शुक्रबार, भदौ ५, २०८३
Friday, August 21, 2026

कांग्रेसभित्रको विवाद समाधानबारे देउवा–कोइराला छलफलमा

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। पार्टीभित्र पछिल्लो समय बढ्दै गएको विवाद र विभाजनको सम्भावनाबीच दुई नेताबीच भेटवार्ता भएको हो।

नेता कोइराला शुक्रबार बिहान देउवा निवास पुगेर पूर्वसभापति देउवासँग भेट गरेका हुन्। भेटमा समसामयिक राजनीतिक परिस्थिति, कांग्रेसभित्र देखिएको विवाद तथा पार्टी एकता कायम गर्ने विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।

थपलियाका अनुसार भेटवार्ता पार्टीभित्रको समस्या समाधान गर्दै एकता कायम गर्ने विषयमा केन्द्रित थियो। उनले भने, ‘आज बिहान भेट भएको थियो। भेटमा समसामयिक परिस्थिति र पार्टी एकताको विषयमा केन्द्रित रह्यो।’

पछिल्लो समय कांग्रेसभित्र सभापतिको विषयलाई लिएर विवाद चर्किएको छ। देउवा समूहले गगन थापालाई सभापतिका रूपमा स्वीकार नगर्ने संकेतसहित अघि बढेपछि पार्टीभित्र ध्रुवीकरण बढेको हो। संस्थापन पक्षले भने आगामी असोजमा महाधिवेशन गर्ने गरी कार्यतालिका अघि सारेको छ।

यसैबीच, महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै देउवा समूह शुक्रबार सर्वोच्च अदालत जाने तयारीमा रहेको छ। पार्टीभित्रको विवाद चुलिँदै गएर विभाजनको चर्चा समेत हुन थालेपछि नेता शेखर कोइरालाले विभिन्न शीर्ष नेताहरूसँग संवाद अघि बढाएका छन्।

देउवा र कोइरालाबीचको भेटलाई कांग्रेसभित्र बढिरहेको विवाद समाधान तथा पार्टीलाई विभाजनबाट जोगाउने प्रयासका रूपमा हेरिएको छ। पछिल्लो राजनीतिक परिस्थितिमा नेताहरूबीच संवाद र सहमतिको प्रयासले कांग्रेसको आगामी महाधिवेशन र पार्टीको आन्तरिक समीकरणमा प्रभाव पार्न सक्ने देखिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x