्रक्रिया लगत्तै अगाडि बढ्छ,’ उनले भने ।

बैठकले विपद्को राहत कार्यलाई गैरराजनीतिकरण गर्ने, आर्थिक सहयोग संकलनमा सरकारी एकद्वार प्रणाली अपनाउने, सामाजिक सञ्जालको विवेकपूर्ण प्रयोग गर्ने तथा संवेदनशील सूचना जिम्मेवार ढंगले प्रवाह गर्ने निर्णय गरेको खरेलले जानकारी दिए ।

हिमताल फुट्ने जोखिमको वैज्ञानिक अध्ययन, सीमापार संयुक्त पहल, विपद् कूटनीति तथा देशका प्रमुख नदीमा पूर्वसूचना प्रणाली विस्तार गर्न पहल गर्ने निर्णयसमेत बैठकले गरेको उनले बताए ।

जलवायु न्याय, अन्तर्राष्ट्रिय समुदायको सहयोग तथा दीर्घकालीन पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखिएको खरेलले बताए ।

बैठकले सरकारको खोजी, उद्धार तथा राहत प्रयासको प्रशंसा गर्दै उद्धारको पर्खाइमा रहेका नागरिकलाई तत्काल उद्धार गर्न, घाइतेको उपचार तथा प्रभावितलाई राहत उपलब्ध गराउन सरकारलाई सुझाव दिएको उनले जानकारी दिए ।

खरेलकाअनुसार बैठकमा सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जारी उद्धार तथा राहत कार्यबारे जानकारी गराएका थिए ।

सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका सांसद ध्रुव राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, संसदीय दलका नेता ज्ञानबहादुर शाही, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर र जनमत पार्टीका नेता चन्दन सिंहलगायत सहभागी थिए

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x